Harsamaya
मोटरसाइकलको फिल्टरमा लुकाएर ल्याइएको १० लाख रुपैयाँसहित भारतीय नागरिक पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

रौतहट - रौतहटमा मोटरसाइकलको फिल्टरभित्र लुकाएर ल्याइएको स्रोत नखुलेको १० लाख रुपैयाँसहित एक भारतीय नागरिक पक्राउ परेका छन्।

सोमबार दिउँसो बौधीमाई नगरपालिका–७ बंकुलस्थित बंकुल–नरकटिया सडकखण्डबाट भारतीय नागरिक पक्राउ परेका हुन्। बाराबाट रौतहटतर्फ जाँदै गरेको भारतीय नम्बर प्लेटको मोटरसाइकल जाँच गर्ने क्रममा उक्त रकम फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीका अनुसार दिउँसो करिब १२ः२० बजे प्रहरी चौकी बंकुलबाट प्रहरी सहायक निरीक्षक रमेश यादवको कमान्डमा खटिएको गस्ती टोलीले बीआर ०५ एएफ ३७८७ नम्बरको मोटरसाइकललाई शङ्का लागेर रोकेको थियो। जाँचका क्रममा मोटरसाइकलको फिल्टरभित्र लुकाइछिपाइ राखिएको १० लाख रुपैयाँ बरामद भएको हो।

बरामद रकममा एक हजार रुपैयाँ दरका ५९३ थान र पाँच सय रुपैयाँ दरका ८१४ थान नोट रहेका छन्। यसरी एक हजार दरका पाँच लाख ९३ हजार र पाँच सय दरका चार लाख सात हजार गरी कुल १० लाख रुपैयाँ फेला परेको प्रहरीले जनाएको छ।

प्रहरीले रकमसँगै मोटरसाइकल र चालकलाई नियन्त्रणमा लिएको छ। पक्राउ पर्नेमा भारतको बिहार राज्य, मोतिहारी जिल्ला, घोडसन ग्रामका अन्दाजी ३३ वर्षीय टुना दास रहेका छन्।

स्रोत नखुलेको रकम मोटरसाइकलको फिल्टरभित्र लुकाएर ल्याइएको पाइएपछि प्रहरीले घटनाबारे थप अनुसन्धान अघि बढाएको जनाएको छ।

प्रकाशित मिति: सोमबार, कात्तिक १६, २०८३  १५:१८
प्रतिक्रिया दिनुहोस्
Weather Update