Harsamaya
मेडिकलबाटै लागू औषधको कारोबार, सञ्चालक पक्राउ
प्रतिकात्मक तस्वीर : हर समय/Har Samaya

रौतहट -  रौतहटको चन्द्रपुर नगरपालिका १० चेतनगर स्थित प्रहरीले एक मेडिकलबाट ठूलो परिमाणमा लागू औषध बरामद गरी सञ्चालकलाई पक्राउ गरेको छ।

पक्राउ पर्नेमा मौलापुर नगरपालिका ४ का २९ वर्षीय जितेन्द्र साह रहेको ईलाका प्रहरी कार्यालय चन्द्रिगाहपुरका प्रमुख डिएसपी राजकुमार राईले बताएका छन्।

आरोपी साहले बिना दर्ता पछिल्लो केही महिनादेखि चेतनगरमा फार्मेसी खोलेर लागू औषधको कारोबार गर्दै आएका थिए।  साहले औषधी व्यवसायको नाममा लुकिछिपी लागू औषधको कारोबार गर्दै आएको सूचनाको आधारमा प्रहरीले रेकी गर्दै आएको र आज छापा मारको डिएसपी राईले बताए । 

आइतबार ईलाका प्रहरी कार्यालय चन्दरनिगाहपुरबाट सादा पोसाकमा खटिएको प्रहरी टोलीले छापा मारेको थियो । छापा मार्दा उक्त मेडिकलबाट प्रतिबन्धित लागू औषध ट्रामाडोलका ४ हजार ५ सय क्याप्सुल बरामद गरिएको डिएसपी राईले जानकारी दिए । 

आरोपी जितेन्द्र साहले भारतीय बजारबाट लुकिछिपी प्रतिबन्धित नशालु ट्याब्लेट क्याप्सुल ल्याएर मेडिकलमा भण्डारण गरेर राख्ने गरेका थिए। पछि आफ्नो सुविधा अनुसार बागमती, चन्द्रनिगाहपुर क्षेत्रका युवाहरूलाई महंगो मूल्यमा बिक्री गर्नुका साथै राजधानी काठमाडौंसम्म पुर्याउने गरेको अनुसन्धानबाट खुलेको डिएसपी राईले बताए । 

चन्द्रपुर नगरपालिका अन्तर्गतका सम्पूर्ण मेडिकल सञ्चालकलाई बोलाएर छलफल गरी लागू औषध कारोबार नगर्न तथा नियन्त्रणमा सहयोग गर्न अनुरोध गरिएको थियो। अनुरोध पछि विगतमा त्यस्ता कारोबार गर्नेहरूले अहिले छोडेका छन्। तर कतै दर्ता नै नभएका केही औषधी पसलेले प्रतिबन्धित लागू औषध बिक्री गरिरहेको गुनासोको आधारमा साहलाई पक्राउ गरी कारबाहीको दायरामा ल्याएको तथा अन्यको निगरानी भइरहेको डिएसपी राईले बताए। 

आरोपी जितेन्द्र माथि लागू औषध सम्बन्धी मुद्दा दायर गरी थप अनुसन्धान भइरहेको ईलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरले जनाएको छ ।

प्रकाशित मिति: आइतबार, वैशाख २१, २०८२  १८:५२
प्रतिक्रिया दिनुहोस्
Weather Update