सिन्धुपाल्चोक - सामान्य विवादमा भाइले कुटपिट गर्दा सिन्धुपाल्चोकमा दाइको मृत्यु भएको छ। लिसंखुपाखर गाउँपालिका–३ ग्यावा टोलमा भाइको कुटपिटबाट घाइते भएका ६२ वर्षीय राना बहादुर तामाङको उपचारका क्रममा मृत्यु भएको हो।
प्रहरीका अनुसार गत कात्तिक ११ गते सामान्य विवाद हुँदा अन्दाजी ६० वर्षीय शम्बर बहादुर तामाङले आफ्नै दाइ राना बहादुरलाई कुटपिट गरेका थिए। कुटपिटबाट गम्भीर घाइते भएका राना बहादुरलाई उपचारका लागि जिल्ला अस्पताल भक्तपुर लगिएको थियो।
त्यहाँबाट थप उपचारका लागि केएमसी अस्पताल दुवाकोट पठाइएका उनको कात्तिक १४ गते दिउँसो ३ बजेर ५ मिनेटमा चिकित्सकले मृत घोषणा गरेका थिए।
घटनामा संलग्न रहेको आरोपमा प्रहरीले शम्बर बहादुर तामाङलाई नियन्त्रणमा लिएको छ। सामान्य विवादले उग्र रूप लिँदा दाजुभाइबीचको झगडा ज्यान जाने घटनामा परिणत भएको प्रहरीले जनाएको छ।
घटनाबारे थप अनुसन्धान भइरहेको छ।

