Harsamaya
कात्तिक २ : दिनभर के के भए ?
ग्राफिक्स : हर समय/Har Samaya

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।  अरु के के भए ? मुख्य समाचारहरू

डा. संगिता मिश्रा सहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा दायर

अख्तियार दुरुपयोग अनुसन्धान आयोगले स्वास्थ्य सेवा विभागकी तत्कालीन महानिर्देशक डा. संगीता कौशल मिश्रासहित १४ जनाविरुद्ध भ्रष्टाचारको मुद्दा विशेष अदालत काठमाडौंमा दायर गरेको छ ।

आयोगका अनुसार म्यामोग्राफी मेसिन खरिद प्रक्रियामा लागत अनुमान तयार गर्ने चरणदेखि नै मिलेमतो गरी ठेकेदार कम्पनीलाई लाभ पुग्ने गरी कार्य सम्पन्न गरिएको पाइएको छ । ठेक्का सम्झौताको शर्तअनुसार सम्पूर्ण सामाग्री नआइकनै झुट्टा तथा नक्कली बिल बिजक तयार गरी झुटो आधारमा १३ करोड ३७ लाख ८३ हजार रुपैयाँ भुक्तानी गरिएको आयोगले जनाएको छ ।

उड्डयन प्राधिकरणको भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय

बबरमहलस्थित नेपाल नागरिक उड्डयन प्राधिकरण, प्रधान कार्यालयको एनेक्स भवन काठमाडौं जिल्ला अदालतलाई दिने निर्णय भएको छ । प्राधिकरणको सञ्चालक समितिले अदालतसँग करार गरी उक्त भवन दिने निर्णय गरेको महाप्रबन्धक प्रदीप अधिकारीले जानकारी दिए ।

सञ्चालक समितिको असोज ३० गते बसेको बैठकको निर्णयमा अध्यक्ष एवं प्रधानमन्त्री सुशीला कार्कीले आज हस्ताक्षर गरेका छ । योसँगै अब अदालतसँग वार्ता र सम्झौता गर्न ढोका खुलेको छ ।

देशमा समृद्धि, समानता र शान्ति स्थापनाका लागि प्रतिबद्ध छु : ओली

नेकपा एमालेका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले देशमा समृद्धि, समानता र शान्ति सुव्यवस्थाको स्थापनाका लागि आफू दृढ प्रतिबद्ध रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित सम्पादकहरूसँगको संवाद कार्यक्रममा बोल्दै ओलीले हरेक नागरिकले सम्मानजनक जीवन बाँच्न पाउनुपर्नेमा जोड दिए ।

‘म देशमा समृद्धि ल्याइनुपर्छ, समानता ल्याइनुपर्छ, शान्ति सुव्यवस्था विश्वसनीय ढंगले स्थापना हुनुपर्छ,’ उनले भने, ‘हरेक व्यक्तिले आफ्नो जिउँधन, अधिकार र सम्पत्तिको प्रत्याभूति पाउनुपर्ने हो ।’

उनले समाजमा प्रत्येक नागरिकले आत्मसम्मानसहित बाँच्न पाउने अधिकारको रक्षा गर्नुपर्ने बताए । ओलीले आफ्ना मूल्य र मान्यता देश, जनता र मानव जातिप्रति निष्ठासाथ अडिग रहेको दाबी गरे ।

काँग्रेस धनुषाका सभापति पञ्जियारसहित ७ जना विरुद्ध पक्राउ पूर्जी जारी

नेपाली कांग्रेस धनुषाका सभापति योगेन्द्र पञ्जियार विरुद्ध पक्राउ पूर्जी जारी भएको छ । धनुषा जिल्ला अदालतले ज्यानमार्ने उद्योग मुद्दामा संलग्न पञ्जियारसहित सात जनाविरुद्ध पक्राउ पुर्जी जारी गरेको छ ।  अदालतबाट असोज ३१ गते जिल्ला सभापति योगेन्द्र पञ्जियार र उनका छोरासहित ७ जनाविरुद्ध पक्राउ पूर्जी जारी भएको हो ।

क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने सुशील कुमार चौधरीको जाहेरीका आधारमा क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने ६२ वर्षका पञ्जियार, उनका छोरा ३५ वर्षीय अमर पञ्जियार, ६० वर्षीय जिवछ मण्डल, मण्डलका छोरा ३८ वर्षीय कमल मण्डल धानुक, अर्का छोरा ४० वर्षीय नवल मण्डल, नवलका छोरा २२ वर्षीय निरज मण्डल र क्षिरेश्वरनाथ १ रमदैया बस्ने ३८ वर्षीय उमेश यादवविरुद्ध पक्राउ पुर्जी जारी भएको हो ।

विप्लव नेतृत्वको नेकपाले गर्यो कार्की नेतृत्वको अन्तरिम सरकार खारेजीको निर्णय

नेपाल कम्युनिष्ट पार्टीको नवौं केन्द्रीय समितिको तेस्रो विशेष बैठकले देशलाई वास्तविक निकास दिन सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज गर्नुपर्ने निर्णय गरेको छ । आइतबार बैठकमा गरेका निर्णय सार्वजानिक गर्दै अन्तरिम सरकारको निर्माण आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल नभएको बताएका हुन् । 

सार्वजानिक प्रेस विज्ञप्तिमा भनिएको छ, ‘जेनजी विद्रोहपछि जसरी अन्तरिम सरकारको निर्माण गरिएको छ । यो आन्दोलन, विद्रोह र निकासको आवश्यकतासँग मेल खाँदैन,’ यसमा थप भनिएको छ, ‘देशलाई वास्तविक निकासतिर डोर्याउने हो भने सुशीला कार्की नेतृत्वको अन्तरिम सरकार खारेज हुनु पर्दछ र यसको ठाउँमा जेनजी, किसान, मजदुर, महिला, दलित, जनजाति, मधेशी, बुद्धिजीवी, राजनीतिक दलहरु सम्मिलित सर्वपक्षीय अन्तरिम सरकार गठन हुनु पर्दछ ।’

इजरायल–हमास युद्धविराम : शव हस्तान्तरण जारी, दोस्रो चरणको वार्ता अनिश्चित

हमासले शनिबार थप दुई मृतक इजरायली बन्धकहरूको शव इजरायली पक्षलाई हस्तान्तरण गरेको छ । यता, इजरायलले सोही दिन युद्धविराम र कैदी आदानप्रदान सम्झौता अन्तर्गत १५ प्यालेस्टिनी बन्दीहरूको शव प्यालेस्टिनी पक्षलाई हस्तान्तरण गरेको छ।

इजरायली प्रधानमन्त्रीको कार्यालयले दुई मृतक बन्धकहरूको अवशेषहरू रेडक्रसको अन्तर्राष्ट्रिय समितिमार्फत इजरायल रक्षा बललाई हस्तान्तरण गरिएको छ र पहिचानको लागि राष्ट्रिय फोरेन्सिक मेडिसिन संस्थानमा पठाइएको छ।

अक्टोबर १० मा लागू भएको इजरायलीसँगको गाजा युद्धविराम सम्झौताको पहिलो चरणको सम्मान गर्दै, हमासले हालसम्म मृतक बन्धकहरूको २८ शवमध्ये १२ शव इजरायललाई हस्तान्तरण गरिसकेको छ।

हमासले शनिबार पहिले सबै जीवित इजरायली बन्धकहरूलाई रिहा गरिसकेको छ र मृतक बन्धकहरूको सबै हस्तान्तरणयोग्य शव तुरुन्तै हस्तान्तरण गरेको जनाएको छ ।

यो पनि पढ्नुहोस

 

प्रकाशित मिति: आइतबार, कात्तिक २, २०८२  २२:०३
प्रतिक्रिया दिनुहोस्
Weather Update