काठमाडौं - प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पद दुरुपयोग गरी इजरायल पठाइदिने भन्दै रकम उठाएको आरोपमा पक्राउ परेकी पत्रकार बालिका सिवाकोटीले आफूले उठाएको रकममध्ये डेढ करोड रुपैयाँ कांग्रेस नेता तथा यही प्रकरणका अर्का आरोपित भरत चौलागाईंलाई दिएको बयान दिएको खुलेको छ।
केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) स्रोतका अनुसार सिवाकोटीले चौलागाईंलाई काठमाडौंको गौशालामा भेटेर रकम बुझाएको बयान दिएकी हुन्। यद्यपि, रकमको बाँडफाँट र घटनामा दुवैको भूमिकाबारे प्रहरीले थप अनुसन्धान गरिरहेको छ।
सिवाकोटी र चौलागाईंलाई असोज २ गते प्रहरीले पक्राउ गरेको थियो। रामेछापको सुनापति गाउँपालिका–१ का ५९ वर्षीय चौलागाईं र दोलखाको कालिञ्चोक गाउँपालिका–८ की ३२ वर्षीया सिवाकोटीमाथि नेपाल सरकार र इजरायल सरकारबीच भएको सरकार–सरकार सम्झौताअनुसार सन् २०२४ मा लिइएको परीक्षामा सहभागी भई ‘लक्की ड्र’मा छनोट हुन नसकेका व्यक्तिलाई समेत इजरायल पठाइदिने भन्दै रकम असुलेको आरोप छ।
प्रहरीका अनुसार उनीहरूले १५६ जनाबाट प्रतिव्यक्ति ६ लाख २० हजार रुपैयाँका दरले करिब २ करोड ५० लाख रुपैयाँ उठाएको प्रारम्भिक अनुसन्धानबाट खुलेको छ। इजरायल पठाइदिने भन्दै विश्वास दिलाउन प्रधानमन्त्रीका प्रमुख सल्लाहकारको नाम तथा पदसमेत दुरुपयोग गरिएको आरोप छ।
रकम बुझाएपछि पनि काम नभएको भन्दै पीडितहरूले रकम फिर्ता तथा काम गराइदिन ताकेता गरेका थिए। पीडितहरूले आफूहरूलाई ‘कुमार बेनलाई मिलाएका छौँ’ भन्दै आश्वस्त पारिएको बताएका छन्।
पक्राउ परेका दुवै जनाविरुद्ध ठगीसम्बन्धी कसुरमा काठमाडौं जिल्ला अदालतबाट म्याद थप गरी सीआईबीले अनुसन्धान गरिरहेको छ।

