काठमाडौं - थाइल्यान्डबाट नेपाल भित्र्याइएको ५ केजी ५०० ग्राम गाँजासहित दुई भारतीय नागरिक पक्राउ परेका छन्। लागुऔषध नियन्त्रण ब्युरोको टोलीले उनीहरूलाई काठमाडौंको नयाँ बसपार्क क्षेत्रबाट पक्राउ गरेको हो।
ब्युरोका अनुसार उच्च जोखिमयुक्त क्षेत्रमा निगरानी गर्ने क्रममा काठमाडौं महानगरपालिका–२६ नयाँ बसपार्कमा दुई भारतीय नागरिक शंकास्पद अवस्थामा सुटकेससहित उभिएको अवस्थामा फेला परेका थिए। चेकजाँचका क्रममा रेन्कु मेहेन (४३) ले बोकेको सुटकेसभित्र लुकाएर राखिएको ५ केजी गाँजा बरामद गरिएको थियो।
प्रारम्भिक अनुसन्धानका क्रममा पक्राउ परेका रेन्कु मेहेन सोही दिन थाइल्यान्डबाट काठमाडौं आएको खुलेको छ। साथै मोहम्मद हसनैन (३२) सहित अन्य तीन जना उक्त गाँजा बुझ्न भारतबाट आएको अनुसन्धानबाट खुलेको ब्युरोले जनाएको छ।
अनुसन्धानकै क्रममा उनीहरूले प्रयोग गरेको यूपी ३८ एपी १९७३ नम्बरको भारतीय गाडी धादिङको धुनीबेँसी नगरपालिका–९ कानाकोटस्थित पृथ्वी राजमार्ग छेउमा बेवारिसे अवस्थामा फेला परेको थियो। गाडीको खानतलासी गर्दा पछाडिको सिटमुनि लुकाएर राखिएको थप ५०० ग्राम थाइल्यान्डको गाँजा बरामद गरिएको प्रहरीले जनाएको छ।
पक्राउ पर्नेमा भारतको उत्तर प्रदेश निवासी रेन्कु मेहेन (४३) र मोहम्मद हसनैन (३२) रहेका छन्। प्रहरीले उनीहरूको साथबाट ५ केजी ५०० ग्राम गाँजा, भारतीय नम्बर प्लेटको एउटा कार, एक थान राहदानी (पासपोर्ट) र दुई थान मोबाइल फोन बरामद गरेको छ।
घटनामा संलग्न फरार रहेका अन्य दुई जनाको खोजी तथा थप अनुसन्धान भइरहेको लागुऔषध नियन्त्रण ब्युरोले जनाएको छ।

