काठमाडौं - आगामी मंसिर १६ देखि २७ गतेसम्म सञ्चालन हुने दसौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका ३२ खेलको खेलस्थल सार्वजनिक गरिएको छ। राष्ट्रिय खेलकुद परिषद्ले शनिबार प्रतियोगितामा समावेश खेल र तिनका खेलस्थल सार्वजनिक गरेको हो।
सार्वजनिक विवरणअनुसार सबैभन्दा बढी २२ खेल सुर्खेतमा सञ्चालन हुनेछन्। सुर्खेतमा एथ्लेटिक्स, महिला तथा पुरुष क्रिकेट, ह्यान्डबल, बास्केटबल, रग्बी, सेपाकताक्रो, हक्की, भलिबल र कबड्डी प्रतियोगिता आयोजना हुनेछन्।
त्यस्तै, कराते, ब्याडमिन्टन, फुल कन्ट्याक्ट कराते, टेबलटेनिस, उसु, तेक्वान्दो, जिम्न्यास्टिक, बक्सिङ, स्क्वास, आर्चरी, भारोत्तोलन, साइक्लिङ र इस्पोर्ट्सका खेल पनि सुर्खेतका विभिन्न स्थानमा सञ्चालन हुने राष्ट्रिय खेलकुद परिषद्का सदस्यसचिव रामचरित्र मेहत्ताले जानकारी दिएका छन्।
उनका अनुसार टेनिस बर्दियामा, महिला तथा पुरुष खोखो बर्दियामै, पौडी र सुटिङ नेपालगञ्जमा सञ्चालन हुनेछन्। त्यस्तै, जुडो र कुस्ती सल्यानमा, आइटिएफ तेक्वान्दो दैलेखमा तथा महिला र पुरुष फुटबलका सेमिफाइनल र फाइनल खेल जुम्लामा आयोजना गरिनेछ।
यसैगरी बुद्धिचाल कालीकोट र शारीरिक सुगठन रुकुमपश्चिममा सञ्चालन हुनेछ।
प्रतियोगिताअन्तर्गत सुर्खेतमा २२, सल्यानमा दुई, बाँकेमा दुई र बर्दियामा दुई खेल आयोजना हुनेछन्। त्यस्तै, जुम्ला, कालीकोट, दैलेख र रुकुमपश्चिममा एक–एक खेल सञ्चालन गरिने परिषद्ले जनाएको छ।
केही खेल मंसिर ८ गतेदेखि नै सुरु हुने भए पनि प्रतियोगिताको औपचारिक उद्घाटन भने मंसिर १६ गते गरिनेछ।
प्रतियोगितामा करिब नौ हजार जनाको सहभागिता रहने आयोजकले जनाएको छ। जसमा ६ हजार खेलाडी र तीन हजार पदाधिकारी तथा प्राविधिक अधिकारी सहभागी हुनेछन्।
कर्णाली प्रदेश खेलकुद विकास परिषद्का सदस्यसचिव रवीन्द्र चन्दले प्रतियोगिताको तयारी अन्तिम चरणमा पुगेको बताएका छन्।
प्रतियोगितालाई व्यवस्थित र प्रभावकारी बनाउन आयोजक मूल समारोह समितिसहित १४ वटा विभिन्न समिति गठन गरिएको उनले जानकारी दिएका छन्।

