Harsamaya
मेलम्चीमा नगर स्तरीय वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता भोलिबाट

सिन्धुपाल्चोक - ‘स्वास्थ्यको लागि खेलकुद, राष्ट्रको लागि खेलकुद’ भन्ने मूल नारासहित मेलम्ची नगरपालिका–९, ज्यामिरेमा नगर स्तरीय वडा अध्यक्ष कप पुरुष भलिबल प्रतियोगिता भोलिबाट सुरु हुने भएको छ।

त्रिशक्ति युवा क्लबको आयोजनामा सञ्चालन हुने उक्त प्रतियोगिता २०८३ साल वैशाख १८ गतेदेखि २० गतेसम्म जनता माध्यमिक विद्यालयको प्राङ्गणमा सञ्चालन हुने आयोजक क्लबका अध्यक्ष कृष्ण गिरि ले जानकारी दिए। प्रतियोगितामा मेलम्ची नगरभित्रका विभिन्न वडाका टोलीहरूको सहभागिता रहने अपेक्षा गरिएको छ।

कार्यक्रममा प्रमुख अतिथिका रूपमा नगर प्रमुख आइतमान तामाङ तथा विशेष अतिथिका रूपमा उपप्रमुख उमा प्रधान को उपस्थिति रहने जनाइएको छ। साथै, वडा नं. ९ का अध्यक्ष किरणदीप खड्का को विशेष सक्रियतामा प्रतियोगिता आयोजना हुन लागेको हो।

प्रतियोगितामा प्रथम हुने टोलीले १ लाखसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछ भने द्वितीय हुने टोलीले ५० हजार तथा तृतीय हुने टोलीले २५ हजारसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गर्नेछन्।

स्थानीय स्तरमा खेलकुदको विकास, युवाहरूबीच आपसी सद्भाव र स्वास्थ्यप्रति जागरूकता अभिवृद्धि गर्ने उद्देश्यले प्रतियोगिता आयोजना गरिएको आयोजकले जनाएको छ। कार्यक्रमको आर्थिक व्यवस्थापन भने मेलम्ची नगरपालिका ले गरेको छ।

आयोजकका अनुसार प्रतियोगिताले स्थानीय प्रतिभा उजागर गर्नुका साथै खेलकुदप्रति युवाहरूको आकर्षण बढाउने विश्वास लिइएको छ।
 

प्रकाशित मिति: बिहीबार, वैशाख १७, २०८३  १६:३०
प्रतिक्रिया दिनुहोस्
Weather Update