Harsamaya
देउरानीले बाउसो प्रहारबाट घाइते जेठानीको मृत्यु
मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ । 

मुगु - मुगुको छायाँनाथ रारा नगरपालिका– १२ लुम्स गाउँमा मंगलबार जग्गा विवादमा झगडा हुँदा देउरानीको बाउसो प्रहारबाट घाइते भएकी जेठानीको मृत्यु भएको छ । 

गम्भीर घाइते भएकी दुर्गा ऐडीको कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा उपचारका क्रममा ५ दिनपछि शनिबार बिहान ५ बजे मृत्यु भएको हो ।

देउरानीले जेठानीलाई घरेलु औजार बाउसो प्रहार गर्दा गम्भीर घाइते बनाएकी थिइन् । घाइते दुर्गा ऐडीको टाउको र अनुहारमा गहिरो चोट लागेको थियो । 

छायांनाथ रारा नगरपालिका १२ लुम्स गाउँकी बिमला बुढाले जेठानी दुर्गा ऐडीको टाउकोमा घरेलु औजार बाउसो प्रयोग गरी घाइते बनाएको प्रहरीले जनाएको छ । 

उनीहरूका ससुरा बाचुराम ऐडीका अनुसार कुनिउखात भन्ने स्थानको जग्गा ३ भाइ मध्ये कसैलाई भागबण्डा नगरिएको र त्यही जग्गा देउरानीले मेरो भाग हुनुपर्छ र जेठानीले मेरो भागमा हुनुपर्छ भन्ने विवादले झगडा भएको थियो ।

त्यही विवादका कारण झगडा हुँदै गर्दा देउरानी वर्ष २५ की बिमला बुढाले जेठानी वर्ष ३६ की दुर्गा ऐडीलाई घरेलु औजार बाउसो प्रहार गरेर घाइते बनाएको ससुरा बाचुरामले बताए ।

झगडाको मुख्य कारण नै जग्गा विवाद भएको जिल्ला प्रहरी कार्यालय मुगुले जनाएको छ । अहिले घरेलु औजार प्रयोग गरी घाइते बनाउने बिमलालाई पक्राउ गरी ६ दिन म्याद थप गरी अनुसन्धान थालिएको जिल्ला प्रहरी कार्यालय मुगुले जानकारी दिएको छ ।
 

प्रकाशित मिति: शनिबार, वैशाख २०, २०८२  १३:४४
प्रतिक्रिया दिनुहोस्
Weather Update