Harsamaya
 खोला किनारमा पाँच बेवारिसे शव फेला
सांकेतिक तस्वीर: हर समय/Har Samaya

प्युठान - प्युठानको स्वर्गद्वारी नगरपालिकाका विभिन्न स्थानमा खोलाको किनारमा बिहीबार पाँच जनाको बेवारिसे शव फेला परेको छ।

बिहीबार बिहान करिब ७:३० बजे नगरपालिकाका विभिन्न स्थानमा नाम, थर र वतन नखुलेका व्यक्तिका शव फेला परेका हुन्।

प्रहरीका अनुसार स्वर्गद्वारी–९ जुडापाटास्थित माडी खोलाको किनारमा करिब १२/१३ वर्षका बालकको शव फेला परेको छ। त्यस्तै स्वर्गद्वारी–३ किमिचौरमा माडी खोलाको किनारमा कम्मरमाथिको भाग मात्र रहेको पुरुषको शव फेला परेको छ।

स्वर्गद्वारी–४ गोठीबाङस्थित माडी खोलाको किनारमा महिलाको शव फेला परेको छ। स्वर्गद्वारी–५ सरोजास्थित लुङ्ग्री खोलाको किनारमा घुँडादेखि तलको बायाँ खुट्टा नभएको महिलाको शव तथा सोही क्षेत्रमा अर्को महिलाको शव पनि फेला परेको प्रहरीले जनाएको छ।

पाँचै शवको पहिचान खुल्न सकेको छैन। प्रहरीले घटनाबारे थप अनुसन्धान गर्दै शवको पहिचान गर्ने प्रयास भइरहेको जनाएको छ।

परिवारका कुनै सदस्य हराइरहेको भए जिल्ला प्रहरी कार्यालय प्युठानमा सम्पर्क गर्न प्रहरीले अनुरोध गरेको छ।

प्रकाशित मिति: बिहीबार, साउन २८, २०८३  १६:२०
प्रतिक्रिया दिनुहोस्
Weather Update