Harsamaya
अवैध रूपमा ल्याइएका एक लाख रुपैयाँका पटका बरामद
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापामा भारतबाट अवैध रूपमा नेपाल भित्र्याउँदै गरिएको करिब एक लाख रुपैयाँ बराबरका पटका बरामद गरिएको छ।

झापा गाउँपालिका–२ कुवाडीस्थित नेपाल–भारत सीमा क्षेत्रबाट सोमबार बिहान दुई बोरा पटका बरामद गरिएको हो।

प्रहरीका अनुसार सोमबार बिहान ४ः३५ बजे इलाका प्रहरी कार्यालय कुमरखोद र सशस्त्र प्रहरी बल नेपाल, बीओपी टाघनडुब्बाबाट खटिएको संयुक्त गस्ती टोलीलाई देखेपछि पटका बोकेर आएका व्यक्ति बोरा छाडेर फरार भएका थिए।

त्यसपछि प्रहरीले उक्त बोरा खोली जाँच गर्दा दुई बोरामा विभिन्न किसिमका पटका फेला पारेको जनाएको छ।

बरामद गरिएका पटका अन्दाजी एक लाख रुपैयाँ बराबरका रहेको र आवश्यक कारबाहीका लागि इलाका प्रहरी कार्यालय कुमरखोदमा राखिएको प्रहरीले जनाएको छ। फरार व्यक्तिको पहिचान खुल्न सकेको छैन।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १२:४५
प्रतिक्रिया दिनुहोस्
Weather Update