काठमाडौं - लागूऔषध नियन्त्रण ब्युरोले तीन किलो थाई गाँजासहित एक भारतीय नागरिकलाई पक्राउ गरेको छ ।
लागूऔषध नियन्त्रण ब्युरो, कोटेश्वरका अनुसार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलस्थित ब्युरो शाखा कार्यालय गौचरबाट खटिएको प्रहरी टोलीले थाई एयरवेजको उडान नम्बर TG 319 मार्फत नेपाल आएका यात्रुहरूको आपराधिक गतिविधि पहिचान तथा निगरानी गर्ने क्रममा भारतीय नागरिकलाई पक्राउ गरेको हो ।
प्रहरीले भारतीय नागरिक २५ वर्षीय सुबोध कुमारलाई तीन किलो लागूऔषध थाई गाँजासहित पक्राउ गरेको जनाएको छ ।
पक्राउ पर्ने भारतीय नागरिक सुबोध कुमारको साथबाट तीन किलो थाई गाँजा, एक थान राहदानी र एक थान मोबाइल फोन बरामद गरिएको ब्युरोले जनाएको छ ।
पक्राउ परेका कुमारमाथि लागूऔषधसम्बन्धी थप अनुसन्धान भइरहेको लागूऔषध नियन्त्रण ब्युरोले जनाएको छ ।

