Harsamaya
 सशस्त्र प्रहरीद्वारा १ अर्ब ७५ करोडभन्दा बढीको अवैध सामान बरामद
बरामद सामान ।

काठमाडौं - सशस्त्र प्रहरी बल नेपालले गत आर्थिक वर्ष २०८२/८३ मा देशभरबाट १ अर्ब ७५ करोड २९ लाख १ हजार ८० रुपैयाँ बराबरको चोरीपैठारी, निकासी तथा अन्य अवैध सामान बरामद गरेको छ।

सशस्त्र प्रहरीले नियमित गस्ती, चेकजाँच, अनुगमन तथा विशेष सूचनाका आधारमा कारबाही गर्दै उक्त सामान बरामद गरी भन्सार, राजश्व कार्यालय तथा सम्बन्धित निकायमा बुझाएको जनाएको छ।

सबैभन्दा बढी पर्साबाट २५ करोड ११ लाख ९४ हजार २५४ रुपैयाँ बराबरको अवैध सामान बरामद भएको छ। यस्तै, बाँकेबाट १३ करोड ६२ लाख २१ हजार १३८, झापाबाट १३ करोड ८ लाख ८९ हजार ८८१, रुपन्देहीबाट १२ करोड ८८ लाख २४ हजार ४२१ र कैलालीबाट १२ करोड ४२ लाख १० हजार ४२८ रुपैयाँ बराबरको सामान बरामद गरिएको छ।

सिराहा, कञ्चनपुर, सर्लाही, पश्चिम नवलपरासी, बारा, मोरङ, धनुषा, रौतहट, महोत्तरी, कपिलवस्तु र सुनसरीलगायत जिल्लाबाट पनि करोडौँ रुपैयाँ बराबरका अवैध सामान बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ।

बरामद हुनेमा खाद्यान्न, लत्ताकपडा, औषधि, किराना तथा हार्डवेयर सामग्री, सुनचाँदी, पन्छी तथा पशुचौपाया, वनपैदावार लगायत छन्। अवैध सामान ओसारपसारमा प्रयोग भएका सवारीसाधनसमेत नियन्त्रणमा लिइएको प्रहरीले जनाएको छ।

सशस्त्र प्रहरीले सीमा क्षेत्रमा भन्सार विभाग तथा अन्य सुरक्षा निकायसँगको समन्वयमा चोरीपैठारी तथा अवैध निकासी नियन्त्रणका लागि कारबाहीलाई निरन्तरता दिइरहेको जनाएको छ।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  १८:५७
प्रतिक्रिया दिनुहोस्
साताको लोकप्रिय
Weather Update