Harsamaya
सिङिङ्ग सुपरस्टार सिजन २ मा नेपाली सहित भारतीय प्रतिस्पर्धीहरू सहभागी
संगीतकार सञ्जय श्रेष्ठ, अनुभवी संगीतकार र गायक हरिश माथेमा, युवा पुस्ताका लागि प्रेरणादायी गायक तथा संगीतकार विवेक श्रेष्ठ ।

काठमाडौं - सिङिङ्ग सुपरस्टार टिमले नेपाली संगीतको उन्नयन र नयाँ प्रतिभाहरूको खोजको लागि सिङिङ्ग सुपरस्टार सिजन २ को घोषणा गरेको छ । टिमका अनुसार पहिलो सिजनको अपार सफलतापछि उत्साह र जोसलाई निरन्तरता दिँदै सिजन २ को घोषणा गरेको हो ।

यस सिजनको निर्णायक मण्डलमा नेपाली पप गायक तथा संगीतकार सञ्जय श्रेष्ठ, अनुभवी संगीतकार र गायक हरिश माथेमा, युवा पुस्ताका लागि प्रेरणादायी गायक तथा संगीतकार विवेक श्रेष्ठ सहित हरेक हप्ता एक जना अतिथि निर्णायक रहनेछन् । सिङिङ्ग सुपरस्टार सिजन २ को निर्देशन रवि श्रेष्ठले गर्नेछन् । उनले यस भन्दा अगाडि मुन्द्रेको कमेडी क्लब, नेपाल स्टार जस्ता सफल रियालिटी शोहरुको निर्देशन गरिसकेका छन् ।

सिङिङ्ग सुपरस्टार सिजन २ ले नेपाली मात्र नभई भारतीय प्रतिस्पर्धीहरूलाई पनि स्वागत गर्दै दुई देशबिचको सांगीतिक सेतु बन्ने प्रयास गर्नेछन् । सिजन २ मा प्रतिस्पर्धा प्रारम्भ डिजिटल अडिसनबाट गरिएको छ भने देश विदेशबाट अनलाइन आवेदन संकलन गरी हजारौँ प्रतिभाहरूले आफ्नो गायन कला प्रस्तुत गरेका थिए । डिजिटल अडिसनको गहन मूल्याङ्कन पछि, फिजिकल अडिसनको चरणबाट  उत्कृष्ट ४० प्रतिस्पर्धी छनोट गरिएका छन् । फिजिकल अडिसनको प्रसारण चाँडै नै टेलिभिजन र डिजिटल मञ्चमा हुनेछ।

फिजिकल अडिसन सम्पन्न भएपछि, सिङिङ्ग सुपरस्टार सिजन २ को ग्रान्ड प्रीमियर आयोजना गरिने आयोजन टिमले जानकारी दिएको छ । ग्रान्ड प्रीमियर पश्चात् प्रतिस्पर्धीहरू निर्णायक मण्डलको मात्र नभई दर्शकहरूको पनि समर्थनका लागि प्रस्तुत हुनेछन् र उनीहरुको प्रस्तुतिको दर्शकिय मुल्यांकनका लागि भोटिङ राउन्ड सुरु हुनेछ ।

प्रकाशित मिति: शुक्रबार, जेठ २, २०८२  १०:१५
प्रतिक्रिया दिनुहोस्
Weather Update