काठमाडौँ - जनकपुरको माटोबाट जन्मिएको मिथिला कला आज काठमाडौँको कला बजारसम्म आइपुग्दा आफ्नो मौलिकता, संस्कृति र पहिचानलाई जीवन्त बनाइरहेको छ ।
लोकजीवन, धार्मिक आस्था र परम्परागत संस्कृतिका रङहरूले सजिएको मिथिला चित्रकलालाई चित्रकार हरेराम यादवले ‘सिराहादेखि काठमाडौँ’ शीर्षकको एकल प्रदर्शनीमार्फत राजधानीमा प्रस्तुत गरेका छन् । प्रदर्शनीमा मिथिला सभ्यता, लोकपर्व र सामाजिक जीवनका विविध आयामलाई कलात्मक ढङ्गले चित्रण गरिएको छ ।
सिराहा लहानका हरे राम यादवले ललित कला क्याम्पसबाट मास्टर डिग्री गरे । अनि खोज्न थाले कलामा जीवन । उनले मिथिलाका कला, संस्कृतिलाई चित्रमा उतारे । मधेशका विभिन्न चाडपर्वलाइ क्यानभासमा उतारे । अहिले उनको एकल चित्रकला प्रदर्शनी भइरहेको छ ।
काठमाडौं आर्ट ग्यालरीमा ‘सिराहादेखि काठमाडौँ’शीर्षकमा यादवका चित्रकला प्रदर्शनीमा राखिएको छ । मिथिला चित्रकलालाई केन्द्रमा राखेर उनले पहिलो एकल चित्रकला प्रदर्शनी गरेका छन् । उनै यादवसँग उनको कलायात्राबारे गरेको कुराकानी ।
१) ‘सिराहादेखि काठमाडौं’ शीर्षकको यो प्रदर्शनीको मुख्य सन्देश के हो ? यस शीर्षकले तपाईंको कलायात्रालाई कसरी प्रतिनिधित्व गर्छ?
‘सिराहादेखि काठमाडौं’ नामक चित्रकला प्रदर्शनीमा सबै विषय वस्तुहरू सिराहाकै उठाएको छु । सिराहाकै कुराहरू काठमाडौं आर्ट ग्यालरीमा प्रस्तुत गरेको छु । यसमा बढी आफ्नो लोक देवीदेवताहरुलाई दर्शाएको छु । अनि दैनिकी जीवनहरु दर्शाएको छु । जस्तै खाना पकाउने, धान काट्ने, दैनिकी जीवनहरू हुन्छ त्यो कुराहरु प्रस्तुत गरेको छु ।
२) प्रदर्शनीमा छठ, गोवर्धन पूजा, सामा–चकेवा र झिझिया नृत्यजस्ता मिथिला संस्कृतिका विषय समेट्नुभएको छ, यी विषय छनोट गर्नुको विशेष कारण के हो?
यो छठ, गोवर्धन, झिझिया र सामा–चकेवा मेरो चित्रहरुमा बढी प्रयोग गरिएको छ । म सानो हुदाँ गाउँघरतिर प्रत्येक महिना दिनमा यी पर्वहरू मनाइन्थ्यो । तर हामीले मतलब नै गर्दैनथ्यौं । खासै प्रभाव गाउँ-समाजमा पनि देखिदैंनथ्यो । तर जब पढाईको कुराहरू आउँछ त्यसमा हामीले आफूलाई देख्छौं । आफू भित्र के छ त्यसैलाई उतार्न खोज्छौं । त्यहीँ भएर मेरो यी विषय वस्तुहरु थियो र मैले आफ्नो चित्रमार्फत यहीँ कुराहरुलाई प्रस्तुत गरेको छु ।
३) मिथिला कला भित्तेचित्रबाट क्यानभाससम्म आइपुगेको छ । तपाईंको विचारमा आधुनिक पुस्ताले मिथिला कलालाई कसरी बुझ्न र संरक्षण गर्न सक्छ?
मिथिला कला, भित्ते कला आँगनहरुमा गरिने कला हो । तर अहिले हाल क्यानभाससम्म आइसकेको छ । क्यानभास धेरै कुराहरुमा आइसकेको छ जस्तै लुगाहरुमा, साडीहरुमा आइसकेको छ । र अहिलेको पुस्ताहरुले यो कलालाई विभिन्न क्षेत्रमा पनि प्रयोग गरिरहेको छ । जस्तै कुनै पनि कार्यक्रममा त्यो प्रमोट गर्नको लागि पोस्टरहरूमा मिथिल्ला आर्टकै प्रयोग गरेको हुन्छ । धेरै चिया क्याफेहरुमा मिथिलाकै विषयवस्तुहरुको चित्र बनाएको हुन्छ । विषयवस्तु फरक भए पनि मिथिला चित्रकलाको शैली प्रयोग गरेको हुन्छ । क्याफेहरू तिर मिथिला चित्र एकदम मनपराई रहेको छ ।
अब यसको संरक्षण गर्नका लागि हामीले काम गर्नु पर्यो । कला निर्माण गर्नुपर्यो । तर यो क्यानभाससम्म आएको छ । अब यसलाई प्रमोसन गर्न टिसर्ट, बाइक, हेल्मेटमा पनि उतार्नुपर्यो । मेरो पेंटिंग पनि छ हेल्मेटमा मिथिला चित्र भएको । मैले त्यो चित्रमा जस्तै चस्माहरु लगाएको छ । स्कुटीहरु पनि छ । हेल्मेटमा मैले मिथिल्ला कला प्रयोग गरेको छु । ड्रेसहरुमा मैले मिथिल्ला कला प्रयोग गरेको छु । जस्तै म यहाँबाट बाहिर गए पनि म जे छु त्यहीँ गर्न पर्छ भन्ने छैन त्यो अली-अली भए पनि मैले सिम्बोलहरु लिएर जहाँ पनि जान सक्छु ।
४) हिमालयन लाइटआर्ट अवार्ड प्राप्त गरेपछि यो प्रदर्शनी आयोजना गर्नुभएको हो ? उक्त सम्मानले तपाईंको सिर्जना र आगामी योजनामा कस्तो प्रभाव पारेको छ?
यो हिमालयन लाइटआर्ट अवार्डबाट यो आयोजना गरिएको हो । यही अवार्ड द्वारा प्रदर्शनी आयोजना गरिएको छ । यो आयोजन गर्दा खेरी दर्शकहरु धेरै आउनु भएको छ । चित्रहरु मन पराउनु भएको छ । राम्रो राम्रो कमेन्टहरु आएका छन् । अझै मलाई उर्जा जाँगर आइरहेको छ नयाँ कामहरु गरौं । अझै नयाँ शीर्षकहरुमा काम गरौं सिरिज बनाएर ।
५) काठमाडौंका दर्शकबाट कस्तो प्रतिक्रिया पाउनुभएको छ ? भविष्यमा मिथिला कलालाई अन्तर्राष्ट्रिय स्तरमा प्रवर्द्धन गर्ने तपाईंको योजना के छ?
काठमाडौंका दर्शकहरुलाई बुझाउन गार्हो छ । तर हामीले बुझाउँदा राम्ररी बुझ्नु हुन्छ । उहाँहरुले कलरहरु, प्याटर्नहरु एकदमै मन पराउनु भएको छ । चित्रहरुलाई एकदमै मन पराएर अझै उर्जा दिनु भएको छ । कयौंले चित्रकला किनेर थप हौसला दिनु भएको छ ।
अन्त्यमा के भन्नु हुन्छ ?
‘सिराहादेखि काठमाडौँ’ नामक चित्रकला पर्दशनी काठमाडौँ बबरमहल स्तिथ सिद्धार्थ आर्ट ग्यालरीमा भैरहेको छ । यो चित्रकला प्रदशनी २०८३ जेठ १३ गते देखि २६ गते सम्म हुनेछ । यो प्रदशनीमा मैले जम्मा २८ वटा चित्रहरु प्रस्तुत गरेको छु । जुन सबै क्यानभासमा छन् । यसमा आध्यात्मिक, लोक आध्यात्मिक र दैनिकी जीवनहरुलाई विषयवस्तुमा प्रयोग गरेको छु। भने प्याटर्नहरुमा मैले मिथिला आर्टहरुलाई प्रयोग गरेको छु । बुट्टाहरु यहाँको सांकेतिक कुराहरुलाई प्रयोग गरेको छु र रंगहरु पनि मैले मिथिलाकै कलरहरु रातो , चहकिलो ओरेन्ज कलरहरू बढी फोकस गरेको छु ।
तसर्थ, तपाईहरू प्रदशनी हेर्न इच्छुक हुनुहुन्छ भने यहाँ आउनु होला बिहान ११ बजे देखि बेलुकी ५ बजे सम्म प्रदशनी हुनेछ । शनिबार भने १२ बजेबाट प्रदशनी हुनेछ । यदि तपाईं मिथिला कलाप्रति रुचि राख्नुहुन्छ भने यी कलाकृतिहरू तपाईंका लागि उत्कृष्ट छनोट बन्न सक्छन् । मिथिला चित्रकला केवल सजावट मात्र नभई हाम्रो संस्कृति, परम्परा र सिर्जनशीलताको प्रतीक पनि हो। यी कलाकृतिहरू तपाईंको घर, कार्यालय, क्याफे वा अन्य व्यावसायिक स्थानको सौन्दर्य बढाउने अनुपम संग्रह हुन सक्छन्।
तस्वीरहरु :-

