Harsamaya
असोज ३१: दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

नेपालले आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो । अरु के के भए ? मुख्य समाचारहरू

नेपालले जित्यो टी–२० विश्वकप छनोटको उपाधि

नेपालले आइसिसी टी–२० विश्वकप एसिया–इस्ट एसिया प्यासिफिक छनोटको उपाधि जितेको छ । ओमनमा भएको छनोटको अन्तिम खेलमा सामोआलाई १२४ रनले पराजित गर्दै नेपालले उपाधि जितेको हो ।

नेपालले दिएको २१२ रनको लक्ष्य पछ्याएको सामोआले २० ओभरमा ७ विकेट गुमाएर मात्र ८७ रन बनाउन सक्यो । सामोआका लागि सेन सोलियाले सर्वाधिक ४० रन बनाए ।

नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ : प्रधानमन्त्री

प्रधानमन्त्री सुशीला कार्कीले देशको अवस्था क्रमशः सामान्य बन्दै गएको ब्रिफिङ गरेकी छिन् । शुक्रबार नेपालस्थित कूटनीतिक प्रतिनिधिहरूलाई देशको अवस्थाबारे सामूहिक रूपमा जानकारी दिँदै कार्कीले देशको स्थिति सहज बन्दै भएको बताएकी हुन् ।
कार्कीले भनिन्, ‘नेपालको स्थिति क्रमशः सामान्य हुँदै गएको छ ।

यो हाम्रो जनताको अदम्य सहनशीलताको प्रमाण हो । तपाईँहरूले यो सकारात्मक सन्देश विश्व समुदायमा प्रवाह गर्न सहयोग पुर्‍याउनुभएमा हामी अत्यन्त आभारी हुनेछौँ ।’

उनले जेनजी आन्दोलनपछि उत्पन्न परिस्थितिमा देशको स्थितिमा सुधार हुँदै गएको र त्यसबारे अन्तर्राष्ट्रिय समुदायसम्म जानकारी पुर्‍याइदिन आग्रह गरिन् । उनले यो सरकार गठन भएको एक महिना नपुग्दै, आफूहरूले प्रणालीभित्रको व्यापक भ्रष्टाचार र कु प्रशासन मात्र नभई सुधारको अपार सम्भावनासमेत देखेको बताइन् ।

दुई विकल्पसहित गगन थापाले पेस गरे मङ्सिर २७–२९ मा महाधिवेशन प्रस्ताव

नेपाली कांग्रेसका महामन्त्री गगन थापाले आगामी मङ्सिर २७,२८ र २९ गते महाधिवेशन गर्ने प्रस्तावसहितको कार्य तालिका पेस गरेका छन् । उनले दुई विकल्पसहित उक्त मितिमा महाधिवेशन गर्ने गरी कार्यसम्पादन समितिमा प्रस्ताव पेस गरेका हुन् । पहिलो विकल्पमा वडा, क्षेत्रीय प्रतिनिधि, प्रतिनिधिसभा क्षेत्र र महाधिवेशन प्रतिनिधि चयन गरी महाधिवेशन गर्ने उल्लेख छ ।

जनमत पार्टी विभाजन प्रकरण :  सिके राउतको पक्षमा सर्वोच्चको अन्तरिम आदेश

सर्वोच्च अदालतले जनमत पार्टी विभाजनसम्बन्धी विवादमा अध्यक्ष सिके राउतको पक्षमा अल्पकालीन अन्तरिम आदेश जारी गरेको छ । शुक्रबार न्यायाधीश तिलप्रसाद श्रेष्ठको एकल इजलासले राउतद्वारा दायर रिटमाथि प्रारम्भिक सुनुवाइ गर्दै हालसम्म भएका सबै निर्णयलाई यथास्थितिमा राख्न निर्देशन दिएको हो ।

सर्वोच्चका प्रवक्ता अर्जुनप्रसाद कोइरालाले अदालतले अन्तरिम आदेशमाथि छलफल गर्न दुवै पक्षलाई उपस्थित हुन आदेश दिएको जानकारी दिएका छन् । यसका लागि कात्तिक १७ गतेको मितिमा सुनुवाइ तोकिएको छ ।

मन्त्रिपरिषद् बैठकका २० निर्णय सार्वजनिक

असोज ३० गते बसेको मन्त्रिपरिषद्को बैठकका निर्णयहरु सार्वजनिक गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री तथा सरकारका प्रवक्ता जगदीश खरेलले मन्त्रिपरिषद्को बैठकका २० निर्णयहरु सार्बजनिक गरेका हुन् ।

बैठकले देशको आर्थिक, प्रशासनिक, कूटनीतिक, पूर्वाधार विकास, ऊर्जा र न्याय क्षेत्रसम्बन्धी विविध निर्णयहरू गरेको छ ।

गाजामा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोज्न विशेषज्ञ टोली परिचालन

इजरायलसँगको युद्ध अन्त्य र गाजामा बेपत्ता रहेका सबै बन्धकहरूको शव फिर्ता गर्ने अमेरिकी मध्यस्थतामा भएको सम्झौताप्रति हमासले आफ्नो पूर्ण प्रतिबद्धता दोहोर्‍याएको छ । टर्कीले हमासको अनुरोधमा भग्नावशेषमुनि गाडिएका १९ जना इजरायली बन्धकको शव खोजीका लागि विशेषज्ञ टोली पठाएको छ ।

यो सहयोगलाई युद्धपछिको मानवीय उद्धार कार्यमा महत्त्वपूर्ण कदमका रूपमा हेरिएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पको मध्यस्थतामा सम्पन्न युद्धविराम सम्झौताअन्तर्गत हमासले हालसम्म २० जना जीवित बन्धक र २८ जना मृतकमध्ये नौ जनाको अवशेष फिर्ता गरेको छ ।

यो पनि पढ्नुहोस

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: शुक्रबार, असोज ३१, २०८२  २२:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update