Harsamaya
दैलेखमा हँसिया प्रहारबाट एकै परिवारका पाँच जना घाइते, तीन महिनाकी शिशुसमेत अस्पतालमा
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

दैलेख - दैलेखको ठाटीकाँध गाउँपालिका–४ धनकोटमा हँसिया प्रहार गरी कुटपिट गर्दा एकै परिवारका पाँच जना घाइते भएका छन्। घटनामा तीन महिनाकी शिशुसमेत घाइते भएकी छन्। प्रहरीले हँसिया प्रहार गर्ने आरोपमा एक जनालाई नियन्त्रणमा लिएको छ।

प्रहरीका अनुसार आइतबार बिहान करिब ५ बजे सोही ठाउँका अन्दाजी ३६/३७ वर्षीय बमबहादुर रावतले स्थानीय चन्द्रबहादुर पुन मगरको घरमा पुगेर धारिलो हतियार हँसिया प्रहार गरी कुटपिट गरेका थिए। घटनामा पुनकी श्रीमती, भाइबुहारी, दुई छोरी र तीन महिनाकी नातिनी घाइते भएका हुन्।

घाइतेमध्ये चन्द्रबहादुरकी श्रीमती ४५ वर्षीया बिमा मगरको टाउको र अनुहारमा चोट लागेको छ। उनको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ।

त्यस्तै, पुनकी भाइबुहारी २५ वर्षीया महेसरा पुनका दुवै हत्केला छिनिएका छन्। पुनकी २० वर्षीया छोरी लक्ष्मी पुन र २३ वर्षीया छोरी तिला पुन मगरको अवस्था मध्यम रहेको छ। तिला पुन मगरकी तीन महिनाकी छोरी जानकी रोक्का मगर पनि घटनामा घाइते भएकी छन्। उनको अवस्था पनि मध्यम रहेको छ।

घाइतेहरूको स्थानीय मेडिकलमा उपचार भइरहेको थियो। बिहान ११ बजेर ५ मिनेटमा बिमा मगरलाई स्वास्थ्य चौकीमा सामान्य उपचारपछि थप उपचारका लागि जिल्ला अस्पताल दैलेख पठाइएको प्रहरीले जनाएको छ।

घटनाबारे बिहान करिब ५ बजे प्रहरी चौकी ठाटीकाँधमा जानकारी प्राप्त भएपछि प्रहरी सहायक निरीक्षक लालबहादुर शाहीको कमाण्डमा चार जनाको प्रहरी टोली घटनास्थल पुगेको थियो।

घटनाको थप अनुसन्धान तथा आवश्यक कारबाहीका लागि बिहान ८ बजेर ४० मिनेटमा इलाका प्रहरी कार्यालय दुल्लुबाट प्रहरी निरीक्षक सरोज कडेलको कमाण्डमा नौ जनाको थप प्रहरी टोली घटनास्थलतर्फ खटाइएको प्रहरीले जनाएको छ।

हँसिया प्रहार गर्ने आरोपमा पक्राउ परेका बमबहादुर रावतलाई नियन्त्रणमा लिएर घटनाबारे थप अनुसन्धान भइरहेको छ।

प्रकाशित मिति: आइतबार, कात्तिक २२, २०८३  १४:०२
प्रतिक्रिया दिनुहोस्
Weather Update