काठमाडौं - सशस्त्र प्रहरी बल, नेपालले दसैँ, तिहार र छठलगायतका चाडपर्वलाई लक्षित गर्दै विशेष सुरक्षा योजना लागू गरेको छ। असोज २२ गतेदेखि लागू गरिएको योजनाअन्तर्गत सीमा सुरक्षा, नागरिकको सुरक्षा, विपद् व्यवस्थापन तथा महत्वपूर्ण संरचनाको सुरक्षामा २८ हजार १२६ जना जनशक्ति परिचालन गरिएको छ।
थप ४ हजार ५०० जनशक्ति भने आवश्यकताअनुसार तत्काल परिचालन गर्न सकिने गरी तयारी अवस्थामा राखिएको सशस्त्र प्रहरीले जनाएको छ।
चाडपर्वका क्रममा सीमा अपराध तथा अन्य अप्रिय घटना नियन्त्रण गर्न सीमा क्षेत्रमा सुरक्षा तैनाथी बढाइएको छ। नागरिक तथा पर्यटकको सहज आवागमनका लागि भारत र चीनतर्फका समकक्षी सुरक्षा निकायसँग समन्वय गरी १४१ स्थानमा नागरिक सहायता कक्ष, १६ स्थानमा स्वास्थ्य सहायता कक्ष र १३ स्थानमा पर्यटक सहायता कक्ष स्थापना गरिएको छ।
सीमावर्ती क्षेत्रमा संयुक्त गस्तीसमेत सञ्चालन भइरहेको छ। झापाको काँकडभिट्टा, पर्साको वीरगञ्ज, रुपन्देहीको बेलहिया र बाँकेको जमुनाह नाकामा अवैध हातहतियार, विस्फोटक पदार्थ तथा लागूऔषध पहिचान गर्न तालिमप्राप्त स्निफिङ डगसहितको टोली परिचालन गरिएको छ।
मुख्य राजमार्गमा हुनसक्ने दुर्घटना तथा अन्य घटनामा तत्काल उद्धारका लागि ३७ स्थानमा एम्बुलेन्ससहितको आकस्मिक उद्धार टोली परिचालन गरिएको छ। ठूलो दुर्घटनामा एकैपटक धेरै घाइतेलाई अस्पताल पुर्याउन सकिने गरी सातै प्रदेश र काठमाडौँ उपत्यकाका १६ स्थानमा मास क्याजुअल्टी भेइकल तैनाथ गरिएको छ।
प्राकृतिक तथा मानव सिर्जित विपद्मा तत्काल परिचालनका लागि देशभर ५५ वटा अस्थायी मनसुन विपद् प्रतिकार्य आधार र १६ वटा स्थायी विपद् आधार मा तालिमप्राप्त जनशक्ति र आवश्यक स्रोतसाधन तयारी अवस्थामा राखिएको छ।
सुरक्षा योजनाअन्तर्गत दैनिक ४१५ स्थानमा पिकेट, ४१८ स्थानमा जाँच चौकी, ६०१ वटा पैदल गस्ती, ५५५ वटा मोबाइल गस्ती, १८२ वटा लामो दूरीका गस्ती र १४६ वटा द्रुत प्रतिकार्य टोली परिचालन हुनेछन्। त्यस्तै १४ वटा बम डिस्पोजल टोली, ३७ वटा एम्बुलेन्स, २५१ वटा विपद् उद्धार टोली र ११ स्थानमा गोताखोर टोली चौबिसै घण्टा तयारी अवस्थामा रहनेछन्।
सीमा क्षेत्रमा दैनिक ५०४ वटा सीमा नाका पिकेट, ४२ वटा सीमा गस्ती र ६ वटा सीमा अन्तरक्रिया टोली परिचालन गरिएको छ। चाडपर्व अवधिमा आवश्यकताअनुसार समकक्षी सुरक्षा निकायसँग ९२४ वटा संयुक्त सीमा गस्ती सञ्चालन गर्ने योजना रहेको सशस्त्र प्रहरीले जनाएको छ।
सुरक्षा निगरानीका लागि आवश्यकता अनुसार २१ वटा ड्रोन परिचालन गरिनेछ भने सीमा नाकाका महत्वपूर्ण स्थानमा जडान गरिएका ४१२ वटा सीसीटिभी क्यामेराबाट चौबिसै घण्टा निगरानी गरिनेछ।
सुरक्षा योजनाको कार्यान्वयन अनुगमनका लागि देशभर ९४ वटा अनुगमन टोली खटाइने सशस्त्र प्रहरीले जनाएको छ। विपद् वा अन्य आपत्कालीन अवस्थामा नागरिकले सशस्त्र प्रहरीको टोल फ्री नम्बर १११४ तथा सीमा हटलाइन ९८५१२६०७३० मा सम्पर्क गर्न सक्ने व्यवस्था गरिएको छ।

