काठमाडौं - कृषि फार्मका लागि सहुलियत अनुदान मिलाइदिने प्रलोभन देखाएर ५ करोड ८० लाख रुपैयाँ ठगी गरेको आरोपमा दुई जना पक्राउ परेका छन्।
काठमाडौंस्थित सिंहदरबारका विभिन्न मन्त्रालयका कर्मचारीसँग राम्रो चिनजान रहेको भन्दै कृषि फार्मका लागि सहजै सहुलियत अनुदान उपलब्ध गराइदिने विश्वास दिलाएर उनीहरूले पटक–पटक गरी उक्त रकम ठगी गरेको आरोप छ।
जालिम सिंह महतोको जाहेरीका आधारमा नेपाल सरकार वादी र पूजा खड्गीसहितका प्रतिवादी रहेको ठगीसम्बन्धी कसुरको अनुसन्धानका क्रममा प्रहरीले दुई जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका–१३ ताहाचल बस्ने ५२ वर्षीय श्रीकृष्ण महर्जन र ललितपुर महानगरपालिका–१४ नखिपोट बस्ने ६० वर्षीय प्रेमनारायण खनाल रहेका छन्। महर्जनलाई तिलक बुढाथोकीका नामले समेत चिनिने प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार काठमाडौं जिल्ला अदालतबाट पक्राउ अनुमति प्राप्त भएपछि उनीहरूलाई पक्राउ गरिएको हो। पक्राउ परेका दुवै जनालाई २०८३ कात्तिक ११ गते अदालतबाट म्याद थप गरी थप अनुसन्धान अघि बढाइएको छ।
प्रहरीले घटनामा संलग्न अन्य व्यक्तिको भूमिका तथा ठगीसम्बन्धी घटनाबारे थप अनुसन्धान गरिरहेको जनाएको छ।

