भक्तपुर -‘खल्ती’को आधिकारिक कर्मचारी हुँ भन्दै फोन गरेर विभिन्न व्यक्तिको बैंक तथा वालेट खाताबाट रकम चोरी गर्ने आरोपमा प्रहरीले चार जनालाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा रौतहट ईशनाथ नगरपालिका–३ का २३ वर्षीय सुभमकुमार झा, बारा सिम्रौनगढ नगरपालिका–१० का २० वर्षीय अनिकेत यादव, रौतहट ईशनाथ नगरपालिका–३ का २२ वर्षीय पवनकुमार चौधरी र रौतहट गौर नगरपालिका–१ का २१ वर्षीय रिसी गंगा रहेका छन्।
जिल्ला प्रहरी परिसर भक्तपुरका अनुसार उनीहरूले विभिन्न मोबाइल नम्बरबाट फोन गरी आफूलाई खल्तीको आधिकारिक कर्मचारी भएको बताउने गरेका थिए। त्यसपछि सेवाग्राहीलाई स्क्रिन सेयर गर्न र ओटीपी कोड दिन लगाएर बैंक तथा डिजिटल वालेट खातामा अनधिकृत पहुँच पुर्याई रकम अन्य व्यक्तिको खातामा स्थानान्तरण गर्ने गरेको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ।
प्रहरीले उनीहरूलाई असोज २१ गते ललितपुर महानगरपालिका–२८ हात्तीवनस्थित मेरो सिटी अपार्टमेन्टको १३औँ तलाको कोठा नम्बर टीई/१३०५ बाट पक्राउ गरेको हो।
पक्राउ परेका चारै जनालाई असोज २२ गते अनलाइन ठगी तथा लागूऔषधसम्बन्धी मुद्दामा भक्तपुर जिल्ला अदालतमा उपस्थित गराइएको थियो। अदालतबाट पाँच दिनको म्याद थप गरी घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

