नवलपरासी - ज्यान मुद्दामा १० वर्ष ५ महिना १७ दिन कैद सजाय तोकिएका फरार कसुरदार २० वर्षपछि पक्राउ परेका छन् ।
जिल्ला प्रहरी कार्यालय नवलपरासी (बर्दघाट सुस्ता पश्चिम) का अनुसार पक्राउ पर्नेमा नवलपरासीको प्रतापपुर गाउँपालिका–७ सूर्यपुरा निवासी ५७ वर्षीय विरेन्द्र गुप्ता रहेका छन् ।
नवलपरासी जिल्ला अदालतले कर्तव्य ज्यान मुद्दामा २०६३ साल चैत २३ गते गुप्तालाई १० वर्ष ५ महिना १७ दिन कैद सजाय हुने फैसला गरेको थियो । अदालतको फैसला कार्यान्वयन हुन बाँकी रहेपछि उनी फरार रहँदै आएका थिए ।
फरार कसुरदारको खोजतलास गर्ने क्रममा जिल्ला प्रहरी कार्यालय मातहत इलाका प्रहरी कार्यालय बेलाटारीबाट खटिएको प्रहरी टोलीले गुप्तालाई आफ्नै घर वतनमा फेला पारी पक्राउ गरेको हो ।
पक्राउ परेका गुप्तालाई फैसला कार्यान्वयनका लागि सम्मानित नवलपरासी जिल्ला अदालतमा उपस्थित गराइएको प्रहरीले जनाएको छ । अदालतको आदेशअनुसार उनलाई कैद भुक्तानका लागि कारागार चलान गरिएको छ ।

