भैरहवा - रुपन्देहीका विभिन्न स्थानमा नेपाली मौलिक कला, संस्कृति तथा सामाजिक शिष्टाचार र नैतिकताविपरीत हुने गरी देउसीभैलो कार्यक्रममा अश्लील नृत्य प्रदर्शन गरेको आरोपमा प्रहरीले दुई जनालाई नियन्त्रणमा लिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका अनुसार कात्तिक २६ गते राति १२ः०५ बजे इलाका प्रहरी कार्यालय लुम्बिनी रुपन्देहीबाट खटिएको प्रहरी टोलीले लुम्बिनी सांस्कृतिक नगरपालिका–१० महिलावार बजार, रुपन्देहीबाट उनीहरूलाई नियन्त्रणमा लिएको हो ।
सार्वजनिक स्थानमा अश्लील नृत्य प्रदर्शन गरी सार्वजनिक हित र नैतिकताविरुद्धको कसुर गरेको आरोपमा प्रहरीले उनीहरूलाई नियन्त्रणमा लिई थप अनुसन्धान अघि बढाएको जनाएको छ ।
प्रहरीका अनुसार नियन्त्रणमा पर्नेमा रुपन्देहीको देवदह नगरपालिका–७ निवासी ३० वर्षीय चाहना थापा र सर्लाहीको हरिवन नगरपालिका–३ निवासी २९ वर्षीय प्राप्ति बस्नेत रहेका छन् ।
प्रहरीले परम्परागत देउसीभैलो कार्यक्रम नेपाली मौलिक कला, संस्कृति र सामाजिक सद्भावको संरक्षण गर्दै सञ्चालन गर्न आग्रह गरेको छ । स्वेच्छिक तथा अमर्यादित तवरले अश्लील नृत्य, गीत तथा संगीत प्रदर्शन गरेमा प्रचलित कानुनबमोजिम कारबाही हुने प्रहरीले चेतावनी दिएको छ ।
जिल्ला प्रहरी कार्यालय रुपन्देहीका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्ण कुमार चन्दले घटनाबारे थप अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

