भैरहवा - रुपन्देहीमा सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले थप तीन जनालाई नियन्त्रणमा लिएको छ।
नेपाली मौलिक कला, संस्कृति, सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा उनीहरूलाई प्रहरीले नियन्त्रणमा लिएको हो।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार सिद्धार्थनगर नगरपालिका–७ कञ्चनबजारबाट खटिएको प्रहरी टोलीले उनीहरूलाई नियन्त्रणमा लिएको हो।
नियन्त्रणमा पर्नेमा स्याङ्जाको कपुरकोट गाउँपालिका–४ निवासी २२ वर्षीया पूजा ठकुरी, दाङको गढवा गाउँपालिका–७ निवासी २३ वर्षीया सपना चौधरी र गुल्मीको सत्यवती गाउँपालिका–६ निवासी २४ वर्षीया बिपना मगर रहेका छन्।
सार्वजनिक हित र नैतिकताविरुद्धको कसुरमा उनीहरूलाई नियन्त्रणमा लिई जिल्ला प्रहरी कार्यालय रुपन्देहीबाट थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीले सार्वजनिक स्थानमा सामाजिक शिष्टाचार तथा नैतिकताको प्रतिकूल हुने गतिविधि नियन्त्रण गर्न निरन्तर निगरानी र कारबाही अघि बढाइरहेको जनाएको छ।

