विराटनगर - मोरङको केराबारी गाउँपालिका–२ फैबामा जंगलभित्र एक महिलाको शव फेला परेको छ ।
जिल्ला प्रहरी कार्यालय मोरङका अनुसार अन्दाजी ३१/३२ वर्षीया पार्वती लिम्बुको शव घरबाट करिब एक किलोमिटर टाढाको जंगलमा बिहीबार साँझ फेला परेको हो ।
स्थानीयले अर्धनग्न अवस्थामा जंगलभित्र महिलाको शव देखेपछि प्रहरीलाई खबर गरेका थिए ।
जिल्ला प्रहरी मोरङ प्रहरी प्रमुख प्रहरी उपरीक्षक कवित कटवालका अनुसार लिम्बूको शव अर्धनग्न अवस्थामा फेला परेको छ र शरीरमा बाहिरी चोटपटक नदेखिएको जानकारी दिए ।
विवाहित लिम्बूको पति–पत्नीबीच पटकपटक विवाद एवं झैझगडा हुने गरेको जानकारी स्थानीयले प्रहरीलाई दिएका छन् ।
मृत्युको कारण खुल्न नसकेको र घटनाको अनुसन्धानका लागि फरेन्सिक चिकित्सकसहितको टोली घटनास्थलतर्फ पठाइएको प्रहरी उपरीक्षक कटवालले बताए ।
यस सम्बन्धमा आवश्यक अनुसन्धान भैरहेको प्रहरीले जनाएको छ ।

