जाजरकोट- जाजरकोटमा ससुराको हत्या गरेको आरोपमा प्रहरीले एक महिलालाई पक्राउ गरेको छ।
जुनिचाँदे गाउँपालिका–५ पाँगाका ७५ वर्षीय गंगाराम शाहीको हत्या आरोपमा उनकी माइली बुहारी ३५ वर्षीया सर्मिला शाही पक्राउ परेकी हुन्।
प्रहरीका अनुसार २०८२ साउन ११ गते बेलुका करिब ८ बजे गंगाराम आफ्नै घरको सिँढी नजिक बायाँतर्फ घाँटीमा धारिलो हतियार प्रहार गरिएको अवस्थामा मृत फेला परेका थिए। घटनास्थलबाट प्रहरीले हँसिया (खुर्पा) समेत बरामद गरेको थियो।
घटनाको अनुसन्धानका क्रममा मृतकका जेठा छोरा राजकुमार शाहीले २०८३ असोज ७ गते सर्मिला शाही घटनामा संलग्न रहेको भन्दै किटानी जाहेरी दिएका थिए। त्यसपछि पक्राउ अनुमति लिएर प्रहरीले उनलाई आफ्नै घरबाट पक्राउ गरेको हो।
पक्राउ परेकी सर्मिलालाई असोज ८ गते जिल्ला प्रहरी कार्यालय जाजरकोटमा दाखिला गरी सोही दिन जाजरकोट जिल्ला अदालतबाट कर्तव्य ज्यान मुद्दामा पहिलोपटक १० दिनको म्याद थप गरिएको प्रहरीले जनाएको छ।
प्रहरीले घटनाबारे थप अनुसन्धान भइरहेको जनाएको छ।

