सिरहा - नक्कली नेपाली नोटजस्तो देखिने रकमसहित सिरहामा दुई जना पक्राउ परेका छन्।
जिल्ला प्रहरी कार्यालय सिरहाका अनुसार शुक्रबार राति करिब ९ बजे सिरहा नगरपालिका–७ स्थित महावीर चोकदेखि शिव चोक जाने हुलाकी सडकखण्डमा दुई जना व्यक्ति नक्कली नोटजस्तो देखिने रकमसहित पैदल हिँडिरहेको विशेष सूचना प्राप्त भएको थियो।
सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय सिरहाबाट प्रहरी निरीक्षकको कमान्डमा खटिएको प्रहरी टोलीले खोजतलास तथा चेकजाँच गर्ने क्रममा कल्याणपुर नगरपालिका–८ मा उनीहरूलाई नियन्त्रणमा लिएको हो।
पक्राउ पर्नेमा ३५ वर्षीय मोहम्मद मुस्तुफा हुसेन र ३२ वर्षीय समिर मियाँ रहेका छन्। प्रहरीले उनीहरूको साथबाट पाँच सय रुपैयाँ दरका ३ थान र एक हजार रुपैयाँ दरका २४ थान गरी जम्मा २५ हजार ५०० रुपैयाँ बराबरका नक्कली नोटजस्तो देखिने रकम बरामद गरेको जनाएको छ।
बरामद रकमसहित दुवै जनालाई जिल्ला प्रहरी कार्यालय सिरहामा राखी थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

