
नेपाली कांग्रेस केन्द्रीय सदस्य संजय कुमार गौतम बर्दियाबाट प्रत्यक्ष निर्वाचित सांसद हुन् । पार्टीको विभिन्न तह र तप्कामा रहेर काम गरेका उनले ३५ वर्ष राजनीतिमा बिताए । २०२० सालमा बर्दियामा जन्मिएका गौतमले १७ वर्ष जिल्ला सभापति भएर पार्टी हाँके । पार्टीको गाउँ सचिव, क्षेत्रीय सचिव, जिल्लाको सह–सचिव, सचिव हुँदै गौतम पार्टीको जिल्ला सभापति भए । तीन पटक सांसद भएका उनी सिँचाइ मन्त्रीसमेत भएका थिए । वि.सं २०३६ सालको आन्दोलनसँगै उनले नेपाल विद्यार्थी संघबाट राजनीति सुरु गरेका थिए । हक्की स्वभावका गौतमले पार्टी र सरकारविरुद्ध खरो टिप्पणी गर्ने गरेका छन् । बेथिति, अन्याय र अत्याचारको उनले नडराई आलोचन गर्ने गरेका छन् । व्यवस्था भन्दा मूल्य र नेतृत्वभन्दा व्यवहारलाई प्राथमिकता दिने गौतमले पार्टीभित्रको अनुशासन, वर्तमान सरकारको मूल्यांकन, बजेटको यथार्थता र नेपाली कांग्रेसको भविष्यबारे हरसमयसँग खुलेर कुराकानी गरेका छन्। यो अन्तर्वार्ता केवल प्रश्न–उत्तर होइन यो राजनीतिप्रतिको एउटा दृष्टिकोण, विवेचना र विकल्प हो।
सरकारको काम कारबाहीलाई कसरी मूल्यांकन गर्नुहुन्छ? जनताले अपेक्षा गरेको परिवर्तन देखिएको छ ?
सरकार जति प्रभावकारी हुनुपर्ने थियो त्यति प्रभावकारी रूपले संचालन हुन सकेको छैन ।
यो गठबन्धन सरकारको स्थायित्व कति छ ?
यो सरकार वास्तवमा ‘नेचुरल कोर्स’ बाट बनेको होइन । सैद्धान्तिक र नीतिगत रूपले हेर्दा ‘फ्रस्ट लार्जेस्ट पार्टी’ र ‘सेकेण्ड लार्जेस्ट पार्टी’ एकै ठाउँमा मिलेर सरकार बनाउने भनेको ‘नेचुरल’ होइन । तर, मुलुकलाई स्थिरता दिन, संविधान संशोधन गर्न, भ्रष्टाचार नियन्त्रण गर्न र सुशासनको प्रत्याभूति दिनका लागि सरकार गठन भयो । नेपथ्यमा के थियो सरकार गठन गर्नु भन्दा पहिलाका परिस्थितिहरू त्यो विवेचनाका विषयवस्तुहरू हुन् । तर, सरकार जति बेला बन्यो त्यसले पहिलो एजेण्डा संविधान संशोधन गर्छु भन्यो । सुशासन दिन्छु भन्यो । भ्रष्टाचारलाई नियन्त्रण गर्छु भन्यो । स्थिर सरकार दिन्छु भन्यो ।
सरकार बन्नुभन्दा पहिले एउटा परिवेशबाट आयौं । माओवादीसँग मिलेर चुनाव लड्यौं । मतलब गठबन्धनबाट चुनाव लडेर आयौं । असहज थियो तर, पार्टीले निर्णय गरिसकेको थियो । त्यसलाई स्वीकार गर्यौ । तर हामीलाई के लाग्दै थियो भने यो ‘नेचुरल’ त छैन । किन भने तलदेखि माथिसम्म प्रतिस्पर्धा एमालेसँगै छ । एउटा पार्टीसँग गठबन्धन गरेर आएका छौं, फेरि परिवर्तन गरेर नयाँ ठाउँमा जाँदा अलिकति असहज, अप्ठ्यारो र असंचय थियो । आम जनतामा पनि अप्ठ्यारोपन थियो । तर, त्यो हुनुको बाबजुत स्थिरता, विकास र समृद्धिका लागि विशेष किसिमको प्रयोग हो भनी स्वीकार गर्यौं ।
यो सरकारलाई गल्ती गर्ने, असफल हुने छुट छैन । तर, सरकार बारम्बार गल्ती गरिरहेको छ । चुकिरहेको देखिन्छ । यो कुनै सरकारको विरोध होइन सचेत गराएको । सरकार जुन उद्देश्यका लागि बन्यो त्यसमा ध्यान केन्द्रित भएन । सरकारका लागि सरकार बनाउने हो । प्रधानमन्त्री मात्र फेर्ने हो, मन्त्रीहरू मात्र फेर्ने हो भने त छदै थियो नि । तर, विशिष्ट परिस्थितिमा बनेको हुनाले यसले ‘आउटपुट’ दियोस् भन्ने आमजनताको चाहना हो ।
संविधान संशोधन भनेर जुन एजेण्डाको बलमा सरकार बनेको थियो, त्यो सुरुवात नै भएको छैन, के ले रोकिरहेको छ ?
हामी अचम्ममा परेका छौं । संविधानले संशोधन माघेको छ । यहीँ निर्वाचन प्रणालीलाई कायम राख्ने हो भने मुलुकमा स्थिर सरकार कहिल्यै दिन सक्दैनौं । एउटा पार्टीको सरकार चल्ने सम्भावना रहँदैन र पार्टीहरू गठबन्धन मै जान लालायित हुन्छन् । गठबन्धनबाट चुनाव लड्ने, गठबन्धनबाट सरकार बनाउने बाटोमा जान्छन् । यो निर्वाचनको जुन प्रणाली छ सरसरती हेर्दा एकदमै समावेशी लोकतन्त्रको अभ्यास भैरहेको छ। तर, यो निर्वाचन पद्धतिबाट मुलुकले समद्धिको यात्रा तय गर्दैन । स्थिरता दिन सक्दैन । सरकार जहिले पनि ‘ह्यङ पार्लियामेन्ट’ हुन्छ । भद्रगोल भै रहन्छ । त्यस कारण यो ‘कटअफ’ जरुरी छ ।
मन्त्रीहरूका कामकारबाहीबाट सन्तुष्ट हुनुहुन्छ ? कांग्रेसबाट सरकारमा गएका मन्त्रीका विवादित भए के भन्नुहुन्छ ?
‘ब्लेम’हो कि, प्रायोजित हो कि, वास्तविकता हो भन्ने कुरा त हामी यति ठूलो दलदलमा छौं । मान्छेले ‘ब्रेन इन ड्रेन’ र ‘ड्रेन इन ब्रेन’ भन्ने मान्छे पनि छन् । अहिलेको परिस्थिति र परिवेशमा कतिपय ठाउँमा पार्टी चुकेको छ । जस्तो कान्छाराम तामाङको कुरा लिउँ । कान्छाराम तामाङजीलाई मन्त्री कसले बनायो केपीजीले बनाएको त होइन । उहाँलाई मन्त्री नेपाली कांग्रेसले पठाएको हो । उहाँले राम्रो काम गर्नु भएन, अनुशासन बाहिर जानु भयो भने कांग्रेसले नै फिर्ता बोलाउने हो । उहाँलाई बर्खास्त गर्ने अधिकार सम्मानीय प्रधानमन्त्रीज्यूलाई थिएन । पार्टीले उहाँलाई फिर्ता बोलाएको भए हुन्थ्यो । अब किन बोलाएन मसँग त्यसको जवाफ छैन । मैले संसदीय दलमा यो काम राम्रो भएन भने ।
अब त्यस्तै अन्य मन्त्री साथीहरूको कुरा मेरो लेबलबाट भन्दा पनि मान्छेले कसरी हेरेको छ ? ‘पब्लिक’ले कसरी हेरेको छ ? भन्ने हो । फोहोर पोखरीमा हाम फालेपछि सफा लुगा लगाएर निस्किन्छु भन्ने ठान्नु हानिकारक हो । यो मन्त्री बन्नका लागि मन्त्री बन्ने कुरा होइन । सबै भन्दा ठूलो कुरा सुशासन हो । हेर्नुस् यो ‘वेस्ट मिनिस्टर’ मोडेलमा मिनिस्टर भनेको ‘प्राइमिनिस्टर’ हो । ‘प्राइमिनिस्टर’को इच्छा विपरीत गयो भने मन्त्री सफल हुँदैन । त्यस कारण यसको सम्पूर्ण जबाफदेहिता सरकार लिड गरेको ‘प्राइमिनिस्टर’ले लिनुपर्छ । खाली मीठो कुरा गरेर, रमाइलो कुरा मात्र गरेर हुँदैन । अहिलेको परिस्थिति ठ्याक्कै त्यो रूपले गइरहेको छ । हाम्रो, अर्काको व्यक्ति विशेषलाई इंकित गर्नुभन्दा साथीहरूले प्रयास गरी राख्नु भएको छ । तर, प्रयास गर्दा पनि नसकिने परिस्थिति निर्माण भयो भने के गर्ने ? त्यो त पार्टीले समीक्षा गर्ने कुरा हो ।
पूर्व राज्यमन्त्री कान्छारामलाई प्रधानमन्त्रीले फिर्ता बोलाउनुभयो त्यो बारेमा पार्टीमा के कुरा भयो ? सभापति शेरबहादुर देउवाले के जवाफ दिनुभयो ?
हामीले कुरा उठायौं । तर, उहाँले केही भन्नु भएन । प्रतिक्रिया के आयो भन्दा पनि त्यो विषयमा हामीले यसो गर्न हुँदैन भनेर राय-सुझाव राख्यौं । पार्टी भित्र त अनुशासन र मर्यादा भएन भने पार्टी चल्दैन । यो दलसँग र पार्टीसँग जोडिएको कुरा भएको भएर हामीले यो कुरालाई बलियोसँग उठायौं । उहाँहरूले सुन्नु भयो । आगामी दिनमा यस्तो खालको प्रवृत्ति हुँदैन जस्तो लाग्छ ।
गृहमन्त्रीको राजीनामाका विषयमा पार्टिभित्र दुई धार देखिन्छ । गृहमन्त्रीले ‘भिजिट भिसा’ प्रकरणमा राजीनामा दिएर छानबिनमा सघाउनु पर्छ कि अरू बाटोहरू छन् ?
सबै भन्दा अघि शेखर दाइले भन्नु भयो भने मान्छेले । राम्रोसँग त्यो बाइट हेरेनन् । कुरा पनि बुझेनन् । उहाँले सल्लाह दिएको हो । रमेश लेखकसँग शेखर कोइरालाले राजीनामा माग्नु भएको होइन । यसो गर्दा राम्रो हुन्छ भनेको मात्र हो । अहिले सामाजिक सञ्जालको यत्रो संयन्त्र छ । यत्रो ‘सोसल मिडिया’हरू ‘एक्टिभ’ छन् । आजकाल एउटा सानो कुरा भयो भने संसार भरि फैलन्छ । ‘मोरल ग्राउन्ड’मा यस्तो किसिमको कुरा आइसकेपछि ‘रिजाइन’ गरेको भए सरकारले नै एउटा छानबिन बनाउथ्यो । संसदमा त्यो कुरा आउँदैन थियो ।
जसरी छताछुल्ल भएर बाहिर आयो यो आजको मात्रै कुरा होइन । धेरै ‘प्राइमिनिस्टर’हरू यसमा संलग्न छन् । धेरै पहिला देखि यो भइरहेको छ । कुरा नउठेको होइन । कुरा नउठाएको पनि होइन । त्यहाँ बदमासी भइरहेको छ भन्ने कुरा देश दुनियाँलाई थियो । राज्यलाई थाहा नहुने कुरै हुँदैन । तर, अब यसलाई नियन्त्रण गर्न किन सकिएन ? कसरी सकिएन ? अब यसमा कर्मचारीतन्त्रको कतिको भूमिका थियो ? अथवा ‘पोलिटिकल लिडरसिप’को कतिको भूमिका थियो कि थिएन ? यसलाई किटानी गर्न सक्ने परिस्थिति थिएन ।
गृहमन्त्रीको बारेमा दुईवटा खालका धारणा छैन । पार्टी भित्र यो विषयमा गम्भीरतापूर्वक छलफल गरेका छौं । यो धेरै अगाडि गइसक्यो । यत्रो दिनसम्म संसद अवरोध भइसक्यो । अब कसरी जान्छ यसै भन्न सकिन्न । तर, अब राजीनामा दिने, राजीनामा माग्ने, राजीनामा नमाग्ने भन्ने यी प्रकरणहरू हाम्रो नियन्त्रण भन्दा बाहिर गइसकेको छ । माथिल्लो लेबलमा पुगिसक्यो । त्यो भन्दा राम्रो चाहिँ त्यति माथि पुग्न नदिएर समयमै यसलाई समाधान गर्ने हो कि जस्तो शेखर दाइलाई लाग्यो । हामीलाई पनि लागेको हो । तर, मिडियाहरूले त्यसलाई अर्को रूपमा प्रस्तुत गरे ।
पार्टी भित्र पनि गुटहरू हाबी भइरहेको छ त्यसैले धेरै विचारहरू आएको हो ?
पार्टी भित्र हाम्रो एउटा विचार समूह छ । यसलाई निरन्तरता दिन्छौं भनेर रामचन्द्र पौडेललाई अगाडि सारेर विचार समूहको निर्माण गर्यौ । तत्कालीन हामी ४०/४२ जना जिल्ला सभापतिहरू थियौं । अन्य साथीहरू थियौं । एउटा विचार समूहको रूपमा यसलाई जन्मायौं । यसमा आरोह-अवरोह आए । १३औं महाधिवेशन भयो । १४औं महाधिवेशनमा आइपुग्दा नपुग्दै परिस्थितिहरू फेरियो । हामीले शेखर दाइलाई अगाडि सारेर महामन्त्रीमा गगन थापालाई अगाडि बढायौं । त्यो विचार समूह अहिले पनि छ । पार्टी भित्र २ वटा कुरा हुन्छ । जहाँ एउटा चाहिँ विचार समूह हो । अर्को चाहिँ स्वार्थ समूह हो । जब पार्टी विचारले कम र स्वार्थले धेरै हिँड्न थाल्छ त्यति बेला साना साना स्वार्थ समूहहरू बन्न थाल्छ । अहिले पार्टी छताछुल्ल छ । पार्टी पार्टीको रूपमा छैन ।
अहिले जुन एजेण्डामा अगाडि गइरहेको छ, हामीले छातीमा हात राखेर भनौं के ती एजेण्डाहरू हाम्रा हुन् ? मौलिक स्वरूप र मौलिक स्वभावलाई छाडेपश्चात् अब यसमा आउने विचलन निश्चित नै छ ।
समय सापेक्ष ढंगले गणतन्त्र, संघीयता, धर्मनिरपेक्षता, समावेशी लोकतन्त्र र चुनावी प्रणालीमा कांग्रेसले आफ्नो ‘कोर्स करेक्सन’ गर्नु पर्ने देख्छु । कति सकिन्छ सकिँदैन । धेरै अगाडि बढिसक्यौं । हामीले आफ्ना एजेन्डा सबै छोडेर अरूको बोक्यौ भने भीडमा हराउँछौ।
आउँदो पुस्ताले काँग्रेसलाई कसरी चिन्ने ? अहिलेको कांग्रेसलाई र हिजो हामीले संगठन गरेको कांग्रेसलाई कसरी चिन्ने ? हामीले आफूलाई कसरी रूपान्तरण गर्ने ? त्यो परिस्थितिमा कांग्रेसमा अलिकति अप्ठ्यारो छ । महासमितिमा पनि यो विषयमा धेरै कुरा उठेको थियो । अब १५औं महाधिवेशनमा पनि यो कुरा उठाउँछौ ।
‘कोर्स करेक्सन’ कसरी हुन्छ ? महाधिवेशनबाटै हुन्छ कि ?
पार्टीको अधिवेशन समयमै होस् भन्ने चाहन्छु । कांग्रेसले जुन विधान बनायो, जुन विधानमा अहिले हामी हिँडिरहेका छौं, त्यो विधान रहुन्जेल यसैमा हिँड्नुपर्छ । हामी ‘मास बेस’ पार्टी हौं कि ‘क्याडर बेस’ पार्टी हौं ? पार्टी कस्तो हो भन्ने कुरामा विधान नै ‘कन्फ्यूज’ छ । हामी ‘मोर डेमोक्र्याट’ हुन् खोजेका छौं । विधान बनाउँदा बनाउँदै विधानलाई एनजिओको ढाँचामा लिएर गयौं । विधानमा यति उदार भयौं की हरेक संरचनाहरू भद्दा भए । हरेक संरचनाहरूमा निर्वाचनको पद्धतिहरू विकसित गर्यौ । त्यसले हरेक ठाउँमा गुट जन्मायो । हरेक ठाउँमा चुनाव । हरेक ठाउँमा प्रतिस्पर्धा भयो । यसो झट्ट हेर्दा पार्टी एकदम लोकतान्त्रिक देखिन्छ। तर, पार्टी संचालन गर्दा आन्तरिक जीवनमा त्यति सजिलो र सरल छैन । त्यति उदार हुनु पनि आवश्यक छैन । पार्टी टोटल ‘मास बेस्ड’ हो । अब यसलाई ‘क्याडर बेस’ बनाउन खोज्यो भने बन्दैन । सैद्धान्तिक रूपले र यो विधानले पार्टी चल्न सक्दैन । विधानले पनि संशोधन खोजेको छ, संविधानले पनि ।
यही रूपको संघीयता मुलुकले थेग्नै सक्दैन । एकाएक हामीले शक्तिलाई विकेन्द्रित गर्ने नाममा संसारमा एकदमै विकसित भएको लोकतन्त्रको उच्चतम अभ्यास गर्दैछौं । तर हाम्रो मनोविज्ञान, मानसिकता, जीवनशैली, इतिहास, पुरानो वास्तविकता, भू-राजनीतिक अवस्था त्यसका लागि उपयुक्त थिएन ।
संघीयता नै चाहिँदैन भन्ने हो ?
संविधान त बनायौं तर संविधान बनाउँदा हतारमा बनायौं । वास्तवमा भन्ने हो भने युरोपेको संघीयता चल्दैन । संघीयता आवश्यक नै छैन हाम्रो जस्तो सानो देशमा । तर, हामी धेरै अगाडि गइसकेका छौं । अहिले संघीयता नै चाहिँदैन भन्न त मिल्दैन तर, पुर्नसंरचना गर्न सकिन्छ । संसदहरूको, मन्त्रीहरुको संख्या घटाउन सकिन्छ । जसको लागि पनि संविधान संशोधन गर्नैपर्छ । तर, हामी संविधान संशोधनमा गइरहेका छैनौं । एउटालाई प्रधानमन्त्री बनायो । अर्कोलाई मन्त्री बनायो । अब फेरि मन्त्रीमण्डल पुनर्गठनको चर्चा छ । मन्त्री राम बहादुर गएर श्याम बहादुर आउँदैमा अथवा एउटा प्रधानमन्त्री गएर अर्को आउँदैमा कुनै ठूलो परिवर्तन आउने देखिँदैन । संसदमा मैले राष्ट्रिय सरकारको कुरा पनि उठाए । जसरी संविधान बनाउँदा सबै एक ठाउँमा आउनु भएको थियो फेरि संविधानलाई संशोधन गर्न सबै एकठाउँमा आउनुस् । तपाईंहरू सबै जना ‘सेल्फ सेन्ट्रिक’ हुनु भयो भन्ने अभियोग हो नेताहरूलाई ।
शेर बहादुर देउवा, प्रचण्डजी र सम्मानीय प्रधानमन्त्रीज्यूबाट राजनेताको अपेक्षा गरेका छन् जनताले । पार्टीको दायरा भन्दा माथि, सरकारको दायरा भन्दा माथि उठ्नु पर्नेमा उहाँहरु आफैं आफ्नो पार्टीभित्र पनि आफ्नो समूहको दायर भित्र अल्झिएर राजनीतिलाई अघि लगिराख्नु भएको छ । त्यसले हामीलाई सही गन्तव्यमा पुर्याउँदैन । उहाँहरूले राजनेताको भूमिका नै निर्वाह गर्न सक्नु भएन । तीन वटै पार्टी हेर्ने हो भने कांग्रेस शेरबहादुरजीको नियन्त्रणमा छ । एमाले केपी ओलीजीको र माओवादी प्रचण्डजी को नियन्त्रणमा छ । उहाँहरू तीन जनाको अघोषित रूपले ‘सिण्डिकेट’ छ । घोषित रूपले नै राष्ट्रिय सरकार बनाए भैगो नि । साना पार्टीलाई एकीकृत गरेर राष्ट्रिय सरकारको निर्माण गरे भयो । मुलुक सबैको हो । मुलुकलाई केन्द्रबिन्दुमा राखेर दलगत स्वार्थ भन्दा बाहिर गएर अगाडि जानु भयो भने एउटा निकास निस्किएला । हामी संविधान सभाले संविधान बनायो यो अकाट्य छ भनिरहेका छौं । यो गीता पनि होइन । बाइबल, कुरान पनि होइन । समय सापेक्ष ढंगले समीक्षा गर्दै संशोधन गरेनौं भने कहीँ जान सक्दैनौं । आम्दानीको स्रोत छैन । खर्च धेरै छ । कुल बजेटको २० प्रतिशत विकास खर्च गर्न सकिरहेको छैन । यो परिस्थिति र परिवेशमा ‘सुखी नेपाल , समृद्ध नेपाली’ भनेर नारा दिदैंमा कहीँ पुगिन्न ।
कांग्रेसको क्रियाशील सदस्यता नै टुंगोमा पुगेको छैन ? के ले रोकिराखेको छ ?
नयाँ क्रियाशील सदस्यता वितरण नै भएको छैन । वैधानिक हिसाबले पार्टीको अधिवेशन आइसक्यो । २०८२ मंसिरमा सम्भव देख्दैनौं । ०८३ मा पनि सम्भव नहुने जस्तो हुन थालिसक्यो । समयमा अधिवेशन गर्यो भने पार्टीको जीवनमा जीवन आउला । प्राण आउला । वैचारिक रूपले साथीहरू आउनु होला । पार्टीलाई नियन्त्रण गर्ने एउटा कुरा हो । पार्टी निर्माण गर्ने अर्को कुरा हो । पार्टी निर्माण गरौं भन्ने अभियान हो । समग्र कांग्रेसले नै आजको आवश्यकतालाई सम्बोधन गर्न सक्छ भन्ने बुझाई हो । पार्टीले वैचारिक रूपले जहाँ-जहाँ बाटो बिराएको छ त्यो बाटोमा बिस्तारै आफूलाई सच्याओस् । विधानमा जहाँ जहाँ कमी कमजोरी छ त्यसलाई सुधारोस् । हाम्रो कुरा पार्टीलाई कमजोर गर्ने होइन । पार्टीलाई सुधार गर्ने हो । पार्टीलाई राम्रो बनाउने, समयमा अधिवेशन गर्ने हो । कसैको विरोध होइन नि ।
आफ्नो विचार राखेकै आधारमा पार्टीकै नेताहरूलाई स्पष्टीकरण सोध्नुपर्छ भन्ने कुरा पनि आएको छ के भन्नु हुन्छ ?
यस्तो कुराहरू राम्रो होइन । शशांक कोइरालाको कुरा तपाईंले संकेत गर्नुभयो । उहाँ भद्र र सरल मान्छे । उहाँले कुनै कुरा सोचेर ‘प्रि माइन्डसेट’ गरेर भन्नुभयो जस्तो लाग्दैन । कतिपय अवस्थामा मान्छेले एउटा कुरा भनिरहेको हुन्छ, उसको अगाडिको र पछाडिको कुरा काटिन्छ, बीचको एउटा शब्दलाई लिएर ‘सोसल मिडिया’मा त्यो ढंगले प्रस्तुत हुन्छ । मलाई ‘इन्टेन्सन’ खराब लाग्दैन । कुरा उठ्यो होला । चर्चा भयो होला । शशांक डाक्टरसाब पनि स्वभाविक रूपमा आउनु भयो बोल्दिनु भयो । दायाँ-बायाँ केही सोच्नु भएन । बाहिरकाले अतिरञ्जित गरे ।
कांग्रेस जस्तो पार्टीमा विभिन्न ‘फ्याक्टर’हरूले खेलिरहेका हुन्छन् । पार्टी भित्रका, राष्ट्रिय र अन्तर्राष्ट्रिय तत्वहरूले खेलिरहेका हुन्छन् । यहाँ ‘गेज चेन्जर’हरू छन् । कसरी शेखर र शशांकलाई मिल्न नदिने ? दुई भाइ बीच फाटो गरेर कोइरालाको ‘लिगेसी’ले निरन्तरता नपाओस् भन्ने छन् । त्यस्तै शेखर कोइराला र गगन थापालाई एक ठाउँमा राख्न नदिने । कसरी यो विचार समूहलाई कमजोर गर्ने ? भन्ने छन् । यहाँ लडाईं कुनै व्यक्तिसँगको होइन । सभापति अहिले शेर बहादुरजी हुनुहुन्छ । उहाँ सरल हुनुहुन्छ । लामो इतिहास छ । जेल बस्नु भएको छ । पार्टीको हरेक उतारचढावलाई देख्नु भएको छ । विपी कोइराला, गणेशमानजी, किशुनजी, सुवर्ण शमशेरसँग संगत गरेर हामीसँग समेत संगत गर्नुभएको छ । त्यो अनुभव विशाल छ नि । यो शेखर कोइराला, पार्टी सभापतिज्यू, शेखर-शशांक र अरू कुनै नेताको सवाल होइन । प्रवृत्तिको सवाल हो । एउटा प्रवृत्ति पार्टी भित्र हाबी भयो । त्यो प्रवृत्तिलाई हाम्रो विचार समूहले ‘करेक्सन’ गरेर सही दिशामा लिएर जान्छ । हामी यो अधिवेशनबाट नयाँ नेतृत्व पाउँछौ भन्ने प्रयास हो । म यो विचार समूहलाई ‘इन्ट्याक्ट’ राख्नुपर्छ भन्ने लाइनमा छु ।
१४औँ मा जसरी शेखर कोइराला र गगन थापा मिलेर महाधिवेशनमा जानुभयो, १५औं मा सम्भावना कति छ ?
हामी कोसिसमा छौं । राजनीतिमा हरेक सम्भावनाको ढोका खुल्ला हुन्छ । जुन प्रवृत्तिका विरुद्धमा संगठित भयौं र विचार समूह निर्माण गर्यौं । भोलि हामी बीचको विभाजनले हामी बीचमा त्यो प्रवृत्ति हाबी भैदिन्छ । कोही हामीसँग ‘पोलराइज्ड’ भैदिन्छ । कोही गगनजीसँग ‘पोलराइज्ड’ भैदिन्छ जसले गर्दा सोचेको ठाउँमा कांग्रेस पुग्दैन भन्ने चिन्ता हो । ठेक्का लिनु त भएन । प्रयास हो राजनीति । विचारको खेती हो । एउटा विचार बोकेर हिँडेका छौं त्यो विचारले सही दिशा लिओस् भन्ने हो । अहिलेको सबै भन्दा ठूलो समस्या हामीहरू व्यक्तिवादी भयौं । पार्टी बनाउन पर्यो भन्ने सोच भन्दा हामी कसरी बन्ने भने सोच विकसित भयो । कहाँ ‘मिस’ गरिरहेका छौं भने, व्यक्ति बनेर पार्टी बन्दैन । पार्टी बन्यो भने हामी बन्छौं भन्ने सोच विकसित हुन आवश्यक छ । सबै भन्दा ठूलो समस्या पार्टीको हो । पार्टीलाई कसरी मजबुत गर्ने ? कसरी संगठित गर्ने ? कसरी रामो बनाउने ? कसरी वैचारिक बनाउने ?
२०१५ सालमा विपी कोइरालाले पत्रकार बोलाएर मेरो विरोध गर्नु भन्नु पर्ने स्थिति थियो । विपक्षी चाहिन्छ भनेर विपक्षी फलानोलाई जिताइदेउन् भन्ने परिस्थिति थियो । अहिले ठ्याक्कै उल्टो भयो । हामी दिन प्रतिदिन स्खलित हुँदै गयौं । अर्को पक्ष दिन प्रतिदिन बढ्दै गयो । संसारमा कम्युनिस्टहरू कमी हुँदै गए नेपालमा कम्युनिस्ट पार्टीहरू बढ्दै गए । सबै भन्दा पहिले कांग्रेसले सोच्नुपर्छ कहाँ गल्ती गर्यौ ? कहाँ चुक्यौं ? कहाँ बाटो बिरायौं ? हामीले के गर्यौ जसका कारणले गर्दा आज यो परिणाम भोगिरहेका छौं । सबै चीजहरूमा सच्याएर गयौं भने आत्मालोचना गर्यौ भने हामीलाई कसैले हराउन सक्दैन ।
एउटा रमाइलो कुरा भनौं, कांग्रेसलाई कसैले हराउँदैन । म त ४ वटा चुनाव लडें । कांग्रेसलाई कांग्रेसले हराउँछ । पार्टी भित्र अराजकताले बिस्तारै ठाउँ लिइरहेको छ । पार्टीलाई सही दिशामा लिएर जान सकेनौं भने मुलुककै दुर्भाग्य हुन्छ । सबै शक्तिहरू कमजोर भैसक्यो अब एउटा कांग्रेस पार्टी सिध्याउनु पर्ने छ । त्यो सिध्याए मुलुकको भविष्य पनि अप्ठ्यारोमा पर्छ । त्यसकारण सबै भन्दा ‘सिरियस’ कांग्रेस नै हुनुपर्छ ।
१५ औ महाधिवेशनमा तपाईंको विचार समूहको सभापतिको उमेदवार शेखर कोइराला हो ?
हो । १५औं महाधिवेशनमा सभापतिको उमेदवार शेखर दाइ नै हो । १४औं महाधिवेशन देखि १५औं महाधिवेशनसम्मको हाम्रो लिडर शेखर दाइ नै हो । हामीले हाम्रो विचार समूहलाई ‘इन्ट्याक्ट’ गर्न खोज्छौं । मान्छे यो विचार समूह खण्डित होस् भनेर प्रयास गरिरहेका छन् । हामी त्यसलाई रोक्ने प्रयत्नमा छौं । १४औं मा शेखर दाइ पराजित हुनुभयो महामन्त्रीज्यूले चुनाव जित्नु भयो । अब पार्टी भित्र उहाँ जिम्मेवारीमा हुनुहुन्छ । शेखर दाइ बाहिर हुनुहुन्छ । एक खालको मनोविज्ञान विकसित हुन सक्छ । एक किसिमको शक्तिले खेल्ने सक्छ । उहाँ पनि सजग हुनुपर्छ । हेर्नुस् शेखर दाइलाई पार्टी सभापति बनायो भने यही विचार समूहले बनाउँछ , गगन थापालाई पार्टी सभापति बनायो भने यहीँ विचार समूहले बनाउँछ । शेखर दाइलाई प्रधानमन्त्री बनायो भने पनि यही विचार समूहले बनाउँछ, गगन थापालाई प्रधानमन्त्री बनायो भने यही विचार समूहले बनाउँछ । यो विचार समूह कमजोर भएको दिन कसैले कल्पना गर्नु बेकार छ । सबैको प्रयास के हो भने यो विचार समूह कसरी ‘इन्ट्याक्ट’ हुन्छ भने हो । कसैले बनाइदेला भन्ने सोच्नु भाको छ भने त्यो उहाँहरूको भ्रम हो ।
यो विचार समूह निर्माण गर्ने मध्येको एउटा तत्व भएको नाताले म के भन्छु भने ‘नेचुरल लिडरसिप’ त शेखर दाइ नै हो नि । हिजो संसदीय निर्वाचनमा गगनजीले इच्छा गर्नु भयो शेखर दाइले त्याग गर्नुभयो । त्यति बेला पनि शेखर दाइ नै हुनुपर्दथ्यो । ‘नेचुरल कोर्स’मा त त्यो गएन । त्यति बेलाको हाम्रो निर्णय गल्ती थियो भन्ने सोच्नुपर्ने अवस्था आउन दिनु हुँदैन । गगनजीको भविष्य राम्रो छ । भोलि त गगनजीहरू कै हो । तर अहिलेको सम्भावना शेखर दाइ नै हो ।
एमालेसँग गठबन्धन छ अब ओलीपछि शेरबहादुर देउवा प्रधानमन्त्री हुने सहमति छ पार्टीमा शेखर कोइराला प्रधानमन्त्री हुने सम्भावना कति छ ?
संख्या पुग्या भोलिपल्ट त हामी प्रयास गरि हाल्छौं नि । अहिले त संख्या नै पुग्दैन । संसदीय राजनीतिमा शेरबहादुर दाइ नै बलियो हुनुहुन्छ । भोलि शेखर दाइको संख्या पुग्यो भने स्वाभाविक शेखर दाइले लिड गर्नुस् भन्ने चाहन्छौं । संसदीय दल र पार्टीको स्वाभाविक नेता शेखर दाइ हो । उहाँ नै भोलिको सभापति । उहाँ नै भोलिको ‘प्राइमिनिस्टर’ हो भन्ने लाग्छ ।
भातृ संगठनहरूको किन नियमित अधिवेशन गर्न नसकेको ?
भीडमा रूपान्तरण भयो । पार्टीको भातृ संस्थाहरू जुन किसिमले चलायमान भइरहेको छ, यसले त पार्टी को रूपै छैन । ८ सयको कुनै कमिटि हुन्छ संसारमा । पार्टी कसैलाई चाहिएकै छैन । व्यक्तिवादी चरित्र हाबी भयो । यहाँ मेरो मान्छे, मेरो समूह, मेरो ग्रुप चाहिएको छ । मेरो बहुमत चाहिएको छ ।
कांग्रेस महाधिवेशन समयम हुन त भातृ संगठनको पनि समयमै अधिवेशन हुनुपर्ला नि ?
हुने लक्षण देखिदैंन । कतिपय जिल्लामा अधिवेशनहरू जिल्लाको कार्यसम्पादन समितिले तोकेको छ । गाउँ फर्क राष्ट्रिय अभियानले टिका लगाएर तँ बनिस् भन्या जस्तो । केन्द्रीय समितिलाई मन लागेकोलाई केन्द्रले तोक्दिने, जिल्लाको मन लागेकोलाई जिल्लाले तोक्दिने, प्रदेशको मन लागेकोलाई प्रदेशले तोक्दिने हो भने राम्रो कुरा भएन । अहिलेको विधानले त्यो दिँदैन । विधानमै संशोधन गर्नुपर्यो । त्यो रूपको अनुशासन बनाउनुपर्यो नि । एकातिर सबैलाई चित बुझाउनु पर्ने एकातिर टिका लगाउन पर्ने त्यो त मिल्दैन ।
दुई युवा महामन्त्रीको काम कारबाहीलाई कसरी हेर्नुभएको छ ? क्रियाशील वितरण र नवीकरणमा किन ढिलाई भइरहेको छ ।
शेरबहादुर दाइ सभापति बन्दै गर्दा दुईजना महामन्त्री युवा हुनुभयो । त्यो परिवर्तनको अवसर त दिएको हो । यति बेला पार्टी त्यही रूपले क्रियाशील हुनुपर्ने हो । चलायमान हुनुपर्ने हो । उहाँहरू दौडमा भन्दा पार्टी निर्माणमै लाग्नुपर्ने हो । तर, अहिले जुन किसिमको ‘मुभमेन्ट’ देखिन्छ त्यसले कहीँ कहीँ ‘लाइन’ र ‘लेन्थ’ ‘मिस’ गर्न खोज्या हो कि भन्ने फिल हुन्छ । क्रिकेटको बलरले ‘लाइन’ र ‘लेन्थ’ ‘मिस’ गर्यो भने राम्रोसँग ‘हिट’ गर्न सक्दैन । बलिङ गर्न सक्दैन । कतै न कतै ‘मिस’ भइरहेको छ । युवा साथीहरूले यो कुरा बुझ्नुपर्छ ।
गगन र विश्व प्रकाशजीलगायत सहमहामन्त्रीजीहरूले पनि बुझ्नुपर्छ । पार्टी जुन ढंगले लिएर जानुपर्ने हो जान सकेको छैन । खाली शेरबहादुर देउवालाई गाली गरेर मात्रै कहाँ हुन्छ ? हाम्रो भूमिका बलियो हुनुपर्छ भनेर जानुपर्यो । उहाँहरूको जुन किसिमको देश दौडाहा भइरहेको छ त्यो भन्दा बढी समय नेपाली कांग्रेसले खोजिरहेको छ।
त्यहाँको गतिविधिहरूले खोजिरहेको छ । केन्द्रीय कार्यालयमा बसेर कतिपय कुराहरू आदेश गर्नुपर्ने हुनसक्छ । कतिपय नियन्त्रण गर्नुपर्ने छन् । कतिपय कुराहरूमा एकरूपता ल्याउनुपर्नेछ । त्यसकारण पार्टी पार्टीअनुसार चलिरहेको छैन ।
त्यसको दोष पार्टी सभपतिलाई मात्रै दिएर उम्किन महामन्त्रीजीहरू पाउनुहुन्न । क्रियाशील सदस्यताको त गगनजीको टाउकोमा छ नि । उहाँ नै त्यसको संयोजक हो । क्रियाशील सदस्यताको विषयमा अझ गम्भीर हुनुपर्छ । समयमा नै अधिवेशन भएन भने भोलि उहाँको टाउकोमा यो कुराहरू आइपुग्छ । सभापतिजीले मैले के गर्ने त तिमीहरूले नै गरेनौं भन्न सक्नुहुन्छ । त्यो सुविधा उहाँलाई दिनु भन्दा पनि उहाँसँग ‘अन्डर स्ट्यान्डिङ’ राम्रो बनाएर कामहरू फत्ते गर्दै जानुपर्छ ।
पार्टीमा अराजकत बढ्यो भन्नुभएको छ अनुशासन समिति के गरिरहेको छ ?
अनुशासन समितिले काम गर्न खोजिहेको छ । काम गर्न सकिरहेको छैन । यो बीचमा सभापतिजीसँग पनि एक पटक बसेर एक राउण्ड मिटिङ गर्यौं । असारको १५ गतेभित्र अनुशासन समितिले आफ्नो काम टुङ्गाउने भनेका छौं । २ हजार १०० उजुरी छन् । यसमा अलिकति वर्गीकरण गर्न खोजेका छौं ।
स्पष्टीकरण माग्नु पर्ने, सचेत गराउनु पर्ने, निलम्बन गर्नु पर्ने र कारबाही नै गर्नुपर्ने गरी ४ थरी मापदण्डमा यसलाई विभाजन गरेर हेर्न खोजेका छौं । कतिपय ठाउँमा गुटबन्दीको असर छ । साथीहरूलाई अन्याय परेको छ । अनुशासनको कारबाहीका लागि सिफारिस हुँदैमा त्यसलाई दण्डित गर्न मिल्दैन । केन्द्रीय अनुशासन समितिले अनुशासनको विषयमा अन्तिम किनारा नलगाउन्जेलसम्म सम्पूर्ण साथीहरूको क्रियाशील नवीकरण गर्नु पर्छ । जसको निलम्बन भो । जसको कारबाही भो भने त्यो भागीदार भैहाल्छ । जतिसुकै गरेपनि त्यसले अगाडि बढ्न पाउँदैन ।
निर्वाचनको बेलामा बागी उठेकालाई जिल्लाबाट कारबाहीको सिफारिस गरेर पठाइन्छ तर अर्को निर्वाचन नजिकिएसँगै केन्द्रबाट फुकुवाको निर्णय आउँछ । के कारबाही देखाउनका लागि मात्र हो ?
होइन । नेपाली कांग्रेसको विधानले निर्वाचनको अवधिमा ‘अन द स्पोट’ कारबाही गर्न सक्छ । ६ महिना निलम्बन गर्न सक्छ । अब त लगभग ३ वर्ष भइसक्यो । ६ महिनालाई कारबाही गरेको भएपनि उसको फुकुवा भैसक्यो । ६ महिना भन्दा बढी कारबाही गर्ने अधिकार जिल्ला निर्वाचनको अनुशासन समितिलाई छैन । त्यो भन्दा बढीको हकमा केन्द्रीय अनुशासन समितिले बोल्नुपर्छ । केन्द्रीय अनुशासन समितिले निष्कासन गर्नुपर्छ । कांग्रेसको केन्द्रीय अनुशासन समितिले निष्कासन नगरेसम्म कसैको निष्कासन भएको छैन । सबै जनाको क्रियाशील सदस्यता जीवित छ । तिनलाई नगर समिति, क्षेत्रीय समिति अथवा जिल्लाले क्रियाशील सदस्य नवीकरणमा रोक्न जुन प्रयास गर्यो त्यसले पार्टी भित्र अर्को विवाद सिर्जना गरेको छ । त्यो चाहिँ अब परिपत्र गर्ने भन्ने सहमति भएको छ ।
ठूला नेताहरूसँग ज-जसको टक्कर छ, जसले ठूला नेताहरूलाई च्यालेन्ज दिन्छन् उनीहरूलाई मात्र निष्कासन गरिएको हो ?
त्यो पनि छैन । एउटा मात्र केश छ निष्कासनको । १२/१५ वटा चाहिँ पुराना केशहरू छन् । त्यो विषयमा अनुशासन समितिले एक किसिमको दृष्टिकोण बनाउनु पर्छ । बाँकी केही सचेत गराउनु पर्ने खालका छन् । केही स्पष्टीकरण माग्न पर्ने खालका छन् । त्यसलाई हामीले ‘स्क्रिनिङ’ गरेका छौं । ७ वटा प्रदेशमा ५ जनाले विभिन्न प्रदेशको भाग लगाएर ‘स्क्रिनिङ’ गर्ने काम सकेका छौं । अब केही दिनपछि मिटिङ बस्छौं । तर, त्यो मिटिङ बस्नु भन्दा पहिले पार्टीले जुन परिपत्र गर्नुपर्ने हो त्यो भइसकेको छैन । त्यो तत्काल होस् भन्ने चाहना हो । मैले दुवै महामन्त्रीहरूलाई त्यो कुरा जानकारी गराएको छु । एउटा समझदारी भइसकेपछि परिपत्र गर्दिनु भएन भने काम गर्न गाह्रो हुन्छ ।
यो अनुशासन उल्लंघनको घटनाहरू चाहिँ फरक फरक गुटका नेताहरू भएका कारणले बढी आएको हो ?
त्यो मात्र छैन । यसमा २/३ वटा कारण छ । एउटा गठबन्धनका कारण हो । कतिपय विद्रोह कुनै पनि हालतमा भोट नै हाल्दिन भन्ने छ । माओवादीको आन्दोलनको बेलामा एकदमै ठूलो आतंक थियो । मान्छेको घरबार बिग्रेको छ । छोरा मरेका छन् । आफन्त गुमाएका छन् । घरमा विस्फोट भएको छ । १७ हजार ५०० को क्षति भएको छ । धेरै किसिमका मान्छे छन् । त्यो ‘ग्राउण्ड’मै गएर बुझ्नुपर्छ । पार्टीले निर्णय गर्यो म नेताले पो मान्ने भए । तर, आम जनता, कांग्रेसका मतदाताले मान्नु पर्छ भन्ने जरुरी छैन । कतिपय ठाउँमा उमेदवारसँग चित नबुझेर ‘नो भोट’ मा जान नसकेर विद्रोह गरेका छन् । पार्टीमा न्याय भएको छैन भनेर विद्रोह गरेका छन् । स्वाभाविक उमेदवार एउटा थियो पार्टीले अर्कै मान्छेलाई टिकट दियो त्यहाँ चाहिँ गुटको प्रभाव देखिन्छ । ‘मास लेबल’मा असन्तुष्टि देखिएर विद्रोह भएको छ । कुनै एउटा पाटोबाट मात्र यसलाई हेर्यौ भने गहिराइमा पुग्न सकिँदैन । विद्रोहको कारण के हो ? असन्तुष्टि को कारण के हो ? वास्तवमा यो अनुशासनहीन हो की, विद्रोह ? भन्ने कुरा अनुशासन समितिले विवेक पुर्याउनु पर्ने देखिन्छ । नेताहरूले विवेक पुर्याउनुपर्ने देखिन्छ ।
२०८२/८३ को बजेटलाई तपाईं कसरी हेर्नुहुन्छ? के यो यथार्थपरक छ कि राजनीतिक सौदाबाजी?
पहिलेको भन्दा राम्रो छ । यथार्थपरक नै देखिन्छ। बजेट निर्वाचित माननीयको प्राथमिकताभन्दा दलगत प्राथमिकताबाट प्रेरित भएको देखिन्छ । जति फोकस कृषि र पर्यटनमा हुनु पर्थ्यो भएको छैन । नयाँ ‘स्टार्टअप’को कुराहरू आएको छ । सकारात्मक छन् । पहिलेको भन्दा अलिकति अग्रगामी नै छ । तर, यसले सोचेको चीज गर्ला भन्ने भएन । सबै भन्दा ठूलो ‘सिस्टम’ नै भएन । चालू खर्च बढी भयो । विकास खर्च एकदमै कम । खर्च गर्ने जुन ‘सिस्टम’ छ त्यसले विकास खर्च नहुने स्थितिमा गइरहेको छ । भएकोमा भ्रष्टाचारको जालो छ । कुल बजेटको १०/२० प्रतिशत विकास खर्च भएको जस्तो लाग्दैन । वास्तवमा सदुपयोग गर्ने हो भने धेरै ठूलो फरक पर्छ । जस्तो अहिले जेष्ठ नागरिकको उमेर ६८ बाट ७० बनाइयो । त्यसले ठूलो रकमको बचत हुन्छ । कतिपय सकारात्मक हुन्छन् । कतिपय नकारात्मक । सबै भन्दा ठूलो समस्या पारदर्शिता छैन । जति अन्तरक्रिया सांसद, जनप्रतिनिधिसँग हुनुपर्ने हो त्यो भएको छैन । त्यसको स्वामित्व चाहिँ पार्टीका नाममा हामीले लिनु पर्ने तर हामीलाई चाहिँ छायामा राख्ने ? २/४ जना नेता बसेर तय गर्ने अनि त्यसलाई हामीले हो भन्दिन पर्ने? टाउको हल्लाइदिनु पर्ने ? मान्दिनु पर्ने ? त्यो चाहिँ राम्रो भएको छैन ।
१२ कक्षा पास गर्ने बितिकै युवाहरू विदेश जाने योजनामा हुन्छन्, त्यसलाई रोक्न बजेटले केही सम्बोधन गरेको छ ?
बजेटले रोक्ने होइन । जबसम्म सुशासनको प्रत्याभूति दिन सक्दैनौं, भ्रष्टाचारलाई नियन्त्रण गर्न सक्दैनौं र मेरो र तेरो भन्ने काम गर्छौ तबसम्म यो पलायन रोकिँदैन । जहाँ हेर्यो त्यहाँ भ्रष्टाचार । अलिकति पढ्या लेख्या मान्छेले नेपालमा आफ्नो भविष्य देख्नै छोड्यो । बाहिर पलायन हुने मान्छेहरू भन्या भविष्य खोज्ने मान्छेहरू हुन् । जस्तो ‘गल्फ कन्ट्रीहरू’मा जाने मान्छेहरू चाहिँ श्रम बजारमा गइरहेका छन् । त्यहाँ उसले घर बनाएर बस्दैन अन्ततः फर्कन्छ । हाम्रो ‘ब्रेन’ पनि बाहिर गइरहेको छ । अष्ट्रेलिया, अमेरिका, क्यानडा र जापान जाने मान्छेहरू पढ्ने निहुँमा गइरहेका छन् । त्यो फेरि फर्किएर आउने अवस्था कम छ । अहिले झट्ट हेर्दा हाम्रो ‘ब्रेन’ पनि निर्यात भइरहेको छ ‘मसल्स’ पनि । जुन ‘ब्रेन’ निर्यात भइरहेको छ त्यसलाई कसरी रोक्ने भन्ने कुरा सबै भन्दा ‘सिरियस’ कुरा छ । त्यस्ताका लागि यहाँ वातावरण बनाउनु पर्छ । वातावरण नबनाईकन त्यो सम्भव म देख्दिन ।