Harsamaya
युवतीको हातखुट्टा र घाँटी बाँधेर पेट्रोल छर्की आगो लगाउन खोज्ने भारतीय पक्राउ
सांकेतिक तस्वीर: हर समय/Har Samaya

झापा - झापाको बिर्तामोडमा युवतीको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको आरोपमा एक भारतीय नागरिक पक्राउ परेका छन्।

पक्राउ पर्नेमा भारतको किशनगञ्ज जिल्ला, कदमगाछी थाना पछाड कट्टा ग्राम पञ्चायत घर भई हाल बिर्तामोड नगरपालिका–५ स्थित इलाम स्टेनमा रहेको अमृत भोग मिठाई पसलमा काम गर्दै आएका ४२ वर्षीय दिलिप चन्द्र राय रहेका छन्।

प्रहरीका अनुसार रायले असोज १२ गते राति करिब १०ः३० बजे इलामको रोङ गाउँपालिका–३ घर भई हाल बिर्तामोड–५ मा डेरामा बस्दै आएकी २२ वर्षीया रविना मगरको कोठामा प्रवेश गरेका थिए।

मादक पदार्थ सेवन गरेका रायले पेट्रोलसमेत लिएर कोठामा प्रवेश गरी तन्ना च्यातेपछि रविनाको हातखुट्टा तथा घाँटी बाँधेर शरीरमा पेट्रोल छर्की आगो लगाउन खोजेको प्रहरीले जनाएको छ।

घटनाबारे सूचना पाएलगत्तै प्रहरी टोली घटनास्थलमा पुगेर रायलाई नियन्त्रणमा लिएको हो। घटनामा घाइते रविनालाई उपचारका लागि मनमोहन अस्पताल, बिर्तामोड लगिएको छ।

पक्राउ परेका रायविरुद्ध घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ।

प्रकाशित मिति: मंगलबार, असोज १३, २०८३  १५:५४
प्रतिक्रिया दिनुहोस्
Weather Update