सिन्धुपाल्चोक - राष्ट्रिय स्वतन्त्र पार्टी का सांसद प्रमीला कुलुजु ले सिन्धुपाल्चोक निर्वाचन क्षेत्र नं. २ को समग्र विकासका लागि करिब १५ करोड रुपैयाँ बराबरको योजना तथा बजेट प्रस्तुत गरिएको बताएकी छन्।
राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) क्षेत्र नं. २ द्वारा मेलम्चीमा आयोजित भेटघाट तथा अन्तरक्रिया कार्यक्रममा बोल्दै सांसद कुलुजुले विकास निर्माणका विभिन्न कार्यक्रम अघि बढाइएको जानकारी दिइन्। उनले क्षेत्रको आवश्यकता र जनताको मागलाई आधार मानेर योजना छनोट गरिएको स्पष्ट पारिन्।
उनका अनुसार स्थानीय तहमा देखिएका समस्या, गुनासा तथा सुझावलाई व्यवस्थित रूपमा सङ्कलन गरी समाधानका लागि पहल गर्न छुट्टै सचिवालय स्थापना गरिनेछ। यसले जनताको आवाजलाई नजिकबाट सुन्न र शीघ्र समाधान खोज्न सहयोग पुग्ने उनको विश्वास छ।
सांसद कुलुजुले पूर्वाधार विकास, अवैध गतिविधि नियन्त्रण तथा रोजगारी सिर्जना आफ्नो प्राथमिकतामा रहेको उल्लेख गर्दै क्षेत्र नं. २ लाई समृद्ध र व्यवस्थित बनाउन आफू निरन्तर सक्रिय रहने प्रतिबद्धता व्यक्त गरिन्। ‘म जनताको मालिक बन्न आएको होइन, सेवक बन्न आएको हुँ,’ उनले भनिन्, ‘जनताको अपेक्षा अनुसार काम गर्दै परिणाम दिने मेरो मुख्य लक्ष्य हो।’
कार्यक्रममा रास्वपा सिन्धुपाल्चोकका सचिव चक्रपानी सिग्देल जिल्ला सदस्य दोर्जे तामाङ, क्षेत्र नं. २ का क्षेत्रीय सभापति निमा याङछेन लामा लगायत स्थानीय तहका नेताहरूको उपस्थिति रहेको थियो। कार्यक्रममा सहभागीहरूले स्थानीय समस्याबारे आफ्ना धारणा राख्दै विकासका लागि विभिन्न सुझावसमेत प्रस्तुत गरेका थिए।

