काठमाडौं - प्रधानमन्त्री वालेन्द्र शाह नेतृत्वको सरकार गठन भएयता सशस्त्र प्रहरी बल, नेपालले सीमा क्षेत्रबाट १ अर्ब ३३ करोड रुपैयाँभन्दा बढी मूल्यको अवैध सामग्री बरामद गरेको छ। सीमा सुरक्षा तथा अवैध गतिविधि नियन्त्रणका लागि निगरानी र कारबाही तीव्र पारिएको सशस्त्र प्रहरीले जनाएको छ।
२०८२ चैत १३ देखि २०८३ कार्तिक १२ गतेसम्मको अवधिमा सशस्त्र प्रहरीले १ अर्ब ३३ करोड २६ लाख ९१ हजार ५९९ रुपैयाँ बराबरका अवैध सामग्री बरामद गरेको हो।
यस अवधिमा १७ नाल अवैध हातहतियार बरामद गरिएको छ भने हातहतियारसम्बन्धी गतिविधिमा संलग्न आठ जना पक्राउ परेका छन्। लागूऔषध कारोबारमा संलग्न ४२१ जनालाई पक्राउ गरिएको सशस्त्र प्रहरीले जनाएको छ। पक्राउ परेकाहरूबाट गाँजा, चरेस, अफिम, खैरो हेरोइन, ट्याब्लेट तथा इन्जेक्सनलगायत लागूऔषध बरामद गरिएको छ।
मानव बेचबिखन तथा ओसारपसारको जोखिममा परेका १६७ जनाको उद्धार गरिएको छ। उद्धार गरिएकामध्ये ११८ जना बालबालिका रहेका छन्। मानव बेचबिखन तथा ओसारपसारमा संलग्न ९१ जनालाई पक्राउ गरिएको छ।
सीमा अतिक्रमण नियन्त्रणका क्रममा दशगजाका ३५ स्थानमा रहेका २३७ वटा संरचना हटाइएको छ। त्यस्तै, १७ स्थानमा ७.४४८ बिघा जग्गाबाट खेतीपाती हटाइएको छ। सीमा क्षेत्रका २०४ स्थानमा ९४.५८८ किलोमिटर क्षेत्र सरसफाइसमेत गरिएको छ।
सीमावासीसँगको सम्बन्ध सुदृढ गर्न र जनचेतना अभिवृद्धि गर्न सशस्त्र प्रहरीले यस अवधिमा २ हजार ८०६ कार्यक्रम सञ्चालन गरेको छ। १४१ सहायता कक्षबाट ३ लाख ४९ हजार ९०८ जना तथा १३ पर्यटक सहायता कक्षबाट १० हजार ६५४ जना लाभान्वित भएका छन्।
सीमा क्षेत्रमा अवैध सामानको ओसारपसार, लागूऔषध कारोबार, हातहतियार तस्करी तथा अन्य आपराधिक गतिविधि नियन्त्रण गर्न सशस्त्र प्रहरीले निगरानी र सुरक्षा व्यवस्था थप कडा बनाएको जनाएको छ।

