Harsamaya
वैशाख २१ : प्रधानमन्त्रीको सचिवालयको स्पष्टीकरणदेखि अध्यादेश राष्ट्रपतिकोमा पुन : पठाउने सरकारको निर्णयसम्म
ग्राफिक्स : हर समय/Har Samaya

प्रधानमन्त्री वालेन्द्र शाहको सचिवालयले प्रधानमन्त्री कार्यालय परिसरमा सञ्चारकर्मीलाई भिडियो खिच्न अवरोध गरिएको भन्ने समाचारप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ।आइतबार जारी प्रेस नोटमार्फत सचिवालयले वास्तविकता स्पष्ट पार्दै प्रधानमन्त्रीले सञ्चारकर्मीलाई भिडियो खिच्न रोक्न कुनै निर्देशन नदिएको दाबी गरेको छ । सचिवालयका अनुसार प्रधानमन्त्री कार्यालय प्रवेशका क्रममा परिसरभित्र सवारीसाधनको अत्यधिक भीड देखिएपछि व्यवस्थापन र सुरक्षा सतर्कताबारे सुरक्षाकर्मीसँग सामान्य जिज्ञासा राखिएको थियो।यस्तै, मन्त्रिपरिषद्को बैठकले संवैधानिक परिषद्सम्बन्धी अध्यादेश स्वीकृतिका लागि राष्ट्रपतिसमक्ष पुनः सिफारिस गर्ने निर्णय गरेको छ । मन्त्रिपरिषद् बैठकले राष्ट्रपतिबाट पुनर्विचारका लागि आएको अध्यादेश पुनः सिफारिस गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिए ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले कर्मचारीहरूले जलेका सवारी साधनको नाममा तेल लिएको भनेर दिएको वक्तव्य झुटो सावित भएको छ । मन्त्री मेहेताले स्वास्थ्य मन्त्रालयका कर्मचारीले  जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग गरेको भनी लगाएको आरोप निराधार र झुटो सावित भएको हो । यता, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयले नेपाल वायुसेवा निगममा रिक्त पाँच सञ्चालक समिति सदस्य पदका लागि सूचना आव्हान गरेको छ । मन्त्रालयले यही वैशाख १२ गते नेपाल वायुसेवा निगममा रिक्त चार जना सञ्चालक समिति सदस्य नियुक्तका लागि गोरखापत्र राष्ट्रिय दैनिकमा सूचना प्रकाशन गरेको थियो । यस्तै,  कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतमले संसदीय समितिमा एजेण्डाभन्दा बाहिरका विषय उठाउँदा प्रभावकारी छलफल हुन नसक्ने बताएकी छन् । प्रतिनिधिसभाको कानुन, न्याय तथा मानव अधिकार समितिको बैठकमा बोल्दै मन्त्री गौतमले समितिमा उठाइने विषयहरू स्पष्ट एजेण्डाभित्र हुनुपर्नेमा जोड दिएकी हुन्। यता, लिपुलेक, लिम्पियाधुरा र कालापानी नेपालको भूमि भएको धारणासहित नेपालको सार्वभौमिकताको सम्मान गर्न आग्रह गर्दै नेपाल सरकारले भारत र चीन दुवै देशलाई पठाएको कूटनीतिक नोटलाई नेपाली कांग्रेसले सकारात्मक रूपमा लिएको जनाएको छ । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको आजको बैठकले सो बारेमा निर्णय गर्दै विसं २०७२ मा पार्टीका तत्कालीन सभापति सुशील कोइराला नेतृत्वको सरकारले उक्त विषय  तत्काल सच्याउन आग्रहसहित भारत र चीन दुवै सरकारलाई कूटनीतिक नोट पठाएको कूटनीतिक पहल सम्बन्धमा समेत स्मरण गराएको छ । यस्तै, दलित समुदायलाई कोठा भाडामा नदिएको भन्दै त्यसविरुद्ध दीपा नेपालीको नेतृत्वमा माइतीघरमा जारी धर्ना र मुलुकभर व्याप्त जातीय छुवाछूतबारे चासो राख्दै सरकारले ‘फास्ट ट्रयाक डेस्क’ सञ्चालन गर्न निर्देशन दिएको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री सीता वादी, कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोविता गौतम र प्रधानमन्त्री वालेन्द्र शाहका प्रेस तथा अनुसन्धान विज्ञ दीपा दाहालबीच छलफलपछि यस्तो निर्देशन दिइएको हो । 

समाचार सर्वोच्च अदालतले केन्द्रीय अनुसन्धान ब्युरोको थुनामा रहेका व्यवसायी शेखर गोल्छालाई धरौटी वा जमानतमा छाड्न आदेश दिएको छ । न्यायाधीशद्वय महेश शर्मा पौडेल र श्रीकान्त पौडेलको संयुक्त इजलासले आज केन्द्रीय अनुसन्धान ब्युरो लाजिम्पाटमा थुनामा रहेका व्यवसायी गोल्छाकी पत्नी सीमा गोल्छाले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै धरौटी वा जमानतमा छाड्न आदेश गरेको हो । यस्तै, सर्वोच्च अदालतले एकल महिला (विधवा) ले अर्को विवाह गरेमा पूर्वपतिबाट पाएको सम्पत्ति फिर्ता गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ ।     कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरु कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदीको संवैधानिक इजलासले आज मुलुकी देवानी संहिता ऐन, २०७४ को दफा २१४(२) मा भएको व्यवस्था खारेज गरेको हो । यता, सर्वोच्च अदालतले सम्पत्ति शुद्धीकरणसम्बन्धी मुद्दामा थुनामा रहेका व्यवसायी दीपक भट्टलाई २४ घण्टाभित्र अदालतमा उपस्थित गराउन आदेश गरेको छ । न्यायाधीश अब्दुल अजीज मुसलमानको एकल इजलासले आज व्यवसायी भट्टककी पत्नी आयुस्मा नेपालले दायर गरेको बन्दी प्रत्यक्षीकरणको रिट निवेदनमाथि सुनुवाइ गर्दै आदेश प्राप्त भएको मितिले बाटोको म्यादबाहेक २४ घण्टाभित्र बन्दीसहित उपस्थित गराउन आदेश गरेको हो । यता,   गत बिहीबार रोल्पाको थपाङ गाउँपालिकास्थित जलजलामा भएको जिप दुर्घटना परी मृत्यु भएका रुकुम पूर्वका एकै घरका छ जनाको सामूहिक दाहसंस्कार गरिएको छ । आज धाउने बगरस्थित सानीभेरी नदी किनारामा सामूहिक दाहसंस्कार गरिएको हो । यस्तै, नेपाल मेडिकल काउन्सिलले दर्ताविहीन स्वास्थ्य संस्थामा सेवा नदिन चिकित्सकहरूलाई कडा चेतावनी दिएको छ । काउन्सिलले हालै सार्वजनिक गरेको सूचनामा प्रचलित कानुनअनुसार वैधानिक रूपमा दर्ता भएका स्वास्थ्य संस्था तथा क्लिनिकमा मात्र आबद्ध भएर सेवा दिन निर्देशन गरिएको हो । यता,  सर्वोच्च अदालतले बैंक तथा वित्तीय संस्थाहरूले सुरक्षणवापत धितोमा लिएको जग्गा लिलाम हुन नसकी आफैँले सकार गर्नुपर्ने अवस्थामा तीन वर्षभित्र बेचबिखन गर्नुपर्ने कानुनी व्यवस्था खारेज गरेको छ । कायममुकायम प्रधानन्यायाधीश सपना प्रधान मल्ल, न्यायाधीशहरू कुमार रेग्मी, हरिप्रसाद फुयाल, डा मनोजकुमार शर्मा, डा नहकुल सुवेदीको संवैधानिक इजलासले आज लगानी सहजीकरणसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने ऐन, २०८१ मार्फत भूमिसम्बन्धी ऐन, २०२१ मा थप गरिएको दफा १२ (च) को व्यवस्था खारेज गरेको हो । 

अपराध : बुटवलबाट प्रहरीले हुक्का तथा त्यससँग सम्बन्धित विभिन्न सामग्रीसहित एक जनालाई नियन्त्रणमा लिएको छ । इलाका प्रहरी कार्यालय बुटवलबाट खटिएको प्रहरी टोलीले विशेष सूचनाका आधारमा वैशाख १७ गते बुटवल उपमहानगरपालिका–११ कालिकानगरस्थित एक गोदाममा छापा मार्दा ४३ लाख २१ हजार ५०० रुपैयाँ मूल्य बराबरका सामग्री बरामद गरेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दले जानकारी दिए । यता,  कम्बोडिया सरकारले अनलाइन स्क्यामिङमा संलग्नलाई कसुरको प्रकृतिअनुसार पाँच लाख अमेरिकी डलरसम्म जरिवाना र आजीवन कैदसम्मको सजाय हुने व्यवस्था सहित नयाँ कानुन लागू गरेको छ । थाइल्याण्डस्थित नेपाली दूतावासका अनुसार कम्बोडियाले अनलाइन स्क्यामिङ एक अन्तरदेशीय अपराध भएको उल्लेख गर्दै त्यस्ता गतिविधि नियन्त्रण तथा अन्त्य गर्न गत हप्तादेखि सो कानुन लागू गरेको हो ।  यस्तै, धादिङमा एक नाबालिकालाई पटक–पटक जबरजस्ती करणी गरी गर्भवती बनाएर फरार रहेको आरोप लागेका प्रतिवादीलाई प्रहरीले मोरङबाट पक्राउ गरेको छ। पक्राउ पर्नेमा सप्तरीको राजविराज नगरपालिका वडा नं. ११ बस्ने २० वर्षीय पुरुषोत्तम यादव रहेका छन् । 

खेलकुद : महेन्द्रनगरमा आयोजित सुदूरपश्चिम प्रदेशस्तरीय बाह्रसिङ्गा व्याडमिन्टन प्रतियोगिताको उपाधि धनगढीका राजेन्द्रबहादुर बम र राम बोहराको जोडीले जितेको छ । पश्चिमपाटीद्वारा आयोजित प्रतियोगिताको ‘बी लेभल’तर्फको फाइनल खेलमा भोजराज भट्ट र गणेश मिश्रको जोडीलाई पराजित गर्दै बम र बोहराको जोडीले ४४ हजार ४४४ रुपैँया नगद पुरस्कारका साथमा, ट्रफी मेडलसहित उपाधि जितेको हो । 

विश्व चीनमा ड्रोनहरू विभिन्न तरिकाले प्रयोग भइरहेका छन् । मध्य चीनको हुबेई प्रान्तको यिचाङ शहरमा डढेलो निभाउन ड्रोनहरुको प्रयोग गर्ने गरिएको छ । हालसालै एक परीक्षण स्थलमा, एक स्वायत्त अग्नि नियन्त्रक ड्रोनले लगभग ५० मिटरको उचाइबाट आगो प्रतिरोधी पोड खसालेको छ । यता, भारतको पश्चिम बङ्गाल, तमिलनाडु, केरला, असम र केन्द्र शासित प्रदेश पुडुचेरीसहित प्रमुख क्षेत्रका ८२३ निर्वाचन क्षेत्रमा विगत दुई आज बिहान ८ बजेदेखि मतगणना सुरु भएको थियो।  भारतीय निर्वाचन आयोगको पछिल्लो जानकारी अनुसार पश्चिम बङ्गालमा भाजपाले २९४ सिटमध्ये १९५ सिटमा अग्रता लिइरहेको छ भने पश्चिम बङ्गालमा सत्तासिन तृणमूल कांग्रेस (टीएमसी) ले ८७ सिटमा अग्रता लिइरहेको छ । यस्तै, मध्यपूर्व युद्धको क्रममा संयुक्त अरब इमिरेट्स (युएई)मा इरानले गरेको आक्रमणपछि मार्चमा दुबई विमानस्थलको यात्रु आवागमनमा दुई तिहाइले कमी आएको इमिरेट्सको सञ्चार कार्यालयले सोमबार एक विज्ञप्तिमा जानकारी गराएको छ । अन्तर्राष्ट्रिय यात्रु ट्राफिकका लागि विश्वकै सबैभन्दा व्यस्त मानिने दुबई इन्टरनेशनल विमानस्थलमा यात्रुको सङ्ख्या घटेर २५ लाखमा झरेको दुबई सञ्चार कार्यालयले जनाएको छ ।

प्रकाशित मिति: सोमबार, वैशाख २१, २०८३  २१:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update