Harsamaya
वैशाख २२: सङ्‍घीय संसदको बैठक आव्हानदेखि संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारीसम्म
ग्राफिक्स : हर समय/Har Samaya

राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसद्का दुवै सदनको बैठक आह्वान गरेका छन् । राष्ट्रपति पौडेलले मन्त्रिपरिषद्को सिफारिसमा वैशाख २८ गते २ बजे बस्नेगरी बैठक आव्हान गरेका हुन् ।

देश-विदेशका महत्वपूर्ण घटनाक्रम, राजनीति, अर्थतन्त्र, समाज, खेलकुददेखि मनोरञ्जनसम्मका विषयहरूलाई समेट्दै हर समयले दिनभरका प्रमुख समाचारहरूको संक्षिप्त झलक प्रस्तुत गरेको छ । आजको दिनभर भएका चर्चित घटनाहरूको सारांश यहाँ पढ्न सक्नुहुन्छ । दिनको अन्त्यसँगै सबै खबर एकै ठाउँमा ।

राजनीति : बागमती प्रदेश सरकारले मन्त्रालयको सङ्ख्या घटाउने निर्णय गरेको छ । आज बसेको मन्त्रिपरिषद् बैठकले हाल रहेका १४ वटा मन्त्रालयलाई घटाएर आठ वटा कायम गर्ने निर्णय गरेको सरकारका प्रवक्ता एवम् आर्थिक मामिला तथा योजनामन्त्री प्रभात तामाङले जानकारी दिए । यता,  प्रधानमन्त्री बालेन्द्र शाहले विद्यार्थी संगठनहरूलाई ‘स्लिपर सेल’ भन्दै दिएको अभिव्यक्तिप्रति संयुक्त विद्यार्थी आन्दोलनले आपत्ति जनाएको छ। विभिन्न विद्यार्थी संगठनहरूले मंगलबार संयुक्त प्रेस वक्तव्य जारी गर्दै यस्तो टिप्पणीले विद्यार्थी आन्दोलनको ऐतिहासिक योगदानमाथि अपमान गरेको आरोप लगाएका छन्। यस्तै, सरकारले आगामी जेठ पहिलो सातादेखि समस्याग्रस्त सहकारीका बचतकर्ताको रकम फिर्ता गर्ने भएको छ । वैशाख ९ गते काम थालेको समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले सहकारी र बचतकर्ताको आवश्यक विवरण संकलन गरेर बचत रकम फिर्ता गर्ने तयारी गरेको हो । यता, राष्ट्रपति रामचन्द्र पौडेलले संवैधानिक परिषद सम्बन्धी अध्यादेश जारी गरेका छन् । राष्ट्रपति पौडेलले आज ‘संवैधानिक परिषद् (काम, कर्तव्य, अधिकार र कार्यविधि) (पहिलो संशोधन) अध्यादेश, २०८३’ जारी गरेका हुन् ।

समाचार : वैशाख महिनाको २२ दिनमा विपद्जन्य घटनामा परेर ४१ जनाले ज्यान गुमाएका छन् । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार वैशाख १ देखि हालसम्म विभिन्न प्रकृतिका आठ सय ६८ वटा विपद्का घटनामा परेर ४१ जनाको मृत्यु भएको हो । यता, सरकारले भारतीय पर्यटक तथा भारत भएर नेपाल भित्रिने अन्य देशका पर्यटकलाई सहजीकरण गर्न ‘अनलाइन’ सेवा सुरु गरेको छ । अर्थ मन्त्रालय मातहतको भन्सार विभागले स्थलमार्ग भएर नेपाल भित्रिने विदेशी सवारीसाधनले अनलाइनबाटै विवरण भर्न र राजस्व तिर्न सक्ने प्रणाली विकास गरेर सञ्चालनमा ल्याएको हो । उक्त प्रणालीको एक कार्यक्रमबीच अर्थमन्त्री डा स्वर्णिम वाग्लेले शुभारम्भ गरेको हो । यता, प्रधानमन्त्री बालेन शाहले शिक्षालय र कर्मचारीतन्त्रमा बढ्दो दलगत प्रभावप्रति भएको हुनले सुधारका लागि ठोस कदम चालिएको बताएका छन् । मंगलबार सामाजिक संजालमा लेख्दै उनले योग्यता र क्षमताभन्दा पहुँच र राजनीतिक निकटताको आधारमा अवसर बाँडिने प्रवृत्तिले राज्य प्रणालीप्रति जनविश्वास कमजोर बनाए । यस्तै, भारतद्वारा नेपाली भूमि लिपुलेकबाट अनधिकृतरूपमा कैलाश मानसरोवर तीर्थयात्री आवागमनमा बाटो खोल्ने निर्णय नेपालको सार्वभौमिकता, क्षेत्रीय अखण्डतामाथिको हस्तक्षेप भएको परराष्ट्रविद तथा सम्वद्ध क्षेत्रका विज्ञहरुले बताएका छन् । मंगलबार राजधानीमा अन्तरक्रिया गर्दै वक्ताहरुले महाकालीको उद्गम लिम्पियाधुरा पूर्वको नेपाली भूमि लिपुलेक माथिको भारतीय अतिक्रमण कुनै पनि शर्तमा स्वीकार्य नहुने धारणा व्यक्त गरेका हुन् ।

अपराध : पछिल्लो समय बैंक खाताबाट रकम चोरी हुने घटनामा वृद्धि हुँदै गएको भन्दै नेपाल प्रहरी साइबर ब्यूरोले सर्वसाधारणलाई उच्च सतर्कता अपनाउन आग्रह गरेको छ । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरिले आज जारी गरेको प्रेस विज्ञप्तिमा अज्ञात तथा आपराधिक गिरोहहरूले मोबाइल प्रयोगकर्ताहरूलाई लक्षित गरी ठगी गर्ने नयाँ तरिका अपनाइरहेको उल्लेख गरिएको छ । यता, साइबर ब्यूरो भोटाहिटीको टोलीले साइबर ब्यूरोको नाम लिएर अनलाइन घोटाला (ठगी) गर्ने गरेको अभियोगमा चार जनालाई पक्राउ गरी सार्वजनिक गरेको छ ।     पक्राउ पर्नेमा धनकुटा साँगुरीगढी गाउँपालिका–३ का ३० वर्षीय दीपक लिम्बू, सुनसरी धरान उपमहानगरपालिका–९ का २१ वर्षीय सौरव भुजेल, सोही उपमहानगरपालिका–१३ का २८ वर्षीय सजल राई तथा सुनसरी इनरुवा नगरपालिका–६ का २४ वर्षीय सृजन थापा रहेका प्रहरी प्रधान कार्यालय साइबर ब्यूरो भोटाहिटीका प्रवक्ता एवं प्रहरी उपरीक्षक दिलीपकुमार गिरीले जानकारी दिए । यस्तै,  प्रहरीले वैदेशिक रोजगारीमा विभिन्न देश पठाइदिने भन्दै लाखौँ रकम ठगी गर्ने तीन जनालाई पक्राउ गरी आज सार्वजनिक गरेको छ । पक्राउ पर्नेहरूमा काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–९ बस्ने सोलुखुम्बु सोलुदूधकुण्ड नगरपालिका–१ घर भएका ३१ वर्षीय शक्ति राई, काठमाडौँ बूढानीलकण्ठ नगरपालिका–११ बस्ने सिन्धुपाल्चोक पाँचपोखरी गाउँपालिका–१ घर भएकी ३९ वर्षीया विमला दोङ र काठमाडौँ गोकर्णेश्वर नगरपालिका–५ बस्ने ३१ वर्षीय रोशन तामाङ रहेका उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता एवं प्रहरी उपरीक्षक रामेश्वर कार्कीले जानकारी दिए ।

खेलकुद :  वैशाख १८ देखि धनकुटाको राजारानीमा जारी ‘१३औँ रारा रनिङ फुटबल प्रतियोगिता’ को उपाधि गत वर्षको विजेता बिर्तामोड युनाइटेड फुटबल क्लबले जितेको छ ।‘पेनाल्टी सुटआउट’मा आयोजकलाई ५–४ गोलको अन्तरले हराउँदै यूनाइटेड झापा विजयी भएको हो । जितसँगै युनाइटेडले रनिङ कपसहित नगद सात लाख पाएको छ भने उपविजेता आयोजक राराले तीन लाखमा चित्त बुझाएको छ । यता, आइसिसी पुरुष विश्वकप क्रिकेट लिग २ अन्तर्गतको त्रिकोणात्मक शृङ्खलामा नेपालले ओमानमाथि जित हासिल गरेको छ । कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आज भएको खेलमा नेपालले ओमानमाथि ८१ रनको जित हासिल गरेको हो ।

विश्व : इराकमा हालै आएको तीव्र धुलो आँधीका कारण देशभर ठूलो मात्रामा स्वास्थ्य समस्या देखिएको छ । इराकको स्वास्थ्य मन्त्रालयका अनुसार विभिन्न प्रान्तहरूमा कम्तीमा एक हजार १३३ जना मानिसहरूमा श्वासप्रश्वासमा समस्या (दम घुट्ने अवस्था) देखिएको हो । यी सबै घटना वायुमण्डलमा अत्यधिक धुलो र सूक्ष्म कणहरू मिसिँदा उत्पन्न भएको प्रदूषणका कारण भएको बताइएको छ । यस्तै, मध्यपूर्वमा जारी द्वन्द्वका कारण इन्धनको मूल्य बढेपछि अस्ट्रेलियामा घरपरिवारको खर्च उल्लेखनीय रूपमा वृद्धि भएको छ । आधिकारिक तथ्याङ्कअनुसार मार्च महिनामा घरपरिवारको खर्च १.६ प्रतिशतले बढेको छ । यो वृद्धि फेब्रुअरीमा भएको ०.३ प्रतिशत र जनवरीको ०.२ प्रतिशत वृद्धिपछि आएको हो । अस्ट्रेलियन ब्यूरो अफ स्टाटिस्टिक्स (एबीएस) का अनुसार मार्च २०२५ को तुलनामा खर्च ६.३ प्रतिशतले बढेको छ । यता, अन्तर्राष्ट्रिय मुद्रा कोषकी प्रमुख क्रिस्टालिना जर्जिएभाले मध्यपूर्वमा जारी युद्ध सन् २०२७ सम्म लम्बिएमा विश्व अर्थतन्त्रमा अझ गम्भीर प्रभाव पर्न सक्ने सम्भावना औंल्याएकी छिन् । वासिङ्टन डी.सी.मा आयोजित एक कार्यक्रममा बोल्दै उनले तेलको मूल्य प्रति ब्यारेल १२५ अमेरिकी डलरसम्म पुग्न सक्ने र यसले मुद्रास्फीति थप बढाउने संकेत गरिन् । 

प्रकाशित मिति: मंगलबार, वैशाख २२, २०८३  २२:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update