Harsamaya

काठमाडौं - जापानी वरिष्ठ फोटो पत्रकार नोबोरु तोकाओकाले नेपालमा खिचेका तथा जापानको सांस्कृतिक परम्परा झल्काउने तस्बिरहरू काठमाडौंमा प्रदर्शनीमा राखिएको छ ।

सोमबार जापानी वरिष्ठ फोटो पत्रकार तोकाओकाका करिब ३० वटा तस्बिर प्रदर्शनीमा राखिएका हुन् । राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा तीजको अवसर पारेर हेरिटेज प्यालेसमा उनको एकल फोटो प्रदर्शनी आयोजना गरिएको हो ।

राष्ट्रिय फोटो पत्रकार समूहका अध्यक्ष प्रदीप राज वन्तले जापानको सांस्कृतिक परम्परा र कला–सम्पदालाई तस्बिरमार्फत नेपाली दर्शकमाझ चिनाउने उद्देश्यले प्रदर्शनी आयोजना गरिएको बताए ।

उनले भने, ‘आज हामीले जापानबाट आउनुभएका वरिष्ठ, सिनियर फोटो पत्रकार तोकाओकाको जुन फोटो हामीले यहाँ प्रदर्शन गरिरहेका छौं, र यो तीजको दिन पारेर एउटा फेस्टिभललाई, जापानको एउटा फेस्टिभललाई उहाँले खिच्नुभएको यो सुन्दर तस्बिरहरूको लागि चाहिँ हामीले आज राष्ट्रिय फोटो पत्रकार समूहको आयोजनामा उहाँको एउटा सोलो फोटो एक्जिबिसन गर्दैछौं।’

Tokaoka-Japnease-1789385727.jpg
जापानी वरिष्ठ फोटो पत्रकार नोबोरु तोकाओका । तस्वीर : सक्षम घिमिरे

उनका अनुसार प्रदर्शनी दुई देशबीचको कला, संस्कृति र सम्पदा आदानप्रदान गर्ने माध्यमसमेत हो । ‘एउटा सांस्कृतिक परम्परालाई चाहिँ एक्सचेन्जको रूपमा, हैन किनभने एक देशले अर्को देशले आफ्नो–आफ्नो कला, संस्कृति, सम्पदाहरूलाई पहिचान गराउने, चिनाउने माध्यमको रूपमा हामीले फोटोलाई लिइरहेका छौं,’ उनले भने ।

अध्यक्ष वन्तले विभिन्न देशका फोटो पत्रकारलाई नेपालमा निमन्त्रणा गरेर फोटो प्रदर्शनी गर्दै आएको र आगामी दिनमा नेपाली फोटोहरू जापानमा लगेर प्रदर्शन गर्ने योजना रहेको बताए ।

‘हरेक वर्ष र हरेक समय हामीले डिफ्रेन्ट–डिफ्रेन्ट कन्ट्रीहरूको फोटो जर्नालिस्टहरूलाई नेपालमा निमन्त्रणा गरेर यसरी फोटो प्रदर्शनी गर्न पाउँदा हामीलाई एकदमै खुसी लागेको छ। र किनभने हामीले पनि हाम्रो देशको फोटोहरू भोलि जापानमा लगेर पनि यसरी नै प्रदर्शन गर्नेछौं,’ उनले भने ।

उनले फोटो पत्रकारिता दुई देशबीचको सम्बन्ध विस्तार गर्ने माध्यम बन्न सक्ने बताए । ‘यो संस्था बीचको, दुई संस्था बीचको फोटो भाइचारा सम्बन्धले, फोटोले नै भाइचारा सम्बन्ध स्थापित गरेर एउटा फ्रेन्डसिपको माध्यमबाट यसलाई एक्स्पान्ड गर्ने हो,’ उनले भने ।

प्रदर्शनीमा जापानको रथयात्रा तथा सांस्कृतिक परम्परा झल्काउने तस्बिरहरू राखिएको छ । अध्यक्ष वन्तले नेपाली दर्शकले प्रदर्शनीमार्फत जापानको संस्कृति र परम्पराबारे बुझ्ने अवसर पाउने बताए ।

‘त्यसकारण हामीले हाम्रो कल्चरसँगसँगै अरू देशको कल्चर पनि कस्तो हुन्छ भनेर एक खालको एउटा रथयात्राको यो फोटो देख्न सकिन्छ यहाँनिर तपाईंले,’ उनले भने ।

हेरिटेज प्यालेसमा आयोजना गरिएको प्रदर्शनीमा जापानको रथयात्रासँग सम्बन्धित करिब ३० वटा सांस्कृतिक तस्बिर राखिएको छ । अध्यक्ष वन्तले फोटो पत्रकारहरूको संस्थागत सहकार्य र दर्शकको साथ तथा सहयोगले यस्ता कार्यक्रमलाई निरन्तरता दिन प्रेरणा मिलेको बताए ।

प्रकाशित मिति: सोमबार, भदौ २९, २०८३  १७:२१
प्रतिक्रिया दिनुहोस्
Weather Update