Harsamaya
४७ लाख ७४ हजारको मोबाइल पार्ट्ससहित दुई मोटरसाइकल बरामद
सशस्त्र प्रहरीले बरामद गरेको मोबाइल पार्ट्स ।

रौतहट - रौतहटको गौर नगरपालिका–४ टिकुलियाबाट ४७ लाख ७४ हजार ५ सय रुपैयाँ बराबरको मोबाइल पार्ट्ससहित दुईवटा मोटरसाइकल नियन्त्रणमा लिइएको छ।

असोज ७ गते सशस्त्र प्रहरी बल नेपाल नं. ११ गण रौतहट र गौर भन्सार कार्यालयको संयुक्त टोलीले स्थानीयको घरमा अवैध रूपमा लुकाइराखिएको मोबाइल पार्ट्स बरामद गरेको हो।

सशस्त्र प्रहरी बल नेपाल नं. २ छिन्नमस्ता बाहिनी मुख्यालय महोत्तरीबाट प्राप्त विशेष सूचनाका आधारमा सशस्त्र प्रहरी उपरीक्षक चेतराज जोशीको कमान्डमा टोली परिचालन गरिएको थियो। टोलीले उक्त घरबाट बीआर–ओएए–३४६३ र बीआर–३०२–३२३९ नम्बरका दुईवटा मोटरसाइकल समेत नियन्त्रणमा लिएको छ।

बरामद मोबाइल पार्ट्सको मूल्य ४७ लाख ७४ हजार ५ सय रुपैयाँ र दुईवटा मोटरसाइकलको मूल्य २ लाख ४० हजार रुपैयाँ कायम गरिएको छ। दुवैको कुल भन्सार दाखिला मूल्य ५० लाख १४ हजार ५ सय रुपैयाँ रहेको प्रहरीले जनाएको छ।

बरामद मोबाइल पार्ट्स र मोटरसाइकल आवश्यक कारबाहीका लागि गौर भन्सार कार्यालय, रौतहटमा बुझाइएको छ।

प्रकाशित मिति: बुधबार, असोज ७, २०८३  २१:२४
प्रतिक्रिया दिनुहोस्
Weather Update