दाङ - दाङ जिल्लाका विभिन्न सामुदायिक वनमा लुकाइछिपाइ राखिएका १४ थान अवैध भरुवा बन्दुक प्रहरीले बरामद गरेको छ ।
जिल्ला प्रहरी कार्यालय दाङका अनुसार विशेष सूचनाका आधारमा २०८३ कार्तिक १६ गते बिहान ५ बजेदेखि ९ बजेसम्म सञ्चालन गरिएको विशेष प्रहरी अभियानका क्रममा जिल्लाका विभिन्न स्थानबाट बन्दुक बरामद गरिएको हो ।
प्रहरी टोलीले विभिन्न सामुदायिक वनका झाडीमा लुकाइछिपाइ राखिएका बन्दुक फेला पारेको जिल्ला प्रहरी कार्यालय दाङले जनाएको छ ।
इलाका प्रहरी कार्यालय हापुरेबाट खटिएको टोलीले बबई गाउँपालिका–५ स्थित खयरभट्टीको सिमौरा सामुदायिक वनबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ ।
त्यस्तै, इलाका प्रहरी कार्यालय कमिरेचौरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–२ स्थित सुनखरी सामुदायिक वनबाट एक थान बन्दुक बरामद गरेको छ । प्रहरी चौकी हाँसीपुरबाट खटिएको टोलीले बंगलाचुली गाउँपालिका–६ स्थित पाँचपोखरीको न्यू कालिका सामुदायिक वनबाट एक थान भरुवा बन्दुक फेला पारेको छ ।
प्रहरी चौकी पुरन्धाराबाट खटिएको टोलीले बबई गाउँपालिका–२ स्थित सुवाखोरे सामुदायिक वनबाट एक थान बन्दुक बरामद गरेको छ ।
यसैगरी, अस्थायी प्रहरी पोष्ट कालाकाटेबाट खटिएको टोलीले गढवा गाउँपालिका–१ स्थित रैसिङखोलाको बगर नजिकको वनबाट पाँच थान भरुवा बन्दुक बरामद गरेको छ । बरामद बन्दुकमध्ये चार थान एकनाले सावुत र एक थान बेसावुत रहेको प्रहरीले जनाएको छ ।
अस्थायी प्रहरी पोष्ट नर्तीबाट खटिएको टोलीले लमही नगरपालिका–३ स्थित नारायणपुर सामुदायिक वनबाट एक थान भरुवा बन्दुक बरामद गरेको छ ।
विभिन्न स्थानबाट बरामद गरिएका १४ थान अवैध भरुवा बन्दुकबारे प्रहरीले थप अनुसन्धान गरिरहेको जनाएको छ ।

