पर्वत - पर्वतको कुश्मास्थित प्रदेश अस्पतालमा ड्युटीमा खटिएकी नर्सलाई हातपात तथा दुर्व्यवहार गरेको आरोपमा एक युवक पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय पर्वतका अनुसार कुश्मा नगरपालिका–२ खुर्कोट निवासी २७ वर्षीय दीपक शर्मालाई पक्राउ गरिएको हो।
प्रहरीका अनुसार २०८३ कात्तिक १५ गते राति करिब १२ बजेर ५ मिनेटमा मादक पदार्थ सेवन गरी बिरामीको रूपमा अस्पताल आएका शर्माले अस्वाभाविक व्यवहार देखाउँदै अशान्ति मच्चाएका थिए।
त्यसपछि ड्युटीमा खटिएकी २२ वर्षीया नर्सिङ स्वास्थ्यकर्मीले उनलाई सम्झाइबुझाइ गर्ने क्रममा शर्माले उल्टै गालीगलौज गर्दै हातपात तथा कुटपिट गरेको प्रहरीले जनाएको छ।
घटनामा संलग्न शर्मालाई सोही रात अस्पतालबाटै पक्राउ गरिएको थियो। उनीविरुद्ध ‘स्वास्थ्यकर्मी तथा स्वास्थ्य संस्थाको सुरक्षा सम्बन्धी ऐन, २०६६’ अन्तर्गत कसुरमा मुद्दा दर्ता गरी पर्वत जिल्ला अदालतबाट थप अनुसन्धानका लागि सात दिनको म्याद थप गरिएको जिल्ला प्रहरी कार्यालय पर्वतले जनाएको छ।
घटनाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।

