
देश–विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका छ प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ। आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा।
आज तिहारको दोस्रो दिन कुकुर र लक्ष्मीको पूजाआजा गरी मनाइएको छ । बिहान कुकुर तिहार मनाएका नेपालीले साँझ लक्ष्मीको आराधाना गरेका छन् ।
विपिन जोशीको शव नेपाल ल्याइयो
इजरायलमा हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका नेपाली विद्यार्थी विपिन जोशीको पार्थिव शरीर काठमाडौं ल्याइएको छ । हमास समूहद्वारा बन्धक बनाइएपछि मारिएका विपिन जोशीको शरीर सोमबार काठमाडौं ल्याइएको हो । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री सुशिला कार्की लगायत उच्च पदस्थ अधिकारीहरूले राष्ट्रिय झण्डाले ढाकिएको उनको शवमा भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका छन् ।
‘म देश छोडेर किन भाग्ने ?’
पूर्व ऊर्जा, जलस्रोत तथा सिंचाईमन्त्री दीपक खड्काले केही मिडियामा आफूमाथि आएको समाचारप्रति कडा आपत्ति जनाएका छन् । सोमबार उनले काठमाडौंको बुढानिलकण्ठस्थित आफ्नै जलेकै घरमा पत्रकार सम्मेलन गरी सञ्चार माध्यमहरूले गृहमन्त्रीको कोडमा आफू विदेश भागेको भनी गलत र भ्रामक सूचना सम्प्रेषण गरेको बताए ।
लुटिएका हतियार गृहमन्त्रीले नै लुकाएको आशंका
पाली कांग्रेसका नेता भूपेन्द्रजंग शाहीले लुटिएका हतियार ओमप्रकाश अर्यालले नै लुकाएको आशंका उत्पन्न भएको बताएका छन् । सोमबार प्रेस विज्ञप्ती जारी गर्दै उनले जेन–जी आन्दोलनका क्रममा अराजक र उग्र अभिव्यक्ति दिएर युवालाई भड्काउने र आगजनी गर्न उक्साउने व्यक्ति नै गृहमन्त्री बन्नु र लुटिएका हतियार राजनीतिक दलले जिम्मा लिनुपर्छ भन्ने अफवाह फैलाउनुले यो आशंका बलियो बनाएको बताए । गृहमन्त्री ओमप्रकाश अर्यालले जेन–जी आन्दोलनका क्रममा लुटिएका हतियार राजनीतिक दलले सरकारविरोधी गतिविधिमा प्रयोग नगरिने प्रतिबद्धता व्यक्त गर्नुपर्छ भन्ने गैर–जिम्मेवार धारणा सार्वजनिक गरेर यो सरकारले शान्ति सुरक्षा कायम गर्न र निर्वाचन सम्पन्न गराउन असक्षम छ भन्ने शंका बढेको पनि उनले बताए ।
चितवनमा २४६ जनामा स्क्रब टाइफस
चितवनका विभिन्न अस्पतालमा उपचाररत २४६ जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको छ । अस्पतालमा आएका चार हजार १०८ जनाको परीक्षणका क्रममा उनीहरुमा सङ्क्रमण देखिएको हो । जनस्वास्थ्य कार्यालय चितवनका किट नियन्त्रक राम केसीका अनुसार सङ्क्रमितमध्ये १८१ जना चितवनका हुन् भने ६५ जना जिल्ला बाहिरका रहेका छन् । सङ्क्रमितमध्ये २५ जना भरतपुर महानगरपालिकाका हुन् । खैरहनी नगरपालिकाका ४३, माडी नगरपालिकाका चार, रत्ननगर नगरपालिकाका ६१, राप्ती नगरपालिकाका २०, कालिका नगरपालिकाका २३ र इच्छाकामना गाउँपालिकाका पाँच जनामा स्क्रब टाइफसको सङ्क्रमण देखिएको हो ।
सीटीईभीटीका विद्यार्थीहरुको पुनपरीक्षा गराउने
शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री महाविर पुनले जेनजी आन्दोलनमा प्रश्नउत्तरको कपि जलेको सीटीईभीटीको विद्यार्थीहरुको पुन परिक्षा गराउने बताएका छन् । सोमबार केशर महलमा पत्रकार सम्मेलन गर्दै उनले पुन परीक्षाको निर्णय गराउन धेरै समस्या परेको भन्दै त्यसको लागि झण्डै १ करोड ७५ लाख रुपैयाँ जतिको खर्च पनि आउने बताए । यस्तै, उनले सीटीईभीटी सम्बन्धी काम रोकिएको कारण २०६९ सालदेखि अहिलेसम्म करिब ४४२ वटा जति निवेदनहरु परेको भन्दै त्यो निवेदनहरुलाई २ महिनाभित्र छानबिन गरेर टुङ्गाउने पनि बताए ।
जुवातास खेल्दै गरेका २४ जना पक्राउ
सिन्धुलीको गोलञ्जोर गाउँपालिका–३ ग्वालटारमा जुवा तास खेल्दै गरेका २४ जना व्यक्ति पक्राउ परेका छन् । प्रहरीका अनुसार सोमबार बिहान करिब ४ बजे कल्याण कार्कीले आफ्नै घरको तेस्रो तलामा जुवातास खेलाएको भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोलीले छापा मारेको थियो । सो क्रममा २४ जना व्यक्तिलाई तास खेलिरहेको अवस्थामा नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ । प्रहरीले उनीहरूबाट तासका पत्तासहित नगद रु. ३ लाख ८९ हजार १ सय ६१ बरामद गरेको जनाएको छ ।