Harsamaya
तिहारमा उपत्यकामा ७८ दुर्घटनामा पाँच जनाको मृत्यु, मापसेमा ५९५ चालक कारबाहीमा
प्रतिकात्मक तस्वीर: हर समय/Har Samaya

काठमाडौं - तिहारको उल्लासबीच काठमाडौं उपत्यकामा सवारी दुर्घटनाले पाँच जनाको ज्यान लिएको छ। कात्तिक २१ गतेदेखि भाइटीका अर्थात् कात्तिक २५ गतेसम्म उपत्यकामा ७८ वटा सवारी दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार पर्वका बेला सवारी दुर्घटना र ट्राफिक नियम उल्लङ्घनका घटना उल्लेख्य रूपमा देखिएका छन्। दुर्घटना न्यूनीकरणका लागि गरिएको चेकजाँचमा मादक पदार्थ सेवन गरी सवारी चलाउने ५९५ जना चालकलाई नियन्त्रणमा लिएर कारबाही गरिएको छ।

त्यस्तै, लागुऔषध सेवन गरी सवारी चलाउने १८ जना चालकलाई समेत कारबाहीको दायरामा ल्याइएको काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका प्रवक्ता प्रहरी उपरीक्षक नरेशराज सुवेदीले जानकारी दिएका छन्।

तीव्र गति, लापरवाहीपूर्ण सवारी सञ्चालन तथा अन्य ट्राफिक नियम उल्लङ्घनका घटनामा समेत कारबाही गरिएको छ। तिहार अवधिमा विभिन्न कसुरमा कुल २ हजार २ सय ११ जना सवारी चालक कारबाहीमा परेको प्रवक्ता सुवेदीले बताए।

यसैबीच, बिहीबार काठमाडौंको सर्लाहीतर्फ जाँदै गरेको विद्युतीय गाडी मकवानपुरको भीमफेदी गाउँपालिका–६ चिसापानी गढीमा सडकबाट करिब ५०० मिटर तल खस्दा १० जनाको मृत्यु भएको र ६ जना घाइते भएको उनले जानकारी दिए। उक्त दुर्घटनाले चाडपर्वमा सवारी सुरक्षाको अवस्था थप गम्भीर बनेको देखाएको छ।

प्रवक्ता सुवेदीले काठमाडौं उपत्यकाको ट्राफिक व्यवस्थापनलाई प्रभावकारी बनाउन मानवीय जनशक्तिसँगै प्रविधिको प्रयोगबाट निगरानी, अनुगमन र कारबाहीलाई कडा पारिएको बताएका छन्।

उनका अनुसार थापाथलीदेखि बानेश्वर क्षेत्रको सडकमा प्रविधिमा आधारित ‘फेसलेस ट्राफिक व्यवस्थापन’ प्रणालीमार्फत निगरानी गर्ने प्रक्रिया सुरु गरिएको छ।

सवारी साधनको संख्या र दुर्घटनाका घटना बढ्दै गएको अवस्थामा मानवीय जनशक्तिले मात्रै प्रभावकारी नियन्त्रण गर्न कठिन हुने भएकाले प्रविधिमा आधारित ट्राफिक व्यवस्थापनलाई उच्च प्राथमिकता दिइएको उनले बताए। यसका लागि आवश्यक पूर्वाधार निर्माण तथा प्रविधिको प्रयोग विस्तार गर्ने काम भइरहेको उनको भनाइ छ।

चाडपर्वमा सवारी चाप बढ्ने, चालकले मादक पदार्थ सेवन गर्ने तथा तीव्र गतिमा सवारी चलाउने प्रवृत्तिले दुर्घटनाको जोखिम बढाउने गरेको छ। ट्राफिक प्रहरीले निगरानी र कारबाही कडा पारे पनि दुर्घटनामा ज्यान गुमाउनेको संख्या रोक्न नसकिएको तथ्यले सडक सुरक्षामा थप प्रभावकारी कदम आवश्यक देखाएको छ।

प्रकाशित मिति: बिहीबार, कात्तिक २६, २०८३  २१:००
प्रतिक्रिया दिनुहोस्
Weather Update