सुनसरी - सुनसरीको बराहक्षेत्र नगरपालिका–९ गुम्बा बराहक्षेत्र–चतरा भित्री सडकखण्डबाट प्रहरीले ४८४ किलो गाँजासहित चार जनालाई पक्राउ गरेको छ।
जिल्ला प्रहरी कार्यालय सुनसरीका अनुसार शबिबार बिहान करिब ५:३० बजे लागूऔषध गाँजाको ओसारपसार तथा कारोबार भइरहेको सूचनाका आधारमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरबाट खटिएको प्रहरी टोलीले बराहक्षेत्रबाट चतरा तर्फ आउँदै गरेको प्रदेश १–०२–००२ च ४६५२ नम्बरको कार र को ११ प ४६०९ नम्बरको मोटरसाइकल रोकेर जाँच गरेको थियो।
जाँचका क्रममा कारभित्र २२ वटा प्लास्टिकको पोकामा प्याक गरिएको ४८४ किलो गाँजा फेला परेको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा सुनसरी धरान उपमहानगरपालिका–१३ का ३४ वर्षीय धमन राई, भोजपुर आमचोक गाउँपालिका–५ का २२ वर्षीय जिवनी राई, मोरङ कटहरी गाउँपालिका–३ का २६ वर्षीय अमर कामत र मोटरसाइकलमा पछाडि सवार २८ वर्षीय शंकर चौधरी रहेका छन्।
प्रहरीले गाँजा, कार र मोटरसाइकलसहित चारै जनालाई नियन्त्रणमा लिएर इलाका प्रहरी कार्यालय महेन्द्रनगरमा राखी थप अनुसन्धान भइरहेको जनाएको छ।

