काठमाडौं - स्वास्थ्य तथा जनसंख्या मन्त्री निशा मेहेताले कर्मचारीहरूले जलेका सवारी साधनको नाममा तेल लिएको भनेर दिएको वक्तव्य झुटो सावित भएको छ । मन्त्री मेहेताले स्वास्थ्य मन्त्रालयका कर्मचारीले जेनजी आन्दोलनका क्रममा जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग गरेको भनी लगाएको आरोप निराधार र झुटो सावित भएको हो ।
केही समयअघि मन्त्री मेहेताले कर्मचारीहरूले इन्धन दुरुपयोग गरेको आरोप लगाउँदै छानबिन गर्न निर्देशन दिएकी थिइन् । मन्त्रालयका सहसचिवको नेतृत्वमा वैशाख १५ गते गठन गरेको समितिले मन्त्रालयका कर्मचारीहरूले जलेर नष्ट भएका सवारी साधनको नाममा इन्धन दुरुपयोग गरेको भन्ने आरोप निराधार भएको प्रतिवेदन मन्त्रीलाई दिएको थियो । समितिले जलेका सवारी साधनसम्बन्धी प्रहरी मुचुल्का, इन्धनसम्बन्धी अभिलेख (अडिट), भुक्तानी विवरण लगायत कागजातहरूको अध्ययन तथा विश्लेषण गरेको थियो।
मन्त्रालयका सह प्रवक्ता डा. समिरकुमार अधिकारीद्वारा सोमबार जारी विज्ञप्तिमा छानबिनबाट जलेका सवारी साधनको नाममा इन्धन दुरुपयोग भएको पुष्टि नभएको स्पष्ट पारेको छ । स्वास्थ्य मन्त्रीको आरोपले मन्त्रालयका कर्मचारीले मानसिक पीडासमेत व्यहोरेका छन् ।
मन्त्रालयका उपसचिव मित्र प्रसाद घिमिरेले जलेका सवारी साधनको नाममा कुपन बाँडिएको भन्ने निराधार हल्लाले आफू र आफ्नो परिवार निकै मानसिक पीडामा परेको उल्लेख गरेका छन् । उनले सामाजिक सञ्जालमा लेख्दै भने, ‘समय कठिन थियो-निराशा, पीडा र अनेक प्रश्नहरूबीच पनि मैले सत्यप्रतिको विश्वास कहिल्यै गुमाइनँ । आज, विस्तृत छानबिनपछि म निर्दोष साबित भए ।’
उनले सत्यको जित भएको दावी गरेका छन् ।

(हामीले प्रकाशन गरेका सामग्रीबारे प्रतिक्रिया, सल्लाह र सुझाव भए कृपया [email protected] मा पठाउन अनुरोध गर्दछौं ।)

