काठमाडौं - काठमाडौं उपत्यकामा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने दुईपाङ्ग्रे सवारीसाधनमाथि प्रहरीले नियन्त्रण अभियान सञ्चालन गरेको छ ।
चाडपर्वको समयमा सर्वसाधारण नागरिकलाई सुरक्षित, शान्त तथा भयमुक्त वातावरणमा आवागमन गर्ने व्यवस्था मिलाउने उद्देश्यले जिल्ला प्रहरी परिसर काठमाडौं तथा मातहतका प्रहरी वृत्त र प्रभागबाट खटिएको प्रहरी टोलीले विभिन्न स्थानमा चेकजाँच तथा निगरानी गर्ने क्रममा स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने ५२ वटा मोटरसाइकल र ४ वटा स्कुटर गरी जम्मा ५६ वटा दुईपाङ्ग्रे सवारीसाधन नियन्त्रणमा लिएको हो ।
जिल्ला प्रहरी परिसर काठमाडौंका अनुसार नियन्त्रणमा लिइएका सवारीसाधन आवश्यक अनुसन्धानका लागि राखिएका छन् ।
प्रहरीले चाडपर्वका समयमा सडकमा हुने ध्वनि प्रदूषण नियन्त्रण गर्न तथा सर्वसाधारणको आवागमनलाई सहज र सुरक्षित बनाउन निगरानी र चेकजाँचलाई तीव्र बनाएको जनाएको छ ।
जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक दानबहादुर थापाले स्वरूप परिवर्तन गरी ठूलो आवाज निकाल्ने सवारीसाधनलाई नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको जानकारी दिएका छन् ।

