काठमाडौं - काठमाडौँ महानगरपालिका–७ कुमारीगालबाट प्रहरीले ३७.९१ ग्राम खैरो हेरोइनसहित तीन जनालाई पक्राउ गरेको छ।
शंकास्पद रूपमा हिँडडुल गरिरहेका व्यक्तिमाथि चेकजाँच गर्ने क्रममा कुमारीगालका ३९ वर्षीय विकास श्रेष्ठलाई प्रहरीले फेला पारेको थियो। उनको साथबाट खैरो हेरोइनका दुई पोका र नगद ५५ हजार रुपैयाँ बरामद भएको प्रहरीले जनाएको छ।
प्रारम्भिक सोधपुछका क्रममा श्रेष्ठको संलग्नतामा काठमाडौँ महानगरपालिका–९ पिङ्गलास्थित पशुपति होटल एण्ड गेस्ट हाउसको चौथो तलामा रहेको कोठा नम्बर १२३ मा खानतलासी गरिएको थियो। सो क्रममा थप दुई पोका खैरो हेरोइन बरामद भएको हो।
प्रहरीका अनुसार बरामद खैरो हेरोइनको कुल तौल ३७.९१ ग्राम रहेको छ। त्यस्तै, एउटा डिजिटल तराजु र विभिन्न कम्पनीका तीन थान मोबाइलसमेत बरामद गरिएको छ।
घटनामा विकास श्रेष्ठसहित तीन जना पक्राउ परेका छन्। पक्राउ पर्नेमा सिराहा अर्नामा गाउँपालिका–२ का ३० वर्षीय सुरज कुमार महत्तो र सप्तरी सुरुङ्गा नगरपालिका–५ का १७ वर्षीय आदित्य झा पनि रहेका छन्।
पक्राउ परेका तीनै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

