काठमाडौं - काठमाडौँमा ३ करोड ३८ लाख रुपैयाँभन्दा बढीको अनलाइन सट्टेबाजी तथा क्रिप्टो कारोबारमा संलग्न रहेको आरोपमा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ।
पक्राउ पर्नेमा सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ घर भई हाल काठमाडौँ महानगरपालिका–३२ बस्ने २२ वर्षीय बिक्की कुमार महतो रहेका छन्।
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार महतोलाई असोज २१ गते साँझ माइतीघरस्थित सडकखण्डमा शंकास्पद अवस्थामा हिँडिरहेको देखेपछि नियन्त्रणमा लिइएको हो।
सोधपुछ तथा जाँचका क्रममा उनले १एक्सबेट, मोबक्यास लगायतका माध्यमबाट अनलाइन सट्टेबाजी गराउने तथा यूएसडीटी लगायतका अभौतिक मुद्रा (क्रिप्टो) कारोबार गर्ने गरेको खुलेको प्रहरीले जनाएको छ।
प्रहरीका अनुसार महतोले हालसम्म ३ करोड ३८ लाख ८ हजार ३५० रुपैयाँ ९१ पैसाभन्दा बढीको कारोबार गरेको खुलेको छ। उनको साथबाट एक थान मोबाइलसमेत बरामद गरिएको छ।
महतोविरुद्ध अभौतिक मुद्रा तथा सट्टेबाजीसम्बन्धी कसुरमा काठमाडौँ जिल्ला अदालतबाट पाँच दिनको म्याद थप गरी अनुसन्धान भइरहेको जिल्ला प्रहरी परिसर काठमाडौँले जनाएको छ।

