Harsamaya
 खोलाको बीचमा फसेका तीन जनाको सशस्त्रले गर्यो सकुशल उद्धार
बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गर्दै ।

कास्की - लगातार वर्षासँगै मोदी खोलामा आएको बाढीका कारण अन्नपूर्ण माता मन्दिरमा फसेका तीन जनाको सशस्त्र प्रहरीले सकुशल उद्धार गरेको छ।

कास्कीको अन्नपूर्ण गाउँपालिका–५ र ६ को सीमामा मोदी खोलाको बीचमा रहेको मन्दिरमा फसेका एक जना पुजारी र दुई जना भक्तजनको साउन २९ गते बिहान उद्धार गरिएको हो।

बाढीले मन्दिरमा आवतजावत गर्न बनाइएका दुईवटा फलामे पुल बगाउनुका साथै मन्दिरको आधा भागसमेत कटान गरेपछि उनीहरू मन्दिरमै अलपत्र परेका थिए।

घटनाबारे जानकारी पाएपछि सशस्त्र प्रहरी बल नेपाल नं. २४ कालिका गण कास्कीबाट गोताखोरसहितको टोली साउन २८ गते राति करिब २ः३० बजे उद्धारका लागि परिचालन भएको थियो। लगातार वर्षा र खोलामा आएको बाढीका कारण तत्काल उद्धार गर्न कठिन भएपछि टोलीले साउन २९ गते बिहान रोप रेस्क्यु विधि प्रयोग गरी तीनै जनाको सकुशल उद्धार गरेको हो।

उद्धार हुनेमा पोखरा महानगरपालिका–१८ साराङकोटका २८ वर्षीय प्रदीप ढकाल, सर्लाही घर भई हाल अन्नपूर्ण गाउँपालिका–८ बस्ने ३० वर्षीय रेवन्तप्रसाद सिंह र भारत घर भएका ५२ वर्षीय निर्माण गिरी रहेका छन्।

प्रकाशित मिति: शुक्रबार, साउन २९, २०८३  ११:५०
प्रतिक्रिया दिनुहोस्
Weather Update