भक्तपुर - पसल बन्द गरेर घर फर्किँदै गरेका व्यवसायीलाई कुटपिट गरी सुनको सिक्री लुटपाट गरेको आरोपमा प्रहरीले पाँच जनालाई पक्राउ गरेको छ ।
चाँगुनारायण नगरपालिका–२ दुवाकोटस्थित त्रिपुरा सुन्दरी खाजा स्टोरका सञ्चालक तीर्थबहादुर कार्कीलाई कुटपिट गरी उनले लगाएको सुनको सिक्री लुटेर फरार भएको सूचनाका आधारमा प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
प्रहरीका अनुसार २०८३ असोज २० गते पसल बन्द गरेर घर जाने क्रममा मोटरसाइकलमा आएका व्यक्तिहरूले कार्कीलाई कुटपिट गरी सुनको सिक्री लुटेका थिए । घटनापछि प्रहरी वृत्त ठिमीबाट खटिएको टोलीले असोज २१ गते चाँगुनारायण नगरपालिका–२ दुवाकोटबाट पाँच जनालाई नियन्त्रणमा लिएको हो ।
पक्राउ पर्नेमा काभ्रेपलाञ्चोक पाँचखाल नगरपालिका–१ का २५ वर्षीय सुदिप लामा तथा सोही स्थानका ३२ वर्षीय कर्णबहादुर तामाङ, २१ वर्षीय कुमार तामाङ, १९ वर्षीय विजय तामाङ र ३२ वर्षीय केनाम सिंह तामाङ रहेका छन् ।
उनीहरूलाई चोरी तथा डाँकासम्बन्धी कसुरमा असोज २२ गते जिल्ला अदालत भक्तपुरमा पेस गरी अदालतबाट सात दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ ।
प्रहरीले उनीहरूको साथबाट बा ९१ प ९३०७ नम्बरको २०० एनएस पल्सर र प्र.३–०२–००१ प ४६९२ नम्बरको २२० पल्सर मोटरसाइकलसमेत बरामद गरेको छ । घटनाबारे थप अनुसन्धान भइरहेको छ।

