Harsamaya
जापानी वरिष्ठ फोटो पत्रकार तोकाओकाका ३० तस्बिर प्रदर्शनीमा
जापानी वरिष्ठ फोटो पत्रकार नोबोरु तोकाओका । तस्वीर : सक्षम घिमिरे

काठमाडौं - जापानी वरिष्ठ फोटो पत्रकार नोबोरु तोकाओकाले नेपालमा खिचेका तथा जापानको सांस्कृतिक परम्परा झल्काउने तस्बिरहरू काठमाडौंमा प्रदर्शनीमा राखिएको छ ।

सोमबार जापानी वरिष्ठ फोटो पत्रकार तोकाओकाका करिब ३० वटा तस्बिर प्रदर्शनीमा राखिएका हुन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा तीजको अवसर पारेर हेरिटेज प्यालेसमा उनको एकल फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राज वन्तले जापानको सांस्कृतिक परम्परा र कला–सम्पदालाई तस्बिरमार्फत नेपाली दर्शकमाझ चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।

उनले भने, ‘आज हामीले जापानबाट आउनुभएका वरिष्ठ, सिनियर फोटो पत्रकार तोकाओकाको जुन फोटो हामीले यहाँ प्रदर्शन गरिरहेका छौं, र यो तीजको दिन पारेर एउटा फेस्टिभललाई, जापानको एउटा फेस्टिभललाई उहाँले खिच्नुभएको यो सुन्दर तस्बिरहरूको लागि चाहिँ हामीले आज राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा उहाँको एउटा सोलो फोटो एक्जिबिसन गर्दैछौं।’

उनका अनुसार प्रदर्शनी दुई देशबीचको कला, संस्कृति र सम्पदा आदानप्रदान गर्ने माध्यमसमेत हो । ‘एउटा सांस्कृतिक परम्परालाई चाहिँ एक्सचेन्जको रूपमा, हैन किनभने एक देशले अर्को देशले आफ्नो–आफ्नो कला, संस्कृति, सम्पदाहरूलाई पहिचान गराउने, चिनाउने माध्यमको रूपमा हामीले फोटोलाई लिइरहेका छौं,’ उनले भने ।

अध्यक्ष वन्तले विभिन्न देशका फोटो पत्रकारलाई नेपालमा निमन्त्रणा गरेर फोटो प्रदर्शनी गर्दै आएको र आगामी दिनमा नेपाली फोटोहरू जापानमा लगेर प्रदर्शन गर्ने योजना रहेको बताए ।

‘हरेक वर्ष र हरेक समय हामीले डिफ्रेन्ट–डिफ्रेन्ट कन्ट्रीहरूको फोटो जर्नालिस्टहरूलाई नेपालमा निमन्त्रणा गरेर यसरी फोटो प्रदर्शनी गर्न पाउँदा हामीलाई एकदमै खुसी लागेको छ। र किनभने हामीले पनि हाम्रो देशको फोटोहरू भोलि जापानमा लगेर पनि यसरी नै प्रदर्शन गर्नेछौं,’ उनले भने ।

उनले फोटो पत्रकारिता दुई देशबीचको सम्बन्ध विस्तार गर्ने माध्यम बन्न सक्ने बताए । ‘यो संस्था बीचको, दुई संस्था बीचको फोटो भाइचारा सम्बन्धले, फोटोले नै भाइचारा सम्बन्ध स्थापित गरेर एउटा फ्रेन्डसिपको माध्यमबाट यसलाई एक्स्पान्ड गर्ने हो,’ उनले भने ।

प्रदर्शनीमा जापानको रथयात्रा तथा सांस्कृतिक परम्परा झल्काउने तस्बिरहरू राखिएको छ । अध्यक्ष वन्तले नेपाली दर्शकले प्रदर्शनीमार्फत जापानको संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाउने बताए ।

‘त्यसकारण हामीले हाम्रो कल्चरसँगसँगै अरू देशको कल्चर पनि कस्तो हुन्छ भनेर एक खालको एउटा रथयात्राको यो फोटो देख्न सकिन्छ यहाँनिर तपाईंले,’ उनले भने ।

हेरिटेज प्यालेसमा आयोजना गरिएको प्रदर्शनीमा जापानको रथयात्रासँग सम्बन्धित करिब ३० वटा सांस्कृतिक तस्बिर राखिएको छ । अध्यक्ष वन्तले फोटो पत्रकारहरूको संस्थागत सहकार्य र दर्शकको साथ तथा सहयोगले यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update