Harsamaya
असोज २९: दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

काठमाडौं - नेपाल आयल निगमले पेट्रोलको मूल्य घटाएको छ । निगमले आज राति १२ बजेपछि लागू हुने गरी पेट्रोलमा प्रतिलिटर दुई रुपैयाँले घटाएको हो । निगमका अनुसार डिजेल र मट्टितेलको मूल्य भने यथावत् राखिएको छ । आज दिनभर अरु के के भए ? मुख्य समाचारहरू 

मधेस प्रदेशको मुख्यमन्त्रीमा जितेन्द्र सोनल नियुक्त
लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालका नेता जितेन्द्रप्रसाद सोनल आज मधेस प्रदेशको मुख्यमन्त्री नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा २ बमोजिम प्रदेश प्रमुख सुमित्रा सुवेदी भण्डारीले उनलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।नयाँ नेतृत्वका लागि आज दिउँसो ४ बजेसम्म प्रदेश प्रमुख भण्डारीले समयसीमा तोक्नु भएकामा बिहान कांग्रेस एमालेबाहेकको ६ दलको ५७ सांसदसहित मुख्यमन्त्रीमा दाबी पेस गरेका सोनललाई प्रदेश प्रमुख भण्डारीले मुख्यमन्त्रीमा नियुक्त गरिन् । 

कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश
जिल्ला अदालत काठमाडौंले पूर्वसभामुख कृष्णबहादुर महरालाई पूर्पक्षका लागि थुनामा पठाउन आदेश गरेको छ। जिल्ला अदालतका न्यायाधीश हर्कबहादुर क्षेत्रीको इजलासले महरालाई थुनामा पठाउने आदेश गरेको हो । महरा विद्युतीय चुरोट (भेप) मार्फत सुन तस्करी गरेको आरोपमा पक्राउ परेका थिए । मंगलबार क्षेत्रीको इजलासमा बकपत्र भएको थियो । बुधबार बहस सकिएपछि उनलाई थुनामा राख्ने आदेश भएको हो ।

प्रतिनिधिसभा विघटनविरुद्ध सर्वोच्चमा १० वटा रिट
सर्वोच्च अदालतमा प्रतिनिधिसभा विघटनविरुद्ध आज १० वटा रिट निवेदन दर्ता भएका छन् । सर्वोच्च अदालतका प्रवक्ता अर्जुनप्रसाद  कोइरालाले रिटमाथि आगामी कात्तिक १२ गते सुनुवाइका लागि पेसी तोकिएको  जानकारी दिए । प्रवक्ता कोइरालाका अनुसार प्रधानमन्त्रीको नियुक्ति बदर, संसद् विघटन बदर एवं संसद् पुनःस्थापना समेतमा उत्प्रेषण, परमादेश आदेशको माग गर्दै मङ्गलबार पेस भएका १० वटा रिट निवेदन दर्ता भएका हुन् । दर्ता भएका निवेदनमाथि संवैधानिक इजलासमा सुनुवाइ हुनेछ ।

इजरायल–हामास द्वन्द्वमा मृत बन्धक फिर्ता विवाद
इजरायलले गाजाबाट थप चार मृत बन्धकका शव प्राप्त गरेको छ। यसपछि हामासले शव फिर्ता गर्न ढिलाइ गरिरहेको भन्दै, इजरायली सैन्य निकायले गाजामा आपतकालीन सहायता आधा कटौती गर्ने निर्णय गरेको छ । शवहरू राष्ट्रिय फरेन्सिक मेडिसिन केन्द्रमा लैजाने तयारी भैरहेको छ, जहाँ तिनीहरूको पहिचान गरी परिवारलाई जानकारी गराइनेछ । यो घटनाक्रम हामास र इजरायलबीच कायम भएको शान्ति सम्झौताका लागि ठूलो चुनौती बनेको छ।

नेपाल टी-२० विश्वकपमा छनोट
नेपालले अर्को वर्ष भारत र श्रीलंकामा आयोजना हुने टि–२० आइसिसी विश्वकप, २०२६ का लागि छनोट भएको छ । ओमानमा जारी एसिया एण्ड इएपी छनोटमा शीर्ष तीनमा परेसँगै नेपाल विश्वकपका लागि छनोट भएको हो । जारी प्रतियोगिताको ‘सुपर सिक्स’मा आज युएईले सोमाओलाई ७७ रनले पराजित गरेसँगै नेपालले विश्वकपमा स्थान सुरक्षित गरेको हो । यससँगै नेपालले लगातार दोस्रो तथा समग्रमा तेस्रो पटक विश्वकपमा पुग्न सफल भएको हो । यसअघि नेपालले सन् २०१४ र २०२४ को विश्वकप खेलेको थियो । गणितीय समीकरण अनुसार यदि सामोआले युएईलाई हराएको भए विश्वकपमा पुग्न नेपाललाई थप दुई अंकको आवश्यक पर्दथ्यो । तर खेल युएईले जित निकालेसँगै नेपालको विश्वकप यात्रा सहज बनेको हो । 

प्रकाशित मिति: बुधबार, असोज २९, २०८२  २२:०१
प्रतिक्रिया दिनुहोस्
Weather Update