सुर्खेत - सुर्खेतको चौकुने गाउँपालिका–५ रेक्चामा फरुवाले टाउकोमा प्रहार गर्दा एक महिलाको मृत्यु भएको छ । घटनामा संलग्न रहेको आरोपमा प्रहरीले उनका श्रीमानलाई पक्राउ गरेको छ ।
घरमै रहेका बेला चौकुने गाउँपालिका–५ रेक्चाका अन्दाजी ३२ वर्षीय गोपीराम जैसीले आफ्नी ३० वर्षीया श्रीमती चन्द्रा देवकोटा जैसीको टाउकोमा फरुवाले प्रहार गरेको प्रहरीले जनाएको छ ।
बुधबार बिहान करिब १०ः२० बजे भएको घटनामा गम्भीर घाइते भएकी चन्द्राको मृत्यु भएको हो ।
घटनाबारे वडा सदस्य टपेन्द्र बुढा क्षेत्रीले जानकारी गराएपछि प्रहरी चौकीबाट प्रहरी सहायक निरीक्षक बुद्धि साउँदको नेतृत्वमा टोली घटनास्थल पुगेको थियो ।
घटनाको थप अनुसन्धानका लागि इलाका प्रहरी कार्यालय बाबियाचौर, सुर्खेतबाट प्रहरी निरीक्षक भुपेन्द्र शाहीको कमाण्डमा अपराध अनुसन्धान समूहसहितको टोलीसमेत घटनास्थल पुगेको थियो ।
फरुवा प्रहार गर्ने गोपीरामलाई प्रहरीले नियन्त्रणमा लिएको छ । घटनाको कारणबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

