Harsamaya
बबरमहल ममताले भरियो: बोल्दैन तर छुन्छ
ग्राफिक्स : हर समय/Har Samaya

चुपचाप बोल्छन् - रङहरू, आकारहरू, संवेदना
क्यानभासका काखमा उर्लन्छन् कथा, सुनाउँछन् आत्मा
अस्मिता, श्रद्धा, इरीना, रेचल, उज्ज्वला...
यी नामहरू बनेका छन् भावनाका भाष्यकर्ता
तृप्ति, सृष्टि, प्रतिभा - कोरिरहेका छन् मौनता भित्रको हुंकार
ढुङ्गा बुनिन्छ यहाँ - शब्दले होइन, अनुभूतिले
बेलुकाको उज्यालोमा, बिहानको शान्तिमा
नेपाल आर्ट काउन्सिलको कक्षमा फिजिन्छ एक अनौठो माया
‘पेटका केही कुरा’- केवल कला होइन, यो आत्मा भेट्ने ठेगाना...

कलाको संसारमा शब्द, चित्र, ध्वनि, चलचित्र र अनुभूतिको एकैसाथ उपस्थितिले दर्शकको मन छोएको छ । जहाँ भावना केवल देखाइएका छैनन् । भोगाइएका छन् । यसपटक काठमाडौंको बबरमहलस्थित आर्ट ग्यालरीमा भइरहेको ‘मुभिङ इमेज साउथ एसिया’ परियोजनाको प्रदर्शनीले पितृ सत्ताको प्रभाव, आमा-छोरीको सम्बन्ध र सामाजिक संरचनाले महिलामा पार्ने प्रभावमाथि गहिरो चर्चा चलाएको छ।

कुराकानीको मूल केन्द्रमा रहिन् – कलाकार बुनु ढुंगाना। ‘आमा भनेको भगवान् हो, तिमी ज्ञानी छोरी हुनुपर्छ’ – समाजका यस्ता मौन आदर्शहरूले आमाको भूमिकामा मात्र होइन, छोरीको यात्रामा समेत अनेकौँ द्वन्द्व सिर्जना गर्छन्। यही अन्तर द्वन्द्वलाई कलामार्फत दृश्यमा रूपान्तरण गर्दै बुनुले विभिन्न विधामा काम गर्ने महिला कलाकारहरूलाई एकै ठाउँमा ल्याएर अनौठो तर सशक्त सिर्जना प्रस्तुत गरेकी छिन्।

‘यो केवल आमा–छोरीको कथा होइन, यो हामी सबैको कथा हो’, ढुंगाना भन्छिन्। उनको अनुभवमा महिलाले कलामा आफ्नो पहिचान बनाउने प्रयासमा अझै पनि अनेकौँ सामाजिक दबाब र असुरक्षासँग जुध्नुपर्छ। ‘आर्टिस्ट हुँ भनेर आफैलाई भन्न मलाई धेरै समय लाग्यो’, उनी विगत सम्झिन्छिन्।
4-1746889826.jpg

प्रदर्शनीमा अश्मिता वादी (कविता),श्रद्धा देवकोटा (फोटोग्राफी र भिडियो), एलिना गिरी (साउण्ड), तृप्ति तामाङ पाख्रिन (चलचित्र), उज्ज्वला महर्जन (कविता तथा परफर्मेन्स), श्रृष्टि श्रेष्ठ (चित्रकलामा) र प्रतिभा तुलाधर (लेखन)लगायत कलाकारहरू सहभागी छन् । यी सबै कलाकारहरूको सिर्जनालाई बुनु ढुंगानाले एउटा सम्वादात्मक संरचनामा समेटेकी छिन्।

प्रदर्शनीमा राखिएको ‘लेटर कर्नर’ जहाँ दर्शकहरूलाई आफ्नो आमालाई पत्र लेख्न आमन्त्रित गरिएको थियो  । यसले धेरै दर्शकको मन छोयो। चिठीहरू लेखिए, केही टाँसिए, केही बाकसमा हाले, केही च्यातिए। भावनाको मुक्त प्रवाह झल्किने यो प्रदर्शनीले भावनात्मक पक्षलाई अझ प्रगाढ बनायो।

‘कलात्मक माध्यमको पनि सीमा हुन्छ’, भन्छिन् बुनु। त्यसैले उनले चलचित्र, फोटोग्राफी, पेन्टिङ, ध्वनि, कविता सबै विधालाई एकैसाथ प्रस्तुत गरेर एक सम्वादको सम्भावना खोजेकी हुन् । 
5-1746889826.jpg

नेपालमा कला–संरचना र संस्थागत सपोर्टको अभाव महसुस भए तापनि बुनुलाई आशा छ, कला गरेर बाँच्न सकिन्छ भन्ने  । उनी भन्छिन्, ‘तर म यसलाई रुमानीकृत गर्न चाहन्न। चुनौतीका बीचमा काम गर्न सक्ने सामर्थ्य हामीमा छ।’

प्रदर्शनी ब्रिटिश काउन्सिलको सहयोगमा गरिएको हो । साथै लक्स र आर्ट साउथ एसिया प्रोजेक्टले पनि साथ दिएका छन्। यस परियोजनाको अर्को संस्करण बंगलादेशमा भइरहेको छ भने भारत, पाकिस्तान र श्रीलंकामा पनि विस्तार हुँदैछ।

बुनु ढुंगाना र उनको समूहमार्फत सिर्जित यो प्रदर्शनी केवल हेर्ने वस्तु होइन, महसुस गर्नुपर्ने अनुभव हो। यो प्रदर्शन वैशाख २० देखि जेठ २ गते (शुक्रबार)सम्म चल्नेछ।

6-1746889835.jpg
7-1746889835.jpg
8-1746889917.jpg

प्रकाशित मिति: शनिबार, वैशाख २७, २०८२  २०:४१
प्रतिक्रिया दिनुहोस्
Weather Update