काठमाडौं - थारु कला संस्कृति संरक्षण गर्न मङ्गलवार देखी चितवनको खैरहनीमा ‘११औँ खिचरा महोत्सव–२०८२’ सुरु भएको छ ।
खैरहनी नगरपालिका वडा नं. ५ को गौचरनमा थारु कल्याण कारिणी सभा चितवन क्षेत्र नं ७ ले आयोजना गरेको महोत्सव माघ १० गतेसम्म चल्ने छ । चितवनका थारु समुदायले खिचरा पर्वलाई नयाँ वर्षको रूपमा मनाउने गरेका छन् ।
थारु समुदायको सांस्कृतिक, वेशभूषा, भाषा–साहित्य, कला–संस्कृति एवं थारु खानाका परिकारको संरक्षण तथा प्रवर्द्धन गर्ने उद्देश्यले महोत्सव आयोजना गरिएको हो । ‘राष्ट्रिय एकता र विविधता हाम्रो शान, बहु जाति, भाषा, संस्कृति नेपालको पहिचान’ भन्ने मूल नाराका साथ आयोजना गर्न लागिएको महोत्सवमा एक सय ५० स्टल रहेका छन् ।
महोत्सवमा उद्योग, व्यापार, कृषि तथा पर्यटनको प्रवर्द्धन, स्थानीय कला संस्कृतिको प्रवर्द्धन, स्थानीय स्तरमा उत्पादित वस्तुको प्रवर्द्धन एवं शैक्षिक, वित्तीय संस्था र विभिन्न सङ्घ/संस्थाका स्टल रहेको छ । यस्तै महोत्सव परिसरमा थारु कलासंस्कृति झल्किने आर्ट ग्यालरी समेत निर्माण गरिएको छ ।

