Harsamaya
१७ घर चोरीदेखि फरार प्रतिवादी पक्राउसम्म : तेजबहादुर रोकाया बने सिन्धुपाल्चोकका ‘उत्कृष्ट प्रहरी’
प्रहरी जवान तेजबहादुर रोकाया ।

सिन्धुपाल्चोक - सिन्धुपाल्चोकमा १७ वटा घरमा चोरी भएको घटनाको अनुसन्धानदेखि फरार प्रतिवादी पक्राउ र अवैध नदीजन्य पदार्थ उत्खनन नियन्त्रणसम्मका काममा सक्रिय भूमिका निर्वाह गरेका प्रहरी जवान तेजबहादुर रोकाया भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषित भएका छन्।

जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकका अनुसार प्रहरी चौकी लामोसाँघु दरबन्दी भई जिल्ला प्रहरी कार्यालयमा कार्यरत रोकायाले विभिन्न घटनाको अनुसन्धान तथा प्रहरी कारबाहीमा प्रभावकारी भूमिका निर्वाह गरेका थिए।

रोकायाले सिन्धुपाल्चोकका विभिन्न स्थानमा १७ वटा घर फोडी सुनचाँदीका गरगहना तथा नगद चोरी भएको घटनामा सूक्ष्म विश्लेषण तथा अनुसन्धान गरी चोरीमा संलग्न व्यक्ति र प्रयोग भएको सवारी साधन पहिचान गर्न सहयोग गरेका थिए।

उनकै सहयोगी भूमिकामा चोरीमा संलग्न इन्द्रावती गाउँपालिका–९ का ३३ वर्षीय सन्जित तामाङ र चोरीका गरगहनाको स्वरूप परिवर्तन गर्ने सिन्धुली हरिहरपुरगढी गाउँपालिका–३ का २३ वर्षीय राजीव विश्वकर्मा भदौ ९ गते पक्राउ परेका थिए।

त्यस्तै, फैसला कार्यान्वयनअन्तर्गत विभिन्न कसुरमा फरार रहेका १४ जना प्रतिवादीलाई पक्राउ गरी अदालतमा दाखिला गराउन पनि रोकायाले भूमिका निर्वाह गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ। पक्राउ परेका प्रतिवादीबाट अदालतले कुल २ वर्ष ७ महिना ६ दिन कैद र १२ लाख ९० हजार १८७ रुपैयाँ जरिवाना तोकेको छ।

अवैध बालुवा उत्खननमा पाँच सवारी नियन्त्रण
रोकायाले चौतारा साँगाचोकगढी नगरपालिका–११ स्थित इन्द्रावती नदीबाट अवैध रूपमा बालुवा उत्खनन तथा ओसारपसारमा प्रयोग भएका पाँच वटा सवारी साधन नियन्त्रणमा लिन पनि भूमिका खेलेका थिए। ती सवारी साधनबाट सम्बन्धित निकायले १ लाख ५० हजार रुपैयाँ जरिवाना गरेको प्रहरीले जनाएको छ।

यस्तै, बैंकिङ कसुर मुद्दामा फरार रहेका चौतारा साँगाचोकगढी नगरपालिका–४ का ४८ वर्षीय धनश्याम नेपाललाई पक्राउ गरी अनुसन्धान गरिरहेको सम्बन्धित कार्यालयमा बुझाउन पनि उनी सफल भएका थिए।

हराएका विभिन्न कम्पनीका नौ थान मोबाइल फोन फेला पारी सम्बन्धित धनीलाई बुझाउने काममा समेत रोकायाले योगदान गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ।

अपराध तथा कानुनविपरीतका गतिविधि नियन्त्रणमा निरन्तर सक्रिय रहेको भन्दै जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोकले रोकायाको कामको उच्च मूल्याङ्कन गर्दै उनलाई भदौ महिनाको ‘उत्कृष्ट प्रहरी’ घोषणा गरेको हो।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक काजी कुमार आचार्यले असोज ६ गते रोकायालाई उत्कृष्ट प्रहरी घोषणा गर्दै अन्य प्रहरी कर्मचारीलाई समेत प्रोत्साहित गर्ने उद्देश्यले सम्मान गरिएको जनाएका छन्।

प्रकाशित मिति: मंगलबार, असोज ६, २०८३  २०:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update